‘विदेशबाट १० लाख नेपाली फर्किन लाग्याछन्, उनीहरुलाई रोजगारीको व्यवस्था गर्नुपर्नेछ’

Advertisement

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशबाट १० लाख नेपाली फर्किन लागेको बताउँदै उनीहरुलाई रोजगारीको व्यवस्था गर्नुपर्ने दायित्व सरकारमाथि आएको बताएका छन् । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिकको आठौं क्षेत्रीय भेला उदघाटनका क्रममा ज्ञवालीले तेस्रो मुलुकबाट झन्डै तीन लाख नेपाली स्वदेश फर्कन लागेको र अहिलेसम्म ७६ हजार बढी नेपालीलाई उद्धार गरिएको बताउँदै भारतबाट मात्र पाँच लाख नेपाली स्वदेश फर्किएको र तेस्रो मुलुकसहित गरि करिव १० लाख वैदेशिक रोजगारीमा रहेका नेपाली स्वदेश फर्कन लागेकाले तत्काल १० लाख नेपालीलाई रोजगारी सिर्जना गर्नुपर्ने चुनौती रहेको बताएका हुन् । 

Advertisement

विदेशमा नेपालीले सिकेको ज्ञान, सिप र प्रविधि नेपालमा हस्तान्तरण गर्ने सुनौलो अवसर आएको उनको तर्क छ । ज्ञवालीले कोभिड १९ पछिको नेपालको अर्थतन्त्रलाई उकास्न नयाँ प्रविधिको माध्यमबाट मुलुकको सम्मृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउादै गैरआवासीय नेपालीले सिकेको ज्ञान, सिप हस्तान्तरणको खाँचो औल्याए । 

विदेशबाट अलपत्रहरुलाई फर्काउने क्रममा केही कठिनाई भएको बताउँदै ज्ञवालीले अहिले असहज परिस्थिति भएकाले सोचे जस्तो नहुनसक्छ भन्ने कुरा बुझिदिन आग्रह गरे । 

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष देवमान हिराचनले नेपालमा विदेशी तथा गैरआवासीय नेपालीहरु लगानी गर्न इच्छुक रहे पनि नेपालमा त्यो अवस्था नरहेको बताए । उनले सरकारलाई लगानी गर्ने वातावरण बनाइदिन आग्रह गरे । हिराचनले एनआरएनएको १७ वर्षे इतिहासलाई समिक्षा गर्नुपर्ने खाँचो औल्याउँदै कुनै कार्यक्रम गर्न अब काठमाडौंमा करोडौ खर्च गरेर आउनुपर्ने अवस्थाको अन्त्य भएको बताए । 

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्हरुले कोभिड १९को बेलामा एक कदम अगाडि बढेर सेवा गरिरहेको बताए । अष्ट्रेलियाको भिक्टोरिया राज्य समन्वय परिषद्लाई त्यहाँको स्थानीय सरकारले एक लाख ५० हजार डलर आर्थिक सहयोग गरेको उदाहरण दिँदै उनले आफू बसेको देशमा विश्वास दिलाउन सकेको खण्डमा स्थानीय सरकारबाट पनि सहयोग मिल्ने बताए । 

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संघले प्रविधिलाई समय सापेक्ष उपयोग गर्दै स्मार्ट एनआरएनको प्रोजेक्टलाई लागू गर्न लागिरहेको जानकारी गराए । संघमा व्यापक पुनरसंरचनाको खाँचो रहेको महसुस गर्दै स्मार्ट एनआरएन प्रोजेक्ट अगाडि बढाइएको उनले बताए ।  

Advertisement

Advertisement