‘दूरी कम गरी सडक बनाउन सके चितवनबाट एक घण्टामा, जुम्लाबाट १२ घण्टामा आइन्थ्यो’

Advertisement

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र संकटमा नरहेको दावी गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नरदेखि धेरै अर्थविद्हरुले अर्थतन्त्र समस्यामा रहेको बताउँदै आएको बेला शर्माले सो कुरालाई अस्वीकार गरेका हुन् । 

बिहीवार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को स्थापना दिवसमा उनले नेपालको अर्थतन्त्र नबुझेकाले मात्रै नेपालको अर्थतन्त्र संकटमा छ भन्ने गरेको तर्क गरे । उनले मुलुकको अर्थतन्त्रमा संकट छ भन्नुभन्दा पहिला अर्थतन्त्रको परिभाषा, देशको वस्तुस्थितिमा ध्यान दिएर बोल्न अर्थशास्त्री, व्यवसायी र राजनीति व्यक्तिहरुलाई आग्रह गरे । 

Advertisement

शर्माले निजी क्षेत्र र अर्थशास्त्रीलाई देशको अर्थतन्त्र कसरी संकटमा परको छ ? भन्दै प्रश्नसमेत गरे । उनले अर्थतन्त्र संकटमा नभएको भन्दै अर्थतन्त्रका चुनौतिका विषयमा छलफल गर्न आवश्यक रहेको बताए । शर्माले सरकारको काम गर्ने क्षमता नबढ्नु संकट भएको भन्दै सरकारको क्षमता बढाउन आवश्यक रहेको बताए । 

मन्त्री शर्माले नेपालको अर्थतन्त्र एकै पटक तल जाने र एकैपटक माथि जाने खालको नभएको दाबी गर्दै नेपालको अर्थतन्त्रका सूचकहरु क्रमिक रुपमा सुधार हुँदै गएकाले अर्थतन्त्र सुधारको बाटोमा रहेको बताए । खुला सीमानाका करण राजश्व घटेको भन्दै उनले खुला नाका व्यवस्थित बनाउनुपर्ने बताए । खुला नाका व्यवस्थित बनाउने विषयमा निर्वाचनका कारण सरकारले ध्यान दिन नसकेको शर्माको तर्क छ । 

उनले दूरी कम गर्ने गरी भौतिक पूर्वाधारमा लगानी बढाउन आवश्यक रहेको बताए । शर्माले पूर्वाधारमा लगानी बढाउनसक्दा जुम्लाबाट १२ घण्टा र चितवनबाट १ घण्टामा काठमाडौं आउनसक्ने वातारण बन्ने बताउँदै लगानीको वातावरण सहज बनाउन आवश्यक रहेको बताए ।

मन्त्री शर्माले लगानी साना आयात गर्ने वस्तुमा मात्रै नभएर आर्थिक विकासमा गुणात्मक छलाङ ल्याउने क्षेत्र पहिचान गर्नुपर्ने बताए । उनँले हरेक नागरिकको क्षमता विकास गरी रोजगारी सिर्जना गर्नुपर्ने अवस्था रहेको बताए । उनले नेपालको अर्थतन्त्रको भविष्य उज्ज्वल रहेको दावी गर्दै अब नेपालले क्षमता वृद्धिमा ध्यान दिनुपर्ने बताए । 

शर्माले युवालाई प्रविधि क्षेत्रमा रोजगार बढाउने र कृषि तथा पर्यटनमा रोजगारी बढाउने हो भने देश समृद्ध बन्ने बताए । उनले नयाँ निर्वाचनले दलहरुलाई आफ्नो विगतको कामको समीक्षा गर्ने अवसर दिएको पनि बताए ।

Advertisement

Advertisement