घरमा पानीको ट्याङ्की कहाँ कसरी राख्ने ? नेपाटपका अध्यक्ष दीपक श्रेष्ठसँगको कुराकानी

Advertisement

विनाशकारी भूकम्पपछि अब घर निर्माण गर्दा पानीको ट्याङ्की कहाँ र कसरी राख्ने ? भन्ने कुराको बहस चलिरहेको छ । सुरक्षित घर निर्माणको अबको अभियानमा पानी ट्याङ्कीको सुरक्षित व्यवस्थापनलाई पनि सरकार र सरोकारवालो सम्बोधन गर्नु जरुरी छ । यसै विषयमा बिगत डेढ दशकदेखि नेपाटप ब्राण्डको पानी ट्याङ्की उत्पादन गर्दै आएका नेपाटप अर्गनाइजेशनका अध्यक्ष दीपक श्रेष्ठसँग गरिएको कुराकानीको सार:

  • भूकम्प जाँदा पहिला घरको छतमा रहेका धेरै पानी ट्याङ्की खसे । किन यस्तो समस्या देखियो ? 


यसमा ट्याङ्कीमा भन्दा पनि जडानमा प्राविधिक समस्या देखियो । प्रायः सहरतिर नेपालीलाई आफ्नो घर उचो देखाउन सबैलाई रहर भयो । साच्चै भन्दा भूकम्प जानुअघि तपाईंको घर कति तले भन्दा कसैले ट्याक्कै भन्न नसक्ने स्थिति थियो । कसैले पैने तिन, कसैले चार कसैले साढे चार भन्थ्यो । घर बनाई त तीनबाट चारै पुग्छ नि । भर्याङ्या छोप्ने बहानामा एक तला थपियो । पानीको ट्याङ्की राख्ने बहानामा एक तला थपियो । गर्दागर्दै तला बढ्दै गयो ।
धेरैले इन्जिनियरिङ डिजाइन नअपनाइकन हचुवाको भरमा एउटा÷दुईवटा पिल्लर वा डण्डीको भरमा त्यसमाथि दुई÷तीन वटासम्म ट्याङकी राखियो । त्यसैले गर्दा भूकम्प जाँदा ट्याङ्की भसक्कै खसे । त्यसको शिकार घरधनीभन्दा बढी हामी भएका छौं । किनभने हाम्रो वारेन्टी ५० प्रतिशत रिप्लेश्मेन्ट भ्याल्यु थियो । ट्याङ्की जडान गर्ने कुरामा त्रुटी ज–जस्को भए पनि हामीले बोलिसकेको कुरा भनेर ट्याङ्की परिवर्तन गरिदियौं ।

  • गर्नुपर्ने के थियो ? 


ट्याङ्की जडान गर्दा घर वा भवनको इन्जिनियरिङ डिजाइनमा ट्याङ्की पनि बस्नुपर्यो । ट्याङ्कीको आकार र पानीसहितको तौल विचारै नगरी मान्छेले आफूलाई जहाँ सजिलो लाग्यो वा आफूलाई जहाँ ठिक लाग्यो, त्यही राखिदियो । खाली ट्याङ्की उचाल्दा पो हल्का हुन्छ, पानी भरिँदा त निकै तौल हुन्छ । जस्तो ३० किलोको ट्याङ्कीमा हजार लिटर पानी हुन्छ । हामीले एउटै घरमा १० वटासम्म ट्याङ्की राखेको पनि देख्यौं । त्यसले त त्यसै पनि घरलाई बोझ बढो, जोखिम बढायो । एक लिटर पानी बराबर एक किलो तौल हुन्छ । भूकम्प जाँदा क्षति हुनु त स्वाभाविक भयो । ट्याङ्की राख्दा इन्जिनियरिङ विधि र प्रविधि अपनाउनु जरुरी छ । कहाँ इन्जिनियरलाई सोधिरहने भनेर हेलचक्र्याई नगरौं ।

  • इन्जिनियरिङ विधि प्रविधि अपनाउनुपर्छ भनेर तपाईंहरुले पहिला सिकाउनु भएन ? 


