जोशीको आक्रोस– बिचौलियाहरू अजिंगर जस्तो मुख बायर बसेका छन्, सर्भेयरलाई मात्रै के दोष ?

Advertisement

काठमाडौं । सर्भेयर संघ नेपालका अध्यक्ष सुर्यप्रसाद जोशीले नेपाली सर्भेयरले सधै बिडम्बनामै काम गर्नुपरेको गुनासो गरेका छन् । 

उनले सर्भेयरहरुलाई मात्रै दोष दिने तर उनीहरुको काममा सहजीकरण भने कसैले नगरिदिने गरेको बताउँदै सर्भेयर कोर्षको मापदण्ड नै कानुनी नहुँदा विभिन्न समस्या सिर्जना हुने गरेको बताए । 

Advertisement

सर्भेयरको कोर्ष भनेको चार वर्षको हुन्छ । तर नेपालमा सो अवधिको कोर्ष पढाई हुँदैन । मात्र पाँच दिनको तालिममा सहभागी भएर सर्भेयरले काम गर्नुपर्ने बाध्यता छ । छोटो अवधिको तालिमकै भरमा सर्भे गर्नुपर्ने व्यवस्था विश्वका अन्य कुनै पनि राष्ट्रमा नभएको जोशीको भनाई छ । 

तर, उक्त विषयमा अर्थ मन्त्रालय, बीमा समिति, बीमा कम्पनी, सरोकारवालाहरू कोही पनि गम्भीर नभएको जोशीले बताए ।

दोष जति सर्भेयर ? 
अध्यक्ष जोशीले कर्पोरेट नेपालसँग भने, ‘सर्भेयरलाई दोष लगाउन निकै सजिलो छ । उनीहरुलाई बीमा समिति र कम्पनी दुवै दोष लगाउन तत्पर देखिन्छन् । तर सर्भेयरका समस्या पटक पटक भन्दा पनि सुनुवाई हुँदैन् ।’ 

उनले केही सर्भेयरले बदमासी गरे भने सबै सर्भेयर एउटै हुन भन्ने नजर बजारमा स्थापित हुने गरेको बताए । वास्तविता त्यस्तो नभएको जोशीको तर्क छ । उनले बीमा समिति लगायत सम्बन्धित निकायले राम्रो सर्भेयर उत्पादनको लागि पनि सोच्न आवश्यक रहेको बताए ।

पछिल्लो समय सर्भेयरको तालिममा किर्ते नाम लेखाई जालसाझी गर्न खोज्ने केही व्यक्तिलाई बीमा समितिले सार्वजनिक पनि गरेको छ । सर्भेयर संघले त्यस्ता घटनामा कारबाही गर्नु उचित ठहर्याएको उनले बताए । 

तर, कारबाहीसँगै असल सर्भेयरलाई पनि प्रोत्साहनको बातावरण बनाउनुपर्ने जोशीको सुझाव छ । 

भूकम्पमा खटेको सम्मानको बदला दोष
अध्यक्ष जोशीले सर्भेयरले गरेको मेहनतको हरेक पटक अवमूल्यन हुने गरेको गुनासो गरे । सोही कारण आफूहरू हैरान हुने गरेको बताए । जोशी भन्छन्, ‘भूकम्पको बेलामा हामीले दिन रात नभनी मेहनत गर्यो । तर, हामीले गरेको सो मेहनतबापत कसैले एक बचन धन्यवाद दिएन । बरू उल्टै तथ्यांक निकाल्न ढिलाई भयो भन्ने आरोप खेप्नु पर्यो ।’ 

उनले तथ्यांक निकाल्ने काम त्यति सहज नभएको र यसमा समय लाग्ने बताए । तर चाहिनेभन्दा निकै लामो समय लागेमा त्यसमा खोजी गर्नु जायज भएको जोशीको भनाई छ । 

बिचौलियाहरूको हावी

अहिले बिचौलियाहरू कमिशन खानको लागि अजिंगरको जस्तो मुख बायर बस्ने गरेको जोशीले खुलासा गरे । उनले अनुचित नाफा खाने तत्वहरू सल्बलाउँदा त्यसको दोष सर्भेयरले खेप्नु परेको बताउँदै सबै दोष किन सर्भेयरलाई मात्रै ? भनी प्रश्न गरे । बिचौलिया हटाउन बीमा समिति तात्नुपर्ने जोशीले बताए । 

Advertisement

Advertisement