बुक विल्डिङमार्फत पहिलो पटक यसरी निष्काशन हुँदैछ सर्वोत्तम सिमेन्टको आईपीओ

Advertisement

काठमाडौं । केही समय यता निकै चर्चा कमाएको बुक विल्डिङमार्फत आईपीओ निष्कासनको प्रक्रिया सफल हुने भएको छ । नेपालमा सर्वप्रथम यो प्रक्रियाबाट आईपीओ निष्कासन गर्ने पहिलो कम्पनी सर्वोत्तम सिमेन्ट हुने भएको छ ।

अहिलेको सेयर बजारमा ७५ प्रतिशत हिस्सा बैंक वित्तीय संस्था र बीमा क्षेत्रको रहेको कारण अन्य क्षेत्रको उपस्थिति न्यून हुन पुगेको छ । उक्त क्षेत्रको बजारमा उपस्थित बढाउन यो प्रणाली उपयुक्त रहेको नेपाल धितोेपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताएका छन् । 

Advertisement

यस प्रणालीको लागू भएसँगै अन्य रियल सेक्टरका कम्पनीहरुले पनि यस बिधि मार्फत आईपीओ निष्कासनको लागि इच्छा देखाएको नेपाल धितोेपत्र बोर्डका कार्यकारी निर्देशक निरोज गिरी बताउछन् । सर्वोत्तम सिमेन्टले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अन्य कम्पनीहरुले पनि यस बिधिबाट आईपीओ निष्कासन गर्न चाहना देखाएको बताए । 

यस्तो छ सर्वोत्तम सिमेन्टको मूल्य निर्धारण प्रक्रिया ?  
सर्वोत्तम सिमेन्ट कम्पनी लिमिटेडले आईपीओको मूल्य प्रतिकित्ता ७५० रुपियाँ निर्धारण गरेको छ । कम्पनीले बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने क्रममा आधार मूल्य तय गर्न योग्य संस्थागत लगानीकर्तासँगको छलफलमा आशय मूल्य माग गर्नुपूर्व आफ्नो मूल्य सार्वजनिक गरेको जानकारी दिएको छ । यससँगै, सर्वोत्तम सिमेन्टको बुक विल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने प्रक्रियाको पहिलो चरणमा काम पूरा भएको छ ।

कम्पनीले मूल्यांकन गराएर ७५० रुपियाँको मूल्य प्रस्तावसहित योग्य संस्थागत लगानीकर्तासँग छलफलमा जाने तयारी गरेको जानकारी दिएको छ । कम्पनीले योग्य संस्थागत लगानीकर्तासँग छलफल, आधार मूल्य तय, बिक्री सीमा निर्धारण र बोलकबोलमार्फत कट अफ मूल्य निर्धारण लगायतका प्रक्रिया पार गर्नै बाँकी रहेको पनि कम्पनीले जानकारी दिएको छ ।

सर्वोत्तम सिमेन्टले हाल निर्धारण गरेको प्रतिकित्ता ७५० रुपियाँ मूल्य सबै प्रक्रिया पार गरेपछि मात्र स्वीकृत हुनेछ । कम्पनीले आफ्नो व्यावसायिक उत्पादन सुरु गरेपछि नै नाफा कमाउँदै आएको बताएको छ । विगत तीन वर्षको औसत मुनाफा वार्षिक एक अर्ब चार करोड रुपियाँभन्दा बढी भएको कम्पनीले जानकारी दिएको छ । तीन वर्षको औसत प्रतिसेयर आम्दानी ५२ रुपियाँ रहेको र आगामी तीन वर्षको औसत प्रतिसेयर आम्दानी ४५ रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ ।

कम्पनीले आईपीओ निष्कासनबाट प्राप्त रकममध्ये ४० प्रतिशत ऋण भुक्तानी गर्न प्रयोग गर्नेछ । उक्त ऋण तिरेपछि कम्पनी ऋणमुक्त हुनेछ । बाँकी रकम उत्पादन क्षमता दोब्बर गर्ने योजना बनाईरहेको कम्पनीले जानकारी दिएको छ । यसबाट चार वर्षपछि वार्षिक प्रतिफल ७५ प्रतिशतभन्दा बढी हुन जाने सर्वोत्तमको अनुमान छ । आईपीओ जारी भएपछि पहिलो ३ महिनाभित्रै १० प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने निश्चित भएको सर्वोत्तम सिमेन्टको भनाई छ ।

बुक विल्डिङमा मूल्य निर्धारण प्रक्रिया 
कुनै पनि कम्पनीले यस विधिमार्फत संस्थागत लगानीकर्तालाई सेयर बिक्री गरिसकेपछि मात्र सर्वसाधारणलाई आईपीओ जारी गर्ने गर्दछ । बुक विल्डिङमा योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी धितोपत्रको आधार मूल्य तय गर्नुपर्ने व्यवस्था रहेको गिरी बताउँछन् ।

संस्थागत लगानीकर्ताले आधार मूल्य तय गरेपछि धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गर्नुपर्ने हुन्छ । उनी भन्छन्, ‘कुनै एउटा कम्पनीले बुक विल्डिङमार्फत आईपीओ जारी गर्नुपर्ने भएमा सबैभन्दा पहिले कम्पनीले आफ्नो वित्तीय अवस्थालगायतको सूचकहरुको मूल्यांकनका आधारमा एउटा मूल्य निर्धारण गर्नुपर्ने हुन्छ । निर्धारण भएको मूल्यमाथि धितोपत्र बोर्डबाट योग्य ठहरिएका संस्थागत लगानीकर्ता समावेश गरी आधारसहित उक्त भाउमाथि छलफल गर्नुपर्ने हुन्छ ।’

संस्थागत लगानीकर्ताले त्यस भाउमा सहमति जनाउन र असहमति राख्न पनि सक्नेछन् । असहमत भएमा संस्थागत लगानीकर्ताले आशय मूल्य पेश गर्न पाउने व्यवस्था छ । उक्त मूल्यको अध्ययन गरेर कम्पनीले फेरि आधार मूल्य निर्धारण गर्नेछ । यो सबै प्रक्रिया पूरा भएपछि एउटा आधार मूल्य निर्धारण हुन्छ ।

उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र तल्लो सीमा आधार मूल्यमा २० प्रतिशत घटाउँदा हुने गरी कायम गर्नुपर्नेछ । यदी कुनै पनि कम्पनीको आधार मूल्य चार सय रुपियाँ निर्धारण भएको छ भने त्यस आधार मूल्यको माथिल्लो सीमा पाँच सय र तल्लो सीमा तीन सय रुपियाँ हुन्छ । त्यस मूल्यमा विडिङ गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिनुपर्ने व्यवस्था धितोपत्र बोर्डको निर्देशिकामा रहेको छ ।

बोर्डबाट स्वीकृति पाएपछि उक्त सीमामा रहेर योग्य संस्थागत लगानीकर्ता बोलकबोलमा सहभागी हुन्छन् । बोलकबोलका आधारमा कट अफ मूल्य निर्धारण हुने गिरी बताउँछन् । उनी भन्छन्, अन्त्यमा, उक्त कट अफ मूल्यमा १० प्रतिशत छुट दिई सर्वसाधारणका लागि आईपीओ जारी गर्ने कम्पनीले जानकारी दिएको छ  ।

Advertisement

Advertisement