सबै कुरा हामी ट्याङ्की तथा पाइप उत्पादकले गर्ने भन्ने कुरा संभव हुने कुरा होइन । हाम्रो काम गुणस्तरीय वस्तु सर्वसुलभ रुपमा आपूर्ति गर्ने हो । ट्याङ्की कहाँ कसरी राख्ने भन्ने कुरा इन्जिनियर र काम गर्ने प्राविधिकहरुको हो । यो कुरामा घरधनी नै चनाखो हुनुपर्छ ।

  • इन्जिनियरहरुले नै यो कुरामा त्यति ध्यान नदिएको हो की ? 


इन्जिनियरको कमजोरी हामी भन्दैनौं । इन्जिनियरिङ डिजाइन, परामर्शमा भएका काममा त्रुटी हुँदैन । भएका पनि छैनन् । पहिलो कुरा त आफ्नो रहरमा घर बन्यो हचुवाको भरमा । दोस्रो कुरा ट्याङ्की राख्ने कुरालाई कसैले गम्भीरतापूर्वक लिएन । अहिले धेरै घर भत्किनुमा समस्या निर्माण प्रविधिमा छ ।

  • भूकम्प पछिको अबको परिस्थितिमा हामीले सिक्नुपर्ने कुरा के हो ? 


पहिलो कुरा भरयाङ छोप्न माथि जुन संरचना निर्माण गरिन्छ, त्यहाँ ट्याङ्की राख्नु भएन । यसको संरचनात्मक समस्या के भने भर्याङको भाग आफै अल्लि कमजोर हुन्छ, त्यसैलाई छोप्न गरिएको ढलानमाथि ठूला ट्याङ्की राख्न लोड बढी एकतिर पर्न जान्छ । भूकम्प, हावाहुरीमा त्यो असन्तुलित भई दुर्घटना हुने संभावना बढी हुन्छ । त्यस कारणले धेरै ठूलो र धेरै संख्यामा छतमा ट्याङ्की नराख्ने र राखिएका पनि इन्जिनियरिङ परामर्शमा बीच भागतिर राख्दा राम्रो हुन्छ । ट्याङ्की जडान गर्ने प्रविधिमै पहिला सुधार जरुरी छ ।

पानीको असुविधाले पनि मान्छेलाई समस्या परेको छ । अब एक ट्याङकर खानेपानी किन्दा १०÷१२ हजारको ट्याकीको क्षमता हुनुपर्यो । ट्याङकरको पानी जमिनमुनीको ट्याङकीमा नअटाए फिर्ता जान्छ भनेर मान्छेले छतमा ट्याङ्की थप्दै जान थाल्यो । घरको संरचना कस्तो छ ? कतिसम्म ट्याङ्की धान्नसक्ने भन्नेतर्फ भूकम्प अगाडि कसैको ध्यान गएन । अहिले बल्ल धेरैको होस खुलेको छ ।

  • कतिसम्म क्षमताको ट्याङ्की छतमा राख्न सकिएला ? 


यति नै भनेर हामी व्यवसायीले भन्नसक्ने कुरा होइन । सामान्यतया व्यवसायिक हिसावले बनाइएका भवन, सरकारी कार्यालयमा केही ठूलो आकारमा ट्याङ्की राख्न सकिन्छ । ती भवनको संरचना केही बलियो हुन्छ । आवासीय भवनमा सानो आकारमा सकिन्छ । त्यो पनि भवनको संरचना हेरेर र सुरक्षाका विधि अपनाएर गर्नुपर्छ । ट्याङ्की भवनको बीचमा भयो भने त्यसले बोझ सबै भागमा समानरुपमा बितरण गर्छ । जसले गर्दा भूकम्पजस्ता प्राकृति विपत्तिमा जोखिम कम हुन्छ । अहिले भूकम्प जाँदा ट्याङ्की भाँचिएको होइन, स्ट्याण्ड भाँचिएको हो । त्यो स्टिलको होस वा ढलान, सुरक्षित हिसावले नबन्दा यस्तो समस्या आएको हो ।

  • त्यो भन्दाबाहेक अरु तरिका छैन ? 


