नेपालमा जुन सरकार आए पनि हाम्रो हेर्ने नीति परिवर्तन हुन्नः चिनियाँ राजदूत

Advertisement

काठमाडौं । चिनियाँ राजदूत हाउ याङ्छीले नेपालमा जुनसुकै सरकार आए पनि चीनको हेर्ने नीति एउटै हुने बताएकी छन् । अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा शुक्रबार उनले चीनको हेर्ने नीति र दृष्टिकोणमा परिवर्तन नआउने बताएकी हुन् । 

याङ्छीले कोभिड महामारी विरुद्धको लडाईंमा आफूहरु नेपालको साथमा रहँदै आएको बताइन् । चीनले यसअघि नै नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको र थप १६ लाख डोज अनुदानको खोप पनि चाँडै प्राप्त गर्ने जानकारी दिइन् । 

Advertisement

यस्तै भुकम्पपछिको पुनर्निर्माणमा पनि चीनले नेपालमा विभिन्न २५ वटा परियोजनाको पुनर्निर्माणमा सहयोग गरेको र आधाजसो काम सकिएको उल्लेख गर्दै वसन्तपुरको नौ तले दरबारको काम सकिन लागेको बताइन् । बाँकी रहेका अन्य परियोजनाको काम पनि चाँडै सम्पन्न गरिने उनले बताइन् । 

मन्त्री शर्माले कोभिड विरुद्ध जनतालाई खोप लगाउनु सरकारको प्राथमिकताको काम भएको भन्दै चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गरे । उनले चीनबाट थप खोप खरिदको लागि प्रक्रिया अघि बढाएकोले त्यस कार्यमा राजदूतबाट सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरे  । 

मन्त्री शर्माले चिनिया सहयोगमा नेपालमा सञ्चालित विभिन्न आयोजनाको कार्यान्वयनमा अनुगमन गरी देखिएका समस्या समाधान गर्न र कार्यसम्पन्न गर्न सरकारको तर्फबाट तदारुकता रहने प्रतिवद्धता व्यक्त गरे । उनले चिनिया लगानीमा अघि बढिरहेका सडक, जलविद्युत, विमानस्थललगायतका निर्माणाधिन परियोजनाहरु सम्पन्न गर्नको लागि नेपाल सरकारले गर्नुपर्ने कामहरुको सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिने बताए । 

Advertisement

Advertisement