माइतीघरको सौन्दर्यीकरण कृषि बिकास बैंकले गर्ने, बाह्रै महिना फूल फुलाउन मेयर शाक्यको आग्रह

Advertisement

काठमाडौँ । काठमाडौं महानगरको वडा ११ स्थित माइतीघरमण्डला क्षेत्रको सुधारका लागि काठमाडौं महानगरपालिकाले कृषि बिकास बैंकसँग सहमति गरेको छ ।

मण्डला क्षेत्रको मर्मत, सौन्दर्यीकरण तथा आधुनिकीकरण गर्ने बिषयमा भएको सम्झौतामा महानगरका तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैंकका तर्फबाट कायममुकायम उपमहाप्रबन्धक धु्रबचन्द्र गौत्तमले हस्ताक्षर गरेका हुन् ।

आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । मण्डला क्षेत्रको व्यवस्थापन बैंकलाई दिने बिषयमा महानगरले गएको मंसिर ८ गते निर्णय गरेको थियो ।

सम्झौतापछि बोल्दै प्रमुख शाक्यले बाहै्र महिना फूल फुलाएर हेर्दै आकर्षक ठाउँ बनाउन आग्रह गरे । यो ठाउँ बिज्ञापनका लागि होइन । खाली ठाउँ हेर्दै उराठलाग्दो भयो भने सहरको मुहार नै बिग्रिन्छ । त्यसैले मण्डला क्षेत्रमा कुनै पनि समय फूलबिहीन बनाउन हुँदैन । मेयर शाक्यले भने– ‘फूलसँगै यस क्षेत्रको पूर्वाधार र हरियालीमा कुनै पनि कमी नहुने आशा गरेको छु ।’

त्यसक्रममा बैंकका कामु उपमहाप्रबन्धक गौत्तमले महानगरले उपलब्ध गराएको डिजाईन अनुसार बगैंचा निर्माण गर्ने, बिरुवा रोप्ने, मौसमअनुसारका फूलका बोट र विरुवाहरु लगाउने, मर्मत सम्भार गर्ने, हेरचाह, रेखदेख गर्ने दायित्वलाई बैंकले पूरा गर्ने बताए ।

सम्झौताबमोजिम अहिले भइरहेको भौतिक संरचना वा डिजाइनमा कुनै फेरवदल नगरी आपसी सहमतिमा थप संरचनाहरु निर्माण गर्न सकिनेछ । आउँदो ५ बर्षका लागि गरिएको सम्झौता अनुसार मण्डला क्षेत्रको सौन्दर्य निर्माण र संरक्षण गर्दा हुने खर्च बैंक आफैंले व्यहोर्ने छ । उक्त क्षेत्रमा बैंकले बिद्युतीय माध्यमबाट आफ्नो सस्थाको पहिचान झल्कने किसिमको सामाग्री राख्न सक्नेछ । तर, यस्तो सामाग्री विज्ञापनमुलक हुनेछैन ।

राष्ट्रिय पर्वसँगै महानगरले अनुरोध गरेको अवस्थामा मण्डलालाई बहु प्रयोग गर्न सकिने छ भने यस वरिपरिका ट्राफिक आइल्याण्डहरुलाई कलात्मक ढङ्गबाट मर्मत गर्ने र सौन्र्दयकरण झल्काउन आवश्यक पर्ने फूल वोट विरुवा लगाउने काम बैंकले गर्नेछ । सम्झौता पत्रमा हस्ताक्षर अवसरमा वातावरण व्यवस्थापन बिभागका अधिकारीहरुको उपस्थिति थियो ।

Advertisement

Advertisement

Advertisement