नेपालमा परम्परा कस्तो रह्यो भने धारामा पानी आउन छ÷सात फिट उचाई हुनुपर्छ । त्यसका लागि ट्याङ्की छतमै राख्नुपर्ने । अरु मुलुकमा भईंमा वा सानै उचाईमा नै ट्याङ्की रहन्छ । त्यहाँ एउटा प्रेसरपम्प राखिदिएको हुन्छ । त्यो भएपछि छतमै ट्याङ्की राखिरहनुपर्ने भएन त्यसले सबै भागमा समानरुपमा पानीको बितरण हुन्छ । हाम्रोमा प्रेसरपम्प प्रविधि आए पनि त्यति धेरै विस्तार हुनसकेको छैन् । अर्कोतर्फ हाम्रोमा सार्य प्रणाली जडान गर्ने चलन छ । त्यसका लागि छतमै ट्याङ्की राख्नुपर्ने भयो । एउटा घर अग्लो बनाएपछि अर्कोले पनि बनाउनै पर्यो । एउटाले ठूलो ट्याङ्की भईमा नराखेर छतमा राख्यो भने अर्को पनि राख्नै गर्यो । यस्तो प्रवृत्तिले गर्दा समस्या थपिदै गएको हो । सरकारलाई यस्ता कुरामा ध्यान दिने फुर्सद पनि कहिल्यै भएन ।

  • तपाईंले प्रेसरपम्पको कुरा गर्नुभयो । यो विधि हाम्रोमा विस्तार हुन सकेन ? 


राम्रा घरहरुमा यो जडान भएको छ । हाम्रोमा सुरु भएको दुई तीन वर्ष जति भयो । योे सबैभन्दा सस्तो आठ÷नौ हजारबाट सुरु हुन्छ । भूकम्पपछि बल्ल यो अल्लि विस्तार भएको छ ।

  • तपाईंहरुले व्यवसायिक दायित्वको हिसावले ट्याङ्की यसरी राखौं भनेर जनचेतना सुरु गर्न सकिन्न ? 


घरमाथि पानी ट्याङ्की राख्न भनेर सुझाव दिने, स्ट्याण्ड बनाएर दिने काम हाम्रो होइन् । घरधनी आफैले आफ्नो घर कसरी सुरक्षित गर्ने भन्ने कुरा सोच्नुपर्छ । यो कुरामा घर बनाउन अनुमति दिने सरकारी निकायले मापदण्ड बनाउँदा नै कतिसम्मको ट्याङ्की छतमा राख्नदिने, कति नदिने, राख्दा कसरी राख्ने भन्ने कुरा तय गर्नुपर्छ । मैले पहिले नै भने हाम्रो काम भनेको गुणस्तरीय वस्तुको उत्पादन गर्नु र उपभोक्तालाई प्रतिस्पर्धी एवं सर्वसुलभ हिसावले सेवा दिनु हो । हामीले सञ्चालन गर्ने जनचेतनाभन्दा सरकारले बनाउने मापदण्ड, उसले सञ्चालन गर्ने जनचेतना बढी प्रभावकारी हुन्छ । यो कुरालाई इन्जिनियरिङ संघसंस्थाले पनि सहयोग गर्नसक्छन् ।

  • तपाईंको कार्यालय तल सडकमा सेफ होम भनेर राखिएको रहेछ । के हो यो ? 


