टिकटक भिडियोको अवधि १० मिनेट बनाउने कुराले एनटीए चिन्तित, प्रतिवन्ध नै लगाउनेसम्म छलफल

Advertisement

काठमाडौं । टिकटक भिडियो अवधि १० मिनेट बनाउँदा त्यसले उत्पादनमूलक काममा खपत हुने इन्टरनेटमा प्रत्यक्ष असर पार्ने सम्भावना रहेको नेपाल दूरसंचार प्राधिकरण (एनटीए)ले बताएको छ । प्राधिकरणले ग्राहकले किन्दा सेवा प्रदायकहरुले गुणस्तरीय इन्टरनेट सेवा दिनैपर्ने र सो सेवा कार्यालय वा अन्य महत्वपूर्ण काममा भन्दा पनि टिकटकमै मात्र प्रयोग हुँदा अनुत्पादक खपत बढ्ने विश्लेषण गरेको छ । 

अहिले नै पनि टिकटकको बढ्दो प्रयोगले इन्टरनेटको ब्याण्डविथ प्रयोग निकै बढेको भन्दै दूरसञ्चार प्राधिकरणदेखि इन्टरनेट सेवा प्रदायकहरुले चिन्ता प्रकट गर्दै आएका छन् । टिकटक भिडियोको अवधि १० मिनेट भएपछि झन यो ब्याण्डविथ खपत बढ्ने र अत्यावश्यक काममा असर पर्ने उनीहरुको चिन्ता छ । चिनियाँ एप्लिकेशन टिकटकको अहिले विश्वभर प्रयोग बढिरहेको छ । 

Advertisement

प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्र भन्छन्, ‘टिकटकको नियमन एनटीएले मात्रै गर्ने होइन्, नन प्रोडक्टिभ (गैरउत्पादनमूलक) काममा नै इन्टरनेटको प्रयोग बढी हुन्छ । कति व्याण्डविथको माग भएको छ ? सोहीअनुसार नै इन्टरनेटको बिक्री हुने त हो । टिकटक भिडियो अवधि १० मिनेट कायम हुँदा इन्टरनेट ट्राफिक बढ्छ भन्ने कुरा एकदमै सही हो ।’

उनले सरकारले कस्तो नीति लिन्छ ? भन्नेमा टिकटक चल्ने नचल्ने वा कसरी चल्ने भन्ने कुरा निर्धारण हुने बताए । मिश्रले व्याण्डविथको खपत बढाएकाले टिकटकमाथि प्रतिवन्धको कुरामा समेत छलफल हुने गरेको बताए । उनले भने, ‘भिडियोको अवधि बढ्दै गयो । यसको कारण अप्ठ्यारो अवस्था आयो भने अत्यावश्यक सेवा प्रभावित हुन थाल्छ । जनगुनासो आउन थाल्छ । त्यति बेला सरकारले केही एक्सन लिनसक्छ ।’ 

सामाजिक संजाल प्रयोगकर्ताहरुका लागि टिकटक आफ्नो कला प्रस्तुत गर्ने र मनोरञ्जन लिने आकर्षक माध्यम बन्दै गएको छ । सँगै, टिकटक भिडियोमा छाडा प्रस्तुती र शब्दहरुको प्रयोग पनि त्यत्तिकै बढेर गएको छ । अहिलेसम्म पाँच मिनेटसम्मको भिडियो अपलोड गर्न मिल्ने टिकटकमा अब १० मिनेटसम्मको भिडियो अपलोड गर्न मिल्ने बनाउन लागिएको छ । 

सुरुवाती चरणमा टिकटकमा जम्मा ६० सेकेण्डको भिडियो राख्ने व्यवस्था थियो । प्रयोगकर्ताको माग बढेसँगै त्यो अवधि बढाएर एक मिनेट पुर्याइयो । त्यसपछि तीन मिनेट र अहिले पाँच मिनेटसम्मको भिडियो अपलोड गर्न मिल्ने सुविधा छ । कोभिड महामारीसँगै मानिसहरु घरबाटै कार्यालयको काम गर्नेदेखि अनलाइनमार्फत सभा, बैठक, अनलाइन कक्षा सञ्चालन गर्ने क्रमले इन्टरनेटको प्रयोग बढिरहेको बेला त्यसमाथि टिकटक लोकप्रिय भई इन्टरनेटको ब्याण्डविथ ह्वात्तै बढेर गएको छ । 

टिकटक भिडियो १० मिनेटसम्मको बनाउन सकिने कुराले यसका पारखीहरु खुशी भए पनि अरु पनि चिन्तित देखिन थालेका छन् । टिकटकको बढ्दो प्रयोग फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालका लागि पनि टाउको दुखाई बनिरहेको छ । 

Advertisement