सरकारले गाडी आयात खुल्ला नगरेपछि अटोमोवाइल व्यवसायीद्वारा आन्दोलनको घोषणा

Advertisement

काठमाडौं । अटोमोवाइल व्यवसायीहरुले सरकार र नेपाल राष्ट्र बैंकविरुद्ध सडक आन्दोलनको कार्यक्रम घोषणा गरेका छन । विदेशी मुद्राको संचिति घटेको भन्दै राष्ट्र बैंकले महंगा गाडीहरुको आयातमा लगाएको प्रतिवन्ध लामो समयसम्म कायम राखेपछि व्यवसायी रुष्ट रहँदै आएका थिए । 

अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले शुक्रबार पत्रकार सम्मेलन गरी विगत ८ महिनादेखि अटोमोवाइल्समा लगाइएको आयात प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतको माग राखी सडक आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

Advertisement

गाडी आयातमा लामो समय प्रतिबन्ध लगाउँदा व्यवसायीहरुको ठूलो लगानी जोखिममा परेको, हजारौं कर्मचारीहरु बेरोजगार हुने अवस्था सिर्जना भएको बताउँदै व्यवसायीले प्रतिवन्ध हटाउन दबाब दिने उद्देश्यले आफूहरु आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य हुनु परेको बताए  । 

नाडाका उपाध्यक्ष सुनिल रिजालले आफूहरुको गाडी र शोरुममा ब्यानर राखेर तथा सामाजिक सञ्जालमा पनि सामग्रीहरु पोष्ट गरेर आन्दोलनको कार्यक्रम सुरु गरेको र यही मंसीर २२ गते माइतीघर मण्डलामा ३ घण्टा धर्ना र मुख्य शहरहरुमा सोही दिन विरोध प्रर्दशन गर्न लागिएको बताए । 

नाडाले सो आन्दोलनमा साथ दिन पनि सबै उद्योगी, व्यवसायीहरुलाई आग्रह गरेको छ । अटोमोबाइल व्यवसायीहरुले ब्याजदरमा कटौती, कोरोनाकालमा संकटमा परेका व्यवसायीहरुलाई राहतको व्यवस्था, गाडी आयात प्रतिबन्ध फुकुवा हुनुपर्ने लगायतका माग राखेको छ । आफूहरुको सो माग सम्बोधन नभए थप आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य हुने पनि रिजालले बताए । 

Advertisement

Advertisement