स्वदेशी जुत्ता, चप्पल र कपडाहरुको राष्ट्रिय प्रदर्शनी भृकुटीमण्डपमा आजबाट सुरु

Advertisement

काठमाडौं । नेपाली जुत्ता चप्पल तथा वस्तुहरुको १२औं राष्ट्रिय औद्योगिक प्रदर्शनी आजबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियशनको आयोजनामा भएको प्रदर्शनीको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले उदघाटन गरेका हुन ।

आउँदो पुस १५ गतेसम्म चल्ने प्रदर्शनीमा एकसयभन्दा बढी स्टल रहेका छन । तिनमा करिव दुई दर्जन नेपाली कपडा तथा सिलाई उद्योगीको स्टल छन भने बाँकी जुत्ता चप्पलको रहेको छ । 

Advertisement

जुत्ता चप्पलहरुमा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता स्कुल कलेका युनिफर्मका जुत्ता, महिला तथा पुरुषका चप्पल, सर्ट पाइन्ट तथा सुटका कपडा, प्राकृतिक रेसाबाट बनेका कपडा तथा आकर्षक डिजाइनका सर्टिङ सुटिङका डिजाइन रहेका छन । 

स्वदेशी उत्पादनलाई प्रोत्साहित र प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष यस्तो प्रदर्शनी हुँदै आएको छ । ‘आत्मनिर्भरताको आधार स्वदेशी वस्तुको प्रयोग’ भन्ने नारा तय गरिएको यो प्रदर्शनीमा कपडा तथा सिलाई व्यवसायी सँघलाई पनि समावेश गरी नेपाली बुट र नेपाली सुटको प्रदर्शनी आयोजना भएको हो । 

नेपाली उत्पादनप्रति आम जनताको बढदो विश्वासलाई कायम राख्न विनाशकारी भूकम्प र महिनौसम्मको भारतीय नाकाबन्दीका बीच पनि आफूहरुले यस वर्ष पनि प्रदर्शनी आयोजना गरेको आयोजक पक्षको भनाई छ । 

कार्यक्रममा मन्त्री पाण्डे भूकम्प, तराई बन्द र भारतको अघोषित नाकाबन्दीका बीच पनि व्यवसायीहरुले आफ्नो व्यवसायलाई निरन्तरता दिएको भन्दै यस कुरालाई सरकारले मनन गरिरहेको बताए । उनले स्वदेशी उद्योग त्यसमा पनि स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगको विकासका लागि योजनावद्ध रुपमा अगाडि बढाउनुपर्छ भन्ने कुरामा सरकार गम्भीर रहको उनले बताए । 

मन्त्री पाण्डेले केही टल्किने जुत्ता बाहेक आम नेपालीलाई चाहिने जुत्ता चप्पल मुलुकमा उत्पादन हुने अवस्था छ भन्दै छिमेकी मुलुकमा ठूलो परिमाणमा उत्पादन गर्ने उद्योगसँग नेपाली उद्योगहरुले प्रतिस्पर्धा गर्न कठिनाई हुने गरेको बताए । उनले नेपाली उद्योगहरुलाई प्रोत्साहन र संरक्षण गर्ने कुरामा सरकारले कन्जुस्याई नगर्ने उनले बताए । 

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले भूकम्पको प्रभाव न्यून नहुँदै सुरु भएको बन्द र नाकाबन्दीले सबै उद्योग व्यवसाय धरासायी अवस्थामा पुगेको भन्दै उनीहरुलाई बैंकको ब्याज तिर्न, कर्मचारीलाई तलव दिन, कच्चा पदार्थ आयात गर्न धौधौ भएको बताए । 

उनले आफूहरु विना गल्तिको सजायको भागिदार बन्नु परेको छ भन्दै पीडित उद्योगी व्यवसायीलाई राहत र प्रोत्साहनका लागि महासंघले पहल गरिरहेको बताए । 

एशोसिशयनका अध्यक्ष रविन श्रेष्ठले जुत्ता चप्पल उद्योगहरु दक्ष जनशक्तिको अभाव बढदै गएको भन्दै तालिम दिन तालिम केन्द्र पनि नभएको र तालिम लिन जनशक्तिको पनि अभाव रहेको बताए । सरकारले युवा जनशक्तिलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी बाहिर जान राक्नुपर्नेमा फ्रि भिषा र फ्रि टिकट भनेर झन प्रोत्साहित गरेको भन्दै असनतुष्टी जनाए । 

नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगहरुको संख्याको तथ्यगत तथ्यांक नभए पनि सम्वद्ध सरकारी निकायमा घरेलु तथा साना उद्योग विभागअन्तरर्गत दर्ता भएका ८५०, कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका २०६, परम्परागत सीपमा आधारित दर्ता नभएका अनुमानित पाँचसय र हस्तकलाजन्य उन र प्राकृतिक रेसामा आधारित करिव पाँचसय गरी झण्डै दुई हजारभन्दा बढी उद्योग तथा व्यावसायी रहेको अनुमान छ । 

यी उद्योगमा झण्डै ५० हजारको हाराहारीमा प्रत्यक्ष रोजगारी सिर्जना भएको, जसमध्ये ३० प्रतिशत महिना रहेको जनाउँदै आयोजकले नेपाली बजारमा जुत्ता चप्पलको माग करिव पाँच करोड जोर रहेको, देशको कूल मागमध्ये ६० देखि ६५ प्रतिशत स्वदेशी उत्पादनले आपूर्ति गर्ने गरेको जनाएको छ । 

 

Advertisement

Advertisement