'अब हिमाल, नदिनाला, तराईको जमिनसहित सबै राष्ट्रिय सम्पत्तिको लेखापरीक्षण गर्ने बेला भयो'

Advertisement

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले लेखापरीक्षणका क्रममा हुने कमजोरीका कारण राज्यले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपर्ने भन्दै लेखापरीक्षण व्यवसायीले आफ्नो इमान्दारिता, स्वच्छता र जिम्मेवारीबोधका साथ काम गर्नुपर्ने बताएका छन् । 

लेखा परीक्षण व्यवसायको प्रवर्द्धन, संवर्द्धन र सुदृढीकरण गर्ने उद्देश्यसहित राजधानीमा आजदेखि शुरु भएको  ‘प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलन’ उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।  

Advertisement

‘लेखापरीक्षण स्वच्छ र मर्यादित हुनुपर्छ, नियमनकारी निकाय आइक्यानले आफ्नो भूमिका निर्वाह गर्न सक्षम हुनुपर्छ’, उनले भने ।  

कार्यक्रममा महालेखा परीक्षक टङ्कमणि शर्माले लेखा व्यवसायीले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्ने बताए । उनले राज्यको अपेक्षाअनुसार जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता लेखापरीक्षण व्यवसायीले जाहेर गर्नुपर्ने बताए । महालेखा नियन्त्रक सुमनराज अर्यालले मुलुकको आर्थिकस्वरुप र अवस्था दर्शाउने स्तम्भ लेखापरीक्षण व्यवसायी भएकाले आफ्नो व्यवसायलाई सुदृढ र २१औँ शताब्दी अनुकूल बनाउनुपर्ने बताए ।  

नेपाल चार्टर्ड एकाउन्टेन्ट सङ्घका अध्यक्ष आनन्दराज शर्माले लेखापरीक्षणका क्रममा देखिएका समस्या समाधानमा राज्यको ध्यान जानुपर्ने तथा वित्तीय साक्षरता र करदाता शिक्षा प्रभावकारी बनाउनुपर्ने बताए । अडिटर्स एशोसियशन नेपालका अध्यक्ष महोनराज रेग्मीले लेखापरीक्षण व्यवसायीमाथि भएको विभेदको अन्त्य हुनुपर्ने बताए ।  

आइक्यानका अध्यक्ष युद्धराज ओलीले लेखा व्यवसायको सुदृढीकरण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताए । लेखापरीक्षण व्यवसायमा आएको परिवर्तन, अन्तर्राष्ट्रिय अभ्यासलगायत विषयमा व्यवसायीलाई अभिमुखीकरण गराउन आगामी दिनमा पनि सम्मेलनलाई निरन्तरता दिइने बताए ।  

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को आयोजना भएको दुई दिनसम्म चल्ने सो सम्मेलनमा एक हजार २०० बढी लेखा व्यवसायीको सहभागिता रहेको छ । 

सम्मेलनअन्तर्गत आज र भोलि विभिन्न क्षेत्रगत विषयमा सामूहिक छलफल हुनेछ । सम्मेलनका क्रममा लेखा परीक्षण व्यवसायमा नियामक निकायको भूमिका, सुशासनमा सूचना प्रविधि, उद्यमशीलता विकासमा लेखा व्यवसायीको भूमिका, लेखा व्यवसायको विकास, राष्ट्रिय अर्थतन्त्रको वर्तमान अवस्था र अबको बाटो विषयमा सामूहिक छलफल हुने आइक्यानले जनाएको छ । 

Advertisement

Advertisement