राजदूत शेर्पाले अन्ततः दिइन् राजीनामा, विद्यार्थी बेच्ने दलालहरु आफूविरुद्ध लागेको खुलासा

Advertisement

काठमाडौं । लामो समयदेखिको विवादवछि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । आफ्नै गाडि चालकले मानव तस्करीमा संलग्न रहेको तथ्य सार्वजनिक गरेपछि विवादमा परेकी शर्पाले आरोप मेटाउने प्रयास गरे पनि अन्ततः असफल भएकी छन् ।

तत्कालिन माओवादी केन्द्रको कोटाबाट अष्ट्रेलियाको राजदूत बन्न सफल भएकी उनलाई आफ्नै गाडि चालक वाङ्छु शेर्पाले मानव बेचबिखनमा संलग्न रहेको आरोप लगाएका थिए। सत्तारुढ दलले पटक–पटक बैठक बसी निकासको बाटो खोजे असफल भएपछि शेर्पाले राजीनामा दिन बाध्य भएकी छन् ।

सत्तारुढ दलका नेतादेखि सरकारकै मन्त्रीहरुले समेत राजीनामा दिन सुझाए दिएपछि उनले राजीनामा दिएकी छन् । आफूमाथि लगाइएको ‘झुटो आरोप’विरुद्ध अन्तर्राष्ट्रिय अदालतसम्म पुग्ने बताउँदै आएकी उनले आफ्नो बचाउका लागि दलका नेताहरुको दैलोहरुमा पुगेकी थिइन् ।

उनले राजीनामापछि विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘सत्य कहिल्यै मर्दैन, त्यही नैतिकताका आधारमा राजीनामा दिएकी छु । छानबिन समितिले मानिस लगेको पुष्टि गर्न सकेन। विवादित व्यक्ति राजदूत रहँदा सम्बन्धित मुलुकसँगको सम्बन्धमा आशंका रहने निष्कर्ष समितिले निकाल्यो। ‘देश र जनताप्रतिको जिम्मेवारीमा अनवरत सेवा गरिरहँदा ममाथि भएको चरित्रहत्याको न्याय कहिले र कसले दिने ? न्यायिक फैसला होस्, सत्य नमरोस्। यसकै लागि मैले बाटो खुला गरेकी हुँ। मैले मेरो र परिवारको बैंक खातासमेत खुला राखिदिएको छु।’

शेर्पाले आफूलाई आरोप लगाउने व्यक्तिविरुद्ध पहिला आफूले उजुरी गरेको तर त्यसको सुनुवाइ नभएको गुनासो गर्दै भनेकी छन्, ‘मलाई आरोप लगाउने व्यक्तिले एक वर्षदेखि बदमासी गरेको कुरा मन्त्रालयमा भन्दा पनि वास्ता भएन । ‘तर, उसले सञ्चारमाध्यमबाट ममाथि आरोप लगाउनेबित्तिकै छानबिन समिति बनाइयो। समितिका पदाधिकारीले हामीसँग त्यो सबै खालको छानबिन गर्ने प्राविधिक दक्षता छैन, पाएको यथार्थ राखेर प्रतिवेदन बनाउने भने। आखिर मलाई अन्योलमा राखे अनि राजीनामा दिएँ।’

उनले एकतर्फी कुरा सुनेर निचोडमा पुगेकाले आफू कानुनी प्रक्रियामा जान सक्ने चेतावनी दिँदै ‘कोसँग कति पैसा लिएको हो ? त्यो देखाउनुप‍र्‍यो’ भनेकी छन् । शेर्पाले २०७४ मंसिर ५ मा मन्त्रालयसहित अस्ट्रेलियाको सम्बन्धित निकायमा उक्त व्यक्ति (आफ्नो गाडि चालक)को गैरकानुनी क्रियाकलापबारे पीडितले पठाएको प्रमाणसहित उजुरी पठाइएको थियो। उक्त पत्रको सुनुवाइ नगरी कसैले चिच्याएका भरमा कूटनीतिक नियोग प्रमुखका विषयमा छानबिन समिति बनाउनु दुर्भाग्य भएको बताएकी छन् ।

शेर्पाका अनुसार अस्ट्रेलियाको पीआर लिने चक्करमा नेपाली विद्यार्थी दलालबाट ठगिने गरेका छन्, त्यसलाई रोक्न खोज्दा आफूविरुद्ध आरोप लागेको भन्दै कूटनीतिक मर्यादाका कारण तत्काल आरोप चिर्न नसकेको बताएकी छन् ।

शेर्पाले विज्ञप्तिमा शरणार्थी माध्यमबाट पीआर पाउने भएकाले केही व्यक्तिले ‘शरणको खेती’ गर्ने कुचेष्टाले वाङ्छुलाई प्रयोग गरेको भन्दै भनेकी छन्, ‘अनुसन्धानमा सहयोग गर्न मैले आफ्नो कूटनीतिक उन्मुक्ति खुला गर्दै अस्टे«लिया सरकारसमक्ष पेस गरेकी थिएँ । अस्ट्रेलिया सरकारले सम्पूर्ण आरोप झुटो साबित गर्दै ससम्मान कूटनीतिक रूपमा काम गर्न हौसला प्रदान गर्‍यो।’ साथै उनले वाङ्छुलाई सरकारले अविलम्ब नेपाल झिकाई कानुनअनुसार कारबाही गर्नुपर्ने माग गरेकी छन् ।

Advertisement

Advertisement

Advertisement