कोशी सम्झौताअनुसार भारतले उठाएको कर नेपाललाई दिन मानेन्

Advertisement

विराटनगर । नेपाल र भारतबीच ६४ वर्षअघि भएको कोशी सम्झौतामा भारतले नेपाली क्षेत्रमा काम गर्दा भ्याट तिर्नुपर्ने उल्लेख छ । तर, कोशीको बाढी नियन्त्रणका लागि निर्माण गरिएको तटबन्धमा भएको विभिन्न ठेक्कामा नेपाली ठेकेदारले भारतीय पक्षलाई ३५ करोड भ्याट बुझाए पनि ३ वर्षदेखि उक्त रकम नेपाल सरकारलाई बुझाएको छैन ।

सम्पर्क तथा भूआर्जन कार्यालय विराटनगरले भारतको जलसंसाधन विभागअन्तर्गतको वीरपुरमा रहेको कोशी प्रोजेक्टलाई पटकपटक संकलित रकम नेपाललाई बुझाउन ताकेता गरे पनि नेपालले सो रकम प्राप्त गरेको छैन ।

Advertisement

सम्पर्क तथा भूआर्जन कार्यालय विराटनगरका अधिकृत सम्पर्क अधिकृत सन्तोषकुमार चोङ्वाङ लिम्बूले आर्थिक वर्ष (आव) २०७५–७६ देखिको बक्यौता भारतीय पक्षले नबुझाएको जानकारी दिए । २०११ साल वैशाख १२ गते भएको कोशी सम्झौतामा नेपालभित्र हुने निर्माण कार्यको कर भारतीय पक्षले नेपाललाई बुझाउनुपर्ने छ । यसमा भूमिकरसमेत पर्छ । भारतले भूमिकर तिरिरहेको भए पनि भ्याटबापतको एनसीटी (नेपाल कन्ट्र्याक्टर ट्याक्स) संकलन गरेको तर नेपाललाई नबुझाएको लिम्बूले बताए ।

कोशी सम्झौता हुँदा नेपालको सप्तरी, उदयपुर र सुनसरी जिल्लाको १३ हजार ३ सय ३७ बिगाहा जमीन भारतले १ सय ९९ वर्षका लागि लीजमा लिएको छ र त्यसको रेखदेख भने नेपाल सरकारले नेपालको कानूनबमोजिम गर्ने उल्लेख छ ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement