यही व्यवस्थामा हुर्किएका अपराधिहरुलाई यही व्यवस्थाले कारवाही गर्छ भन्ने नसोचौंः डा. पोखरेल

Advertisement

काठमाडौं । एक जना विश्लेषक डा. अम्बरिश पोखरेलले अहिलेको व्यवस्थामा जन्मे हुर्केर संरक्षित रहेका अपराधिहरुले नयाँ व्यवस्था ल्याउन सजिलै नदिने तर्क अघि सारेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै डा. पोखरेलले अहिलेको व्यवस्थामा जन्मिएका हजारौं अपराधिहरुले अहिलेकै व्यवस्थाले कारवाही गर्न नसक्ने भन्दै नयाँ व्यवस्थाको खाँचो औंल्याएका छन् । 

पछिल्लो समयमा व्यवस्थाविरुद्ध नै सडकमा भइरहेका विरोध प्रदर्शनलाई संकेत गर्दै उनले बुद्धिजीवी भनिएकाहरुले नै जनतालाई भ्रमित बनाउने र अपराध कर्ममा संलग्नहरुलाई बचाउन सहयोग गर्दै आएको औंल्याएका छन् । 

Advertisement

यस्तो छ डा. पोखरेलको टिप्पणी

यही व्यवस्थाले यही व्यवस्थाबाट जन्मिएका हजारौ अपराधीहरूलाई कहिल्यै कारबाही गर्न सक्दैन । 

१. लुटतन्त्रको बचाऊ गर्न (अर्थात् अन्याय, अत्याचार शोषण, भ्रष्टाचार), स्वघोषित बुद्धिजीवीहरु वा यो समाजले समेत बुद्धिजीवी सम्झिएकाहरुले, केही अमूक नेताहरुलाई दोष देखाउँदै आएको देखिन्छ । किन ? 

२. गाउँदेखि, जिल्ला, अञ्चल, प्रदेश हुँदै केन्द्रसम्म लादिएको घोर अव्यवस्था के दुई चार नेताको कारणले भएको हो ? 

३. यदि केही नेताहरुको कारणले भएको हो भने, तिनीहरू कति जना छन् ? को को हुन् ? कुन कुन पार्टीका हुन ? तिनीहरूको अपराध के के हो ? 

४. अपराधीहरू र तिनीहरूको अपराधको लिस्ट तयार पारेर ती बुद्धिजीवीहरूले सार्वजनिक गरेर देखाउन किन सक्दैनन् ?  सक्नुपर्ने कि नपर्ने ?  हिम्मत छ कि छैन ? हिम्मत छैन उनीहरूको,  त्यही कारण उनीहरू अमूक कुराहरू गरेर जनता अलमल्याउने प्रयास गरेर ढाकछोप गर्दै छन् । हो कि होइन ?

५. अपराध र अपराधीहरू दुई चार जना, एक दुई दर्जन, एक दुई सय होइन, हजारौं छन् । हो कि होइन ? होइन भने कति जना छन् ? लौ गनेर सार्वजनिक किन नगरेको ? 

६. यो व्यवस्थाले हजारौंलाई कारबाही गर्न सक्छ कि सक्दैन ? कारबाही चलाउने निकाय तथा अधिकारीहरू तथा पदाधिकारीहरु नै अनेक प्रकारका अपराधमा मुछिएका छन् । 

७. अब भन्नुहोस् कसले कसलाई कारबाही गर्ने ? किन गर्ने,  जबकि उनीहरूको तलदेखि माथिसम्म एउटै प्रकारको आपराधिक सञ्जाल विस्तार गरिएको छ, ताकी आफूहरु सधैं सुरक्षित रहन सकियोस् । 

८. यही व्यवस्थाले, यही व्यवस्थाबाट जन्मिएका हजारौं अपराधीहरूलाई कहिल्यै पनि कारबाही गर्न सक्दैन । व्यवस्था वा अपराधीहरू मध्ये एउटा फेरौं । 

९. त्यसैले यसको विकल्प के के हुन् सक्छ भनेर गम्भीर प्रकारको राष्ट्रियस्तरको बहस पैरवी तथा निचोड निकाल्नुपर्ने आवश्यकता भईसकेको छैन र ? कति दशक कुर्ने, त्यो होइन भने ? 

१०. कम्तीमा पनि त्यो बहसले नेता आतंकविरुद्धको क्रान्ति छेड्ने वैचारिक तथा कार्यनीतिक रूपरेखा तयार गर्नुपर्ने हुन्छ । त्यो अझै तयार भएको देखिँदैन । 

११. राजनीतिमा दुस्मनहरू तथा मित्र शक्तिहरूको किटान गर्नुपर्ने समेत सामान्य सिद्दान्त तथा व्यबहार रहेको हुन्छ । त्यो अन्तर्गत  हजारौको संख्यामा रहेका नेपालका अहिलेका नेताहरु नेपालको स्वतन्त्रता,  सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता तथा नेपाली जनताको समृद्धिका मुख्य दुस्मनहरू हुन । 

१२. ठीक छ मेरो कुराहरुमा सहमत नहुने आधारहरू छन् भने, ती आधारहरू के के होला ? के यो लुटतन्त्र को व्यवस्था वा अपराधीहरूमध्ये एउटा फेर्न आवश्यक छैन ?

Advertisement

Advertisement