हेलिकप्टरहरु नेता ओसार्न पठाएर पर्यटनमन्त्री भन्छन्– अलपत्र पर्यटकहरु चाँडै उद्दार गर

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहण तथा तथा पदयात्रामा गएका स्वदेशी तथा विदेशी पर्यटकहरुको चाँडै उद्दार गर्न निर्देशन दिएका छन् । 

सयौं पर्यटकहरु हिमाली क्षेत्रमा अलपत्र परेको बेला हेलिकप्टरहरु नेता ओसार्न प्रयोग भएको भन्दै पर्यटन व्यवसायीले विरोध गरिरहेको बेला मन्त्री श्रेष्ठले बुधबार पर्यटन मन्त्रालय मातहतका निकायका प्रमुख र सुरक्षा अधिकारीहरुलाई यस्तो निर्देशन दिएको हो । पर्यटक उद्दारका लागि प्राथमिकता दिनुपर्ने बेला हेलिकप्टरहरु चुनावको नाममा नेताहरुले प्रयोग गरेकोप्रति व्यवसायीहरुको आपत्ति थियो । 

Advertisement

मन्त्री श्रेष्ठले आफ्नो मातहतका निकायका प्रमुख तथा सुरक्षा अधिकारीहरुलाई मन्त्रालय बोलाएर विपद्‌मा परेका विदेशी नागरिक तथा पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिए । भारी वर्षा र प्रतिकूल मौसमका कारण पर्यटकहरु बीचबाटोमै अलपत्र परेको बताउँदै उनले सम्पर्कमा आएका कतिपयको भने उद्दार गरिएको बताए । 

श्रेष्ठले अझै हिमाल क्षेत्रमा सयौं पर्यटक अलपत्र भएको सूचना आएको बताउँदै उनीहरुलाई तत्काल उद्दारको व्यवस्था मिलाउन निर्देशन दिए । मनाङ, गोरखा, मुस्ताङ र उपल्लो डोल्पा, सिन्धुलीलगायतका क्षेत्रमा पर्यटकहरु पुगेको बेला अबिरल भारी बर्षाले उनीहरु बीचमै अडकिएर अलपत्र परेका हुन् । 

कतिपय ठाउँमा खाने बस्ने राम्रो सुविधासमेत नहुँदा उनीहरुले निकै कठिनाई भोग्नु परेको बताउँदै पर्यटन व्यवसायीहरुले सरकारले उनीहरुको उद्दार गरी सुरक्षितरुपमा मुलुक फर्काउन खासै पहल नगरेको बताएका थिए । उनीहरुका अनुसार हिमाल आरोहणमा गरेका सातसय सहित करिव दुई हजार पर्यटक यतिबेला हिमाली क्षेत्रमा अलपत्र अवस्थामा छन् । 

Advertisement

Advertisement