नेपाटप अर्गनाइजेशनको सिद्धिविनायक इन्डष्ट्रिजले यूपीभीसीको प्रोफाइलबाट निर्माण गरिएको भूकम्प प्रतिरोधी घर हो । गएको बैशाख १२ गतेको भूकम्पपछि धेरै घरबार बिहीन भएकाले उनीहरुलाई सुलभ र भूकम्प प्रतिरोधी घरको रुपमा हामीले यसलाई डिजाइन गरेका हौं । हामीले यो गंगबु चोकको सडक छेउमा राखेको १०÷१२ दिन भयो । मानिसहरुले उत्साहजनक अवलोकन गरिरहेका छन् । दिनभरि यो घर हेर्नेको भीड लाग्छ । अहिलेसम्म एक लाखभन्दा बढीले यसको अवलोकन गरिसके । मेलाभन्दा कम भएको छैन । यसमा सुधारका लागि सुझाव पनि प्राप्त भएको छ ।

  • कति लागतमा यो घर बन्छ ? 


यो तीनसय वर्गफिटको घरलाई तीन लाख ६० हजार पर्छ । हाम्रो उद्देश्य यति मात्रै हाइन, विद्यालयदेखि ठूलो आवासीय घर बनाउन पनि बुकिङ लिइसकेका छौं । सातवटा विद्यालय निर्माणको चरणमा छन् । केही अस्पतालका क्वाटर बनाउन पनि गइरहेका छौं । सेफ होम गाउँमा साधारण घर बनाउन मात्रै नभएर कतै गार्डेन होम्सको रुपमा प्रयोग भएको छ, कतै सामुदायिक भवनको रुपमा बुकिङ भइरहेको छ, कतै विद्यालय, कतै कर्मचारीको क्वाटरको रुपमा निर्माण भइरहेको छ ।

  • के छ यसको विशेषता ? 


यूपीभीसीको सामग्रीबाट बनेको यो घर हामीले सकारात्मक रुपमा लिनुपर्छ । यसले घरमा आगलागीलाई प्रतिरोध गर्छ । यो सम्पूर्णरुपमा नेपालमा बनेको सामाग्रीबाट निर्माण हुने हो । दक्षिण कोरियाबाट हामी कच्चा पदार्थ आयात गछौं । बाताबरणीय प्रभावबाट तीन वर्षसम्म टिक्छ भनेर हामीले वारेन्टी दिएका छौं ।

  • यो अवधारणा तपाईंहरुको मात्रै हो की अरुले पनि यस्ता घर बनाउँछन् ? 


यूपीभीसीको हामी मात्रै एक उत्पादक हौं । यूपीभीसीको घर हाम्रो मात्रै हो जस्तो लाग्छ । हुन त विदेशबाट पनि आयात भएर कसैले निर्माण गर्नसक्ला । एउटाले गरेपछि अरु पछि लाग्ने त हाम्रोमा चलन छँदैछ ।

  • नेपाटपको उत्पादनको सुरुवात कसरी गर्नुभयो ? 


आजभन्दा १६ वर्ष अगाडि हामीले एउटा उद्योग स्थापना गर्यौं । यसमा हामी जति लगानीकर्ता छौं, सबै नेपाली हो । सुरुमा चार जनाबाट सुरु भएको हो । अहिले नेपाटक अर्गनाइजेशनका विभिन्न उद्योगमा ५० जनाजति लगानीकर्ता हुनुहुन्छ । सबैका चारसय कर्मचारी कार्यरत छन् । मनमैजुमा झण्डै तीन लाख वर्ग फिटमा हाम्रो सबै उद्योग छ । दैनिक ३० मेट्रिकटन कच्चा पदार्थ प्रशोधन गछौं । दुई/तीन महिनामा ५० मेट्रिकटन क्षमतामा चल्छौं ।

