नेपाली जुत्ता चप्पललाई ‘एनटीआईएस’मा समावेश गरिने

Advertisement

काठमाडौं । फुटवयर म्यानुफ्याक्चरर्स एशोसियशन र नेपाल कपडा तथा सिलाई उद्योगले आयोजना गरेको जुत्ता, चप्पल तथा कपडाहरुको १२औं राष्ट्रिय औद्योगिक प्रदर्शनी अर्थात ‘सुट एण्ड बुट’ मेला बुधबार समाधान भएको छ ।

प्रदशनीमा ४० हजार जोर जुत्ता बिक्री भएको, करिव लाख उपभोक्ताले अवलोकन गरेको र दुई करोड रुपियाँभन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ । पुस ९ गते सुरु भएको प्रदर्शनीमा १०५ वटा स्टल रहेको, त्यसमा छ वटा कपडा तथा सिलाई उद्योगको र बाँकी जुत्ता चप्पलको रहेको जनाइएको छ । 

Advertisement

कार्यक्रममा बाणिज्य र श्रम मन्त्री दीपक बोहोरा मुलुकको परिस्थितिले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नपर्छ भन्ने सिकाएको भन्दै त्यसका लागि सरकारले गर्नुपर्ने सबै सहयोग गर्न तयार रहेको बताए । उनले अढाई अर्बको नेपाली जुत्ता चप्पलको निर्यात भए पनि पाँच अर्बको आयात हुने गरेकोले आयातलाई शुन्यमा झार्न नेपाली उत्पादनको प्रवद्र्धन र जनशक्ति विकासका लागि तालिमको व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

मन्त्री बोहोराले चार पाँच दिनभित्र आफूहरुले सय दिनमा गर्ने कार्यक्रमको सुची तयार गरी उदाहरणीय काम गरेर देखाउने भन्दै त्यस्तो कार्यक्रम तयार गर्न व्यवसायीहरुसँग परामर्श गर्ने प्रतिवद्धता जनाए । बन्द र नाकाबन्दीको बेलामा पनि प्रदर्शनी आयोजना गर्ने व्यवसायीको प्रयास र उपभोक्ताको उत्साहजनक सहभागीता प्रसंशीय भएको उनको भनाई छ ।

बाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले नेपाली जुत्ता चप्पल नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस)मा समावेश हुने प्रवल संभावना रहेको भन्दै त्यसका लागि आफूहरुले पनि पहल गर्ने बताए । उदयमान वस्तु भएको र आत्मनिर्भरताको बाटोमा गएकोले जुत्ता चप्पल एनटीआईएसमा पर्नसक्ने बलियो मापदण्ड हुनसक्ने उनको भनाई छ ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले छिमेकी चीन र भारतमा मात्रै हाम्रो उत्पादनहरु प्रवद्र्धन गर्न सके ठूलो उपलब्धी हुने भन्दै हालै मात्रै निजी क्षेत्रको समेत सहभागितामा राजस्व सचिवद्धारा अर्थमन्त्रीलाई बुझाइएको सुझाव कार्यान्वयन भए व्यवसायीको पीडामा मलम लाग्ने बताए । 

एशोसियशनका अध्यक्ष रविन श्रेष्ठले एनटीआईएसमा नेपाली जुत्ता चप्पल पर्ने प्रवल संभावनाले आफूहरुको लागि साह्रै खुशीको कुरा हो भन्दै यस उद्योगको प्रवद्र्धनका लागि युवाहरुलाई काम गर्न बाहिर पठाउने काम बन्द गरी मुलुकमै रोजगारीका अवसर सिर्जनालाई सरकारले ध्यान दिनुपर्ने बताए । 

नेपाल कपडा तथा सिलाई उद्योग संघका अध्यक्ष सुरज बज्राचार्यले यस उद्योगमा पनि काम गर्ने मानिस नपाएर बाहिरबाट मगाउनुपर्ने, आएर अर्डर तयार गर्न नसक्ने परिस्थिति रहेको भन्दै युवाहरुलाई स्वदेशमै काम गर्ने प्रोत्साहित गरे आफूहरु रोजगारी दिन तयार रहेको बताए । 

 

Advertisement

Advertisement