दश वर्षभित्र डिजेल, पेट्रोल र एलपी ग्यासमुक्त देश बनाउँः गगन थापा

Advertisement

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद गगन थापाले मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिन सरकारसँग माग गरेका छन् । संसदमा शुक्रबार बोल्दै उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आउने दिनमा झनै चुनौति थपिने भन्दै त्यसको नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराए । 

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन माग गर्दै संसदमा पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा थापाले कुनै मन्त्रालयलाई यो समस्या पन्छाएर नबस्न पनि आग्रह गरे । उनले पेट्रोलियम पदार्थमा देखिएको समस्या समाधानका लागि तत्काल पेट्रोलियम पदार्थ ऐन ल्याउन पनि सरकारलाई सचेत गराए । थापाले सरकारले १० वर्षभित्र डिजेल, पेट्रोल र एलपी ग्यासमुक्त देश बनाउने गरी काम गर्न आजैबाट सुरु गर्नुपर्ने बताए । 

Advertisement

नभए यसले मुलुकलाई झनै मारमा पर्ने थापाको भनाई थियो । उनले भने,  ‘कोभिड र त्यसपश्चात रुस–युक्रेन युद्धका कारणले गर्दा अन्तर्राष्ट्रिय बजारमा जसरी मूल्य आकाशिएको छ । सप्लाई जसरी अवरुद्ध भएको छ । यसले आउने दिनहरु झनै चुनौतिपूर्ण हुने संकेत गरिरहेको छ । यसको आधारमा भारतले अव जस्तो निर्णय गर्छ, त्यस हाम्रो बजारलाई थप प्रभावित पार्छ । त्यसैले यसलाई हलुका रुपमा नलिन आग्रह गर्दछु । म एउटा कुनै मन्त्रालयको मात्रै कुरा होइन, यसले यति अस्तव्यस्त बनाउछ–हाम्रो देश समाज सबैतिर । त्यसैले मत सम्मानीय प्रधानमन्त्रीजीलाई नै आग्रह गर्न चाहन्छु– युद्धको जस्तो सोच राखेर वार सुटिङमा काम गर्नुपर्ने बेला छ ।’ 

थापाले थपे, ‘कुनै एउटा मन्त्रालयलाई मात्रै पन्छाएर हुनेवाला छैन । मेरो पहिलो विषय यो हो । पेट्रोलियम पदार्थ अन्तराष्ट्रिय बजारबाट हामीहरु किन्छौं । त्यसमा ६० पैसा मात्रै हो प्रशासनिक खर्च । आयल निगम छैन भन्ने मान्ने हो भने पनि एक लिटर जम्मा ६० पैसा मात्रै कटने हो । बाँकि त हाम्रो कर हो । पूर्वाधार कर हामीले घटायौं । अरु पनि घटाएर भएपनि जनतालाई मूल्यवृद्धिबाट राहत दिनैपर्छ । खपत कम गर्न प्रभावकारी कदम पनि हामीले चाल्नुपर्छ । हाम्रो स्टोरेज ६ महिनाको होइन, ८–१० दिनको मात्रै छ । हामीले स्टोरेज क्यासिटी बढाउनै पर्छ । कच्चा तेल ल्याएर रिफाईन गर्ने विकल्पबारे पनि सोचौं । अर्कोकुरा, यो संसद चलिरहेको बेला म माननीय मन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु– पेट्रोलियम ऐन चाहियो हामीलाई । पेट्रोलियम ऐन लिएर आयौ भने हामीलाई यसले बाटो देखाउँछ । मेरो अन्तिम कुरा भनेको नेपाललाई पेट्रोल, डिजेल, एलपी ग्याँस मुक्त देश बनाउन आजैबाट महत्वकांक्षी योजनाका साथ १० वर्ष भित्रमा निमिटयान्न पार्ने भनेर लाग्यौ भने बाँच्छौ हामी ।’

Advertisement

Advertisement