अहिले हाम्रो उत्पादन भनेको प्लाष्टिकको ट्याङ्की गर्दै आएका छौं । एक महिनाभित्रै प्याष्टिककै नयाँ प्रविधिको ब्लोमोलिङ्क ट्याङ्की निर्माण गर्न गइरहेका छौं । भूकम्पले गर्दा अलिकति ढिलो भयो । हामी नेपालमा पहिलो पल्ट पीपीआर र फिटिङ निर्माण गर्ने कम्पनी हौं । यसमा ७५ प्रतिशत बजार हिस्सा हाम्रो छ । बिगत सात वर्षदेखि यूपीभीसीको पाइप र फिटिङ निर्माण गर्दै आएका छौं । जुन असाध्यै सफलतापूर्वक अगाडि बढेको छ । हामी उत्पादन गर्ने नेपाल गुणस्तर प्राप्त एचडीपीआई पाइप विशेषगरी ग्रामीण क्षेत्रमा खानेपानी बितरणदेखि ठूला परियोजनामा बढी प्रयोग हुने गरेको छ । त्यस्तैै, भर्खर सीपीभीसीका पाइप र फिटिङ, ब्राँसका उत्पादन ल्याएको पाँच महिना मात्रै भयो । ट्याङ्कीमा हाम्रो २० प्रतिशतभन्दा बढी बजार हिस्सा छ जुन हामी वर्षको अढाईदेखि तीन करोड लिटर बिक्री गछौं । एक महिनामा हिसाव गर्दा सानो ठूलो गरेर नौ हजारभन्दा बढी बिक्री गछौं ।

  • तपाईंहरुको उत्पादनमा के विशेषता छ ? 


ट्याङ्कीमा हामी फुटग्रेटको कच्चा पदार्थ प्रयोग गरेका छौं । इमान्दारितापूर्वक भन्नुपर्दा स्क्रापको प्रयोग नगरिएकैले हाम्रो उत्पादन अगाडि बढेको हो । ट्याङ्कीमा हामी एक नम्बर हुन नसके पनि त्यो दौडमा छौं । अर्को महिनादेखि नयाँ प्लान्ट सुरु भएपछि हामी हाम्रो लक्ष्यमा पुग्नसक्छौं । नेपाटकका पानी ट्याङी लचकदार, चमकदार हुनुका साथै बाहिरी बाताबरणले समेत असर नगर्ने खालको छ । पीपीआर पाइन ४० किलोभन्दा बढीको दबाब र तातोचिसो थेग्न सक्ने, ५० वर्षभन्दा बढी टिक्ने खालको छ । विशेगरी ढल निकासका लागि प्रयोग गरिने यूपीभीसी पाइप ग्रामीण सिंचाई र वर्षाको पानी निकासका लागि समेत प्रयोग गरिन्छ ।

  • भूकम्प पीडित आफ्ना ग्राहकलाई के सुविधा दिनुभयो त ? 


भूकम्पले गर्दा काठमाडौंमा मात्रै दशौं हजार ट्याङ्कीमा क्षति भएको हुनसक्छ । यसको यकिन तथ्याङ्क हामीसँग छैन । हाम्रो उत्पादनमा कुनै समस्या देखियो भने साटी दिने पहिलेदेखि चलन हो । कुनै दुर्घटना हुँदा क्षति भयो भने पनि ५० प्रतिशत रिप्लेशमेन्ट वारेन्टी दिँदै आएको हो । तर यतिखेर जति पनि दावी आयो, सबै हामीले स्वीकार गरेर साटिदियौं । काठमाडौंमा मात्रै हामीले एक हजार ट्याङ्की परिवर्तन गर्यौं जसको मूल्य झण्डै एक करोड हुन्छ । फिर्ता गरिएको ट्याङ्की कच्चा पदार्थको रुपमा पुनःप्रशोधन गछौं । यसले गर्दा हाम्रो उत्पादन खर्च २० प्रतिशत मात्रै होला । क्षतिको आँकडा त संकलन भएको छैन । काठमाडौंमा मात्रै हेर्दा ट्याङ्कीको क्षति दशौं हजारमा भएको अनुमान छ ।

Advertisement

Advertisement

Advertisement