अर्थमन्त्रीमा माओवादी नेता, कता जाला सेयर बजार ? के भन्छन् जानकारहरू ?

Advertisement

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारले नेकपा माओवादी केन्द्रका जनार्दन शर्मालाई अर्थमन्त्रीको जिम्मेवारी दिएको छ । शर्मा नियुक्त भएसँगै सेयर बजारबारे उनले कस्तो नीति लिने हुन ? भन्ने चिन्ता र चासो लगानीकर्ताहरूमा देखिएको छ । 

माओवादी पार्टीले आफूलाई कम्यनिष्ट भन्ने गरे पनि अहिलेसम्म खुल्ला बजार अर्थतन्त्रलाई नै स्वीकार गर्दै आएको छ । त्यसमाथि सरकारको नेतृत्व नेपाली काँग्रेसले गरेकाले माओवादी मन्त्री शर्माले सोझै सेयर बजारमा हस्तक्षेप गरिहाल्नसक्ने अवस्था देखिन्न । यद्यपि उनले चाहेमा भने सेयर बजार प्रभावित गर्न सक्छन् । 

Advertisement

सेयर बजार संवेदनशील क्षेत्र भएको कारण सामान्य नीति र नेताको भाषणले प्रभाव पार्न सक्छ । अर्थमन्त्रालयमा जनार्दन शर्मा नयाँ भए पनि उनको स्वाभाव पपुष्टि र क्रान्तिकारी हुन खोज्ने खालको रहेकाले सेयर बजारलाई हेर्ने दृष्टिकोण उनले कस्तो बनाउँछन् ? भन्ने चासो र चिन्ता अहिले बढेको देखिन्छ । 

नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीलाई जोखिमयुक्त सुचीमा राख्ने निर्णय गरेका कारण सेयर बजार केही प्रभावित भए पनि ठूलो गिरावट भने आउन सकेको छैन् । स्थिर अवस्थामा रहेको बजारलाई प्रभाव पार्ने ढंगले मन्त्री शर्माले कुनै नीतिगत निर्णय लिइहाल्ने विश्वासमा लगानीकर्ताका अगुवाहरू छन् । 

आम लगानीकर्ता मन्त्री शर्माप्रति सकारात्मक नै रहेको नेपाल पुँजी बजार फोरमकी अध्यक्ष राधा पोखरेल बताउँछिन् । मन्त्री शर्माको विगत त्यस्तो विवादास्पद नभएकाले सेयर बजारलाई असर गर्ने निर्णय नलिने उनको भनाई छ । 

पोखरेल भन्छिन, ‘मैले आज पनि मन्त्रीज्यूलाई भेटेर सेयर बजारको समस्या बारेमा अवगत गराएको छु । उहाँले बजारमा के कस्तो खालको समस्या छन् ? के सुधार गर्नुपर्नेछ ? सुझाव दिनु भन्नुभएको छ । मलाई लाग्छ आउने दिनमा सेयर बजारले सकारात्मक बाटो नै तय गर्छ ।’

अघिल्ला महिनाहरूमा जस्तो सेयर बजारमा उच्च वृद्धि पछिल्ला दिनमा छैन् । केही उत्तार चढाव देखिएको छ । यसको कारण आर्थिक बर्षको क्लोजिङको समय भएकाले पनि हो भन्छन् लगानीकर्ताका नेताहरू । अर्कोतर्फ राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीति कस्तो आउला भनेर लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । राष्ट्र बैंकका केही अधिकारीले सेयर धितो कर्जामा कडाई गर्ने संकेत दिएकाले लगानीकर्ता सशंकित भएको बेला मौद्रिक नीतिको पखाईमा लगानीकर्ता छन् । 

क्लोजिङको समय सकियसँगै र मौद्रिक नीति आएपछि सेयर बजारले फेरि नयाँ यात्रा तय गर्ने भन्दै नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले कम्युनिष्ट अर्थमन्त्री आउँदैमा बजारमा नकारात्मक असर नपर्ने विश्वास व्यक्त गरे । 

रौनियार भन्छन्, ‘अहिलेको सेयर बजार बाँमे सर्दै गरेको बजार हो । विगत १ वर्षबाट बजारले नयाँ मोड लिएर केही अगाडि बढेको छ । अहिले अनलाइन कारोबारदेखि लिएर हरेक नीतिगत कुराहरुमा पनि सुधारका विभिन्न कामहरू भइरहेका छन् जसले गर्दा सेयर बजारमा जुन पार्टीको अर्थमन्त्री वा प्रधानमन्त्री आए पनि बजारलाई हित हुने खालको नै नीति ल्याउला । हामीले बुझे अनुसार अहिले नियुक्त भएका अर्थमन्त्री सेयर बजारप्रति नकारात्मक हो जस्तो लाग्दैन् । बाँकी के हुन्छ ? भन्ने कुरा उहाँको कामको आधारमा भर पर्ने कुरा हो ।’

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष तुलसीराम ढकालले पनि नयाँ अर्थमन्त्रीप्रति विश्वास नै प्रकट गरे । मन्त्री शर्मा पुँजी बजारप्रति सकारात्मक नै रहने उनको बुझाई छ । यतिबेला सेयर बजार सुस्त हुनुमा असार मसान्तको असर हो भन्दै ढकालले भने ‘यो आर्थिक वर्ष सकिन अब १ दिनमात्र बाँकी छ । मसान्तको असरले पनि बजार सुस्त भएको छ । यतिबेला बैंकहरुले नयाँ कर्जा प्रवाह पनि कम गर्छन । बैंक तथा वित्तीय संस्था यो समय ऋणीहरुसँग कर्जा असुलीमा लागेका हुन्छन् । यसकारण पनि बजारले नयाँ गति लिन सकेको छैन् ।’

बजारले मौद्रिक नीतिलाई कुरिरहेको नेपाल पुँजी बजार संघकी अध्यक्ष संरचना चौधरी बताउँछिन् । अहिलेको अवस्थामा सेयर बजार पर्ख र हेरको अवस्थामा रहेको उनको बुझाई छ । चोधरी भन्छिन, ‘पुँजी बजारमा नेपाली कांग्रेसको सरकारलाई सकारात्मक रुपमा लिने गरिएको छ  । यसकारण अर्थमन्त्रीमा जो आए पनि सेयर बजारको हितर्मै हुन्छ ।’

नयाँ आर्थिक वर्षको सुरुसँगै सेयर बजारले सुधारतर्फ लाग्ने धेरै सम्भावना रहेको जानकारहरू बताउँछन् । बैंकमा रहेको सहज तरलता, सस्तो ब्याजदर, लगानीका अन्य क्षेत्रमा संकुचन, सेयर बजारमा अनलाइन कारोबार गर्ने लाखौं भइसकेको अवस्था लगायतका कारण आगामी दिनमा सेयर बजार ओरालो लाग्ने अवस्था नरहेको उनीहरूको तर्क छ । 

साउन लागेसँगै सूचीकृत कम्पनीहरूको बार्षिक वित्तीय विवरण आउनेक्रम सुरु हुन्छ । त्यसपछि लाभांश घोषणा र साधारण सभाको सिजन सुरु हुन्छ । हाल सेयर होल्ड गर्ने लगानीकर्ताले १–२ महिनामै लाभांश प्राप्त गर्न सक्नेछन् । यी समग्र परिदृश्यमा सेयर बजारको आगामी दिनहरु सुनौलो रहेने ढकालको बुझाई छ । 

Advertisement

Advertisement