लिङदेनले राजसंस्था पक्षधर, धार्मिक समुदाय र देशभक्तलाई एकीकृत गर्न प्रक्रिया अघि बढाए

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनियुक्त अध्यक्ष राजेन्द्र लिङदेनले सबै राजसंस्था पक्षधर, धार्मिक समुदाय र देशभक्तहरुलाई एकीकृत गर्न प्रक्रिया अघि बढाएका छन् । 

आफू निर्वाचित भएसँगै बुधबार बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको पहिलो बैठकमा उनले समान विचार राख्ने व्यक्ति, समूह, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्यका लागि वार्ता समिति गठन गर्न गरेको प्रस्तावलाई सो पार्टीले पास गरेको छ । 

Advertisement

बैठकले महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा ऋषिबाबु परियार, दिलविकास राजभण्डारी, पुष्पराज पुरुष सदस्य रहेको वार्ता समिति गठन गरेको हो ।

बैठकले आगामी स्थानीय तहको निर्वाचन परिचालनका लागि महामन्त्री भुवन पाठकको संयोजकत्वमा भक्तिप्रसाद सिटौला, रमानन्द न्यौपाने, भरतजंग उप्रेती र प्राडा गीताभक्त जोशी सदस्य सचिव रहेको समिति पनि गठन गरेको छ ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको मर्यादाक्रम निर्धारण गर्न उपाध्यक्ष ध्रुबबहादुर प्रधानको संयोजकत्वमा केन्द्रीय सदस्य डा. राजेश गिरी र केन्द्रीय सदस्य भरत पाठक सदस्य रहेको मर्यादाक्रम निर्धारण समिति पनि गठन गरिएको छ ।

यस्तै पार्टीका नवनिर्वाचित सबै पदाधिकारी एवं सदस्यहरूले पार्टीमा अनिवार्य बुझाउनु पर्ने रकम ‍लेवीको निर्धारण गर्न महामन्त्री कुन्तीकुमारी शाही संयोजक रहेको समिति गठन गरेको छ ।

राप्रपाले पार्टीका सबै भातृ संगठनहरूलाई तीन महिना भित्रमा अनिवार्य महाधिवेशन गर्ने कार्ययोजना र कार्यतालिका १५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ । 

Advertisement

Advertisement