स्वास्थ्य परीक्षण विश्वस्नीय नहुँदा बीमा जोखिमांकनमा समस्याः गतिलो डाक्टर खोज नः समिति

Advertisement

काठमाडौं । बीमा कम्पनीहरुको जोखिमांकन फितलो भएको भन्ने प्रश्न उठिरहेको बेलामा जीवन बीमा कम्पनीहरुले यसलाई थप बलियो बनाउन बीमा समिति, बीमक संघ र स्वास्थ्य संस्थासहित तीनै पक्षले निकास खोज्नुपर्ने खाँचो औंल्याएका छन् ।  

बीमितको स्वास्थ परीक्षण विभिन्न स्वास्थ्य संस्थाबाट गर्ने सुविधा हुँदा त्यसले जोखिमांकन मजबुत बनाउन नसघाएको बीमा कम्पनीहरुको तर्क छ । यता बीमा समितिले स्वास्थ्य परीक्षणका कारण जोखिमाङ्कनमा समस्या हुने गरेको स्वीकार गर्दै गतिलो डाक्टर खोज्दा पनि निकै हदसम्म समस्याको समाधान हुने प्रतिक्रिया दिएको छ ।

Advertisement

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राकेश पोखरेलले सरकारले मान्यता दिएको स्वास्थ्य संस्थाको कदर गर्नु सबैको बाध्यता भए पनि कहिलेकाहीं स्वास्थ्य क्षेत्रमाथि नै प्रश्न उठ्ने कार्य हुने गरेको र त्यसले बीमा क्षेत्रलाई जोखिमाङ्कन गर्न समस्या हुने गरेको बताए । 

उनले भने, ‘आधिकारीक स्वास्थ्य संस्थाबाट आएका रिर्पोटलाई हामीले गलत भन्न त मिल्दैन् । तर जोखिमांकन गर्दा बीमा कम्पनीलाई पनि समस्या पर्ने खालका रिर्पोट आउँछ । हामीले प्रश्न गर्ने ठाउँ हुँदैन् ।’ 

जोखिमांकन गर्दा बीमितको महत्वपूर्ण विवरणहरु बीमा कम्पनीले राख्छन् भने त्यस्तो अवस्थामा बीमा कम्पनीले बीमितको स्वास्थ्य अवस्थाको पनि नतिजा राख्नुपर्ने हुन्छ । उक्त नतिजा बीमितको शिक्षा, स्वास्थ, खेलकुद, पेशा वा सामान्य अवस्था बुझ्नको लागि पनि कम्पनीहरुले राख्ने चलन छ  । 

त्यसरी राखिएको रिर्पोटमा धेरैमा समस्या नआए पनि समस्या आइहाल्यो भने त्यसको छिनोफानो गर्न बीमा कम्पनीहरुलाई अन्य कुनै ठाउँ नरहने गरेको पोखरेलले गुनासो गरे छ । 

उक्त विषयबारे बीमा समिति पनि जानकार रहेको कम्पनीहरुको भनाई छ । समितिले जोखिमांकन बलियो बनाउनुपर्छ भने पनि स्वास्थ्य समस्या पहिचान तत्कालै गर्न सम्भव नरहेको उनीहरुको गुनासो छ । 

बीमा कम्पनीहरुले जीवन बीमा संघ र बीमा समितिले नै मान्यता प्राप्त संस्था तोकेर बीमितको स्वास्थ्य मापदण्ड परीक्षण गर्न आवश्यक रहेको बताउँछन् ।  बीमा गराएपछि बीमितमा विभिन्न स्वास्थ्य समस्या देखिने भएकाले मेडिकल रिर्पोटको चेकजाँचमा कडाई गर्न आवश्यक रहेको उनीहरुको भनाई छ । 

बीमा समितिले जोखिमांकन दह्रोसँग गर्नुपर्ने र कुनै गडबढी हुन नहुने बताए पनि बीमा कम्पनीहरुले भने आफूहरुले राम्रोसँग काम गर्दा पनि जोखिमांकनमा समस्या आउने ठाउँ रहेको बताउँछन् । 

सबै स्थानीय तह र जिल्लाहरुलाई छुने गरी धेरै वटा अस्पताललाई जीवन बीमा गर्नुअघि आवश्यक स्वास्थ्य परीक्षणको केन्द्र बनाउनुपर्ने कम्पनीहरुको माग छ । जीवन बीमा कम्पनीहरुलाई अहिले भइरहेको स्वास्थ्य प्रणालीमा ठूलो जोखिम रहेको र कतिपय रिपोर्टमा विश्वास नै कम हुने गरेको देखिन्छ ।  

सीईओ पोखरेलले कम्पनी एक्लैले जोखिमांकन गर्न कहालीलाग्दो स्थिति छ भनेर हात उठाएको पनि बुझ्न सकिन्छ भन्दै बीमितको हितका लागि पनि स्वास्थ्य परीक्षण प्रणालीमा सुधार गर्नु जरुरी रहेको बताए । यसमा सम्बन्धित निकाय चनाखो हुनुपर्ने कुरालाई सकारात्मक रुपमा हेरिनुपर्ने उनको तर्क छ । 

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जीवन बीमा कम्पनीहरुले भोगेको समस्या सत्य रहेको र त्यसलाई समाधान गर्न छुट्टै किसिमको मापदण्ड बनाउन आवश्यक रहेको स्वीकार गरे । 

उनले भने, ‘जोखिमांकन भनेको निकै महत्वपूर्ण कुरा हो । यसमा त कुनै शंका नै छैन् । अब जहाँसम्म बीमा कम्पनीहरुले स्वास्थ्य परीक्षणमा शंका गरेका छन्, त्यसका लागि त हामीले डाक्टरको नै सूची तयार गर्न सुझाव दिएका छौं । त्यसका लागि बीमा कम्पनीहरुले नन मेडिकल स्टयाण्डर्ड बनाएर मान्यता प्राप्त स्वास्थ्य संस्थाको रिर्पोट माग्न सक्छन् ।’ 

पौडेलले स्वास्थ्य क्षेत्रबाट समस्या आउन नदिन बीमा कम्पनीहरुले उपचार केन्द्र तथा मान्यता प्राप्त ल्याबको खोजी गर्नसक्ने बताए । 

Advertisement

Advertisement