‘पोखरा सडक महोत्सव’ पुस १३ बाट, लेकसाइड झिलिमिलि हुने

Advertisement

काठमाडौं । अंग्रेजी नयाँ वर्षको अवसरमा पुस १३ गतेदेखि १७ गतेसम्म पोखरामा २४औं पोखरा सडक महोत्सव आयोजना हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराले पर्यटन प्रवर्द्धनका लागि महोत्सव गर्न लागेको हो । 

पोखरा रेवानका अध्यक्ष नरेश भट्टराईले नयाँ अंग्रेजी बर्षमा आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरामा आकर्षित गर्न लेकसाइडको तीन किलोमिटर क्षेत्रमा महोत्सव गर्न लागिएको बताए । 

Advertisement

‘सडकमा नै खाऔं, सडकमा नै रमाऔं’ भन्दै आयोजना गर्न लागिएको सडक महोत्सवमा साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँक्री प्रदर्शन, रात्रीकालिन कन्सर्ट, बोट रेस र पोखराका प्रमुख गन्तव्य सहितको डमुमेन्ट्री प्रदर्शन गरिने छ । 

उनले पोखरा सडक महोत्सवले कोरोना महामारीको कारण शिथिल बनेको पर्यटन क्षेत्र अब पर्यटनमैत्री बन्ने विश्वास व्यक्त गर्दै महोत्सवले लेकसाइडको मात्रै नभएर समग्र पोखराको पर्यटन प्रवर्द्धन हुने जानकारी दिए ।

रेवानका केन्द्रीय अध्यक्ष अरनिको राजभण्डारीले पछिल्लो समय देखिएको व्यापारी मन्दीलाई यस सडक महोत्सवले सहयोग पुर्याउने बताए । उनले सडक महोत्सवले स्थानीय उत्पादनलाई बजार प्रवर्द्धन गर्ने बताए । 

राजभण्डारीले व्यापार र पर्यटन प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रलाई सहयोग गर्न जरुरी रहेको बताए । उनले हरेक क्षेत्रमा निजी क्षेत्र अगाडि आएको देश नै विकसित हुने भन्दै यस्ता सडक महोत्सव नेपालका सबै स्थानमा गर्न सरकारले सहयोग गर्न आवश्यक रहेको बताए ।

Advertisement

Advertisement