चुनाव हारेका पर्यटनमन्त्री भन्छन्– दायित्वबाट पन्छिन नमिलेकाले राजीनामा नदिएको हुँ

Advertisement

काठमाडौं । हालको संसदीय निर्वाचनमा पराजित भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले दायित्वबाट पन्छिन नमिलेकाले आफूले मन्त्री पदबाट राजीनमा नदिएको तर्क गरेका छन् । 

शुक्रबार मन्त्रालयका आयोजित कार्यक्रममा उनले दायित्व निर्वाह गर्न राजीनामा नदिएको बताएका हुन् । राजीनामा दिएको भए पनि श्रेष्ठले हेर्दै आएको मन्त्रालय प्रधानमन्त्री वा प्रधानमन्त्रीले तोकेको कुनै मन्त्रीले हेर्नसक्ने अवस्था हुँदाहुँदै उनले दायित्वबाट पन्छिन नमिलेकाले राजीनामा नदिएको जिकिर गरेका हुन् । 

Advertisement

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले पर्यटन क्षेत्रलाई व्यवस्थित गर्नसके कुल ग्राहस्थ उत्पादन (जिडिपी)मा पनि सुधार ल्याउन सकिने बताए । उनले नेपालमा प्राकृतिक सुन्दरताका पक्षहरु धेरै रहेकाले नेपालले यसको फाइदा उठाउन सक्नुपर्ने बताए । नेपालमा पर्यटकहरुका लागि पर्यटकहरुले चाहेको संस्कृति, कला, सौन्दर्य, प्रकृति र शाहसिक गन्तव्यहरु रहेको श्रेष्ठले बताए । 

उनले पर्यटनको विकासका लागि परम्परागत शैली त्यागरे अघि बढ्न आवश्यक रहेको बताए । श्रेष्ठले ‘हामीले पर्यटन क्षेत्रलाई व्यवस्थित गर्नसक्ने हो भने जिडिपीमा पनि राम्रो योगदान गर्नसक्छौँ । रोजगारी पनि सहज ढंगबाट सिर्जना गर्नसक्छौँ । सबै सम्भावना हामीसँग छन् । अरु देशमा आर्टिफिसियल कुराहरु बनाएर पर्यटक आकर्षित गरिरहेका हुन्छन् । तर हामीसँग प्राकृतिक कुराहरु नै छन् । संस्कृतिमा हामी धनी छौँ, प्राकृतिक रुची राख्नेलाई त्यस्तै राम्रो ठाउँ छ । साहसिक खेलका लागि पनि धेरै त्यस्ता ठाउँ छन् । हामी अब विगतका परम्परागत शैलीबाट फड्को मार्न सक्दैनौँ ।’ 

मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा सरकारले जोड दिनुपर्ने बताए । उनले पर्यटकहरुलाई पर्यटनमैत्री वातावरण तयार गर्नुपर्ने आजको आवश्यकता भएको बताए । श्रेष्ठले निजी क्षेत्रलाई पर्यटनमा लगानी गर्न र विदेशी लगानी ल्याउन कसरी वातावरण तयार गर्ने भन्ने बारेमा सरकारले सोच्नुपर्ने बताए । 

उनले भने, ‘हामीले पर्यटन क्षेत्रलाई पूर्वाधार निर्माण गर्नेदेखिका कुराहरुमा केन्द्रित गर्न नसके हामीले पर्यटन क्षेत्रको विकास गर्न सक्दैनौँ । पर्यटकहरुलाई पर्यटनमैत्री वातावरण तयार गर्नुपर्छ । निजी क्षेत्रलाई पर्यटनमा लगानी गर्न र विदेशी लगानी ल्याउन कसरी वातावरण तयार गर्ने भन्ने बारेमा सरकारले सोच्नुपर्छ । पर्यटन क्षेत्रको विकासका लागि हरेक प्रदेशले निजी क्षेत्रको लागनी कसरी बढाउने भन्ने नीति बनाउन आवश्यक छ । सरकारले पूर्वाधार तयार गर्नुपर्छ । त्यसपछि लगानी आकर्षित हुन्छ ।’ 

नेपाल पर्यटन दशक २०२३–३२ को रणनीतिक कार्ययोजना तयार गर्न बनेको विज्ञहरुसहितको कार्यदलले देशैभर बहुपक्षीय पूर्वाधारको विकास गर्ने, पर्यटन क्षेत्रको पुनःउत्थान गर्दै सन् २०२४ सम्ममा पर्यटन आगमनलाई २०१९ को पूर्ववत अवस्थामा पुर्याउने, पर्यटन आगमन प्रतिवर्ष १५ प्रतिशतको वृद्धि गरी सन् २०३२ सम्म संख्या ३५ लाख पुर्याउने, आगामी १० वर्षभित्र पर्यटन क्षेत्रमा १० लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । 

साथै प्रतिपर्यटक प्रतिदिन खर्च ४८ डलरबाट १२५ पुर्याउने, देशको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदानलाई १० प्रतिशतसम्म पुर्याउने योजना बनाएको छ । संस्थागत सुदृढीकरण, पूर्वाधार स्तरोन्नति, लगानी प्रवद्र्धन, पर्यटन सेवा सुदृढीकरण तथा बिस्तार, पर्यटन प्रवद्र्धन तथा जनसम्पर्क बिस्तार, पर्यटन क्षमता विकास, आन्तरिक पर्यटन प्रवद्र्धन, पर्यटन उपज विकास तथा बिस्तार एवं विविधिकरण, कोभिडपछिको पर्यटन पुनःउत्थान तथा पुनःजागरण गर्दै देशैभर पर्यटन प्रवद्र्धनका लागि अभियान सञ्चालन गर्ने मन्त्रालयले लक्ष्य लिएको छ । 

Advertisement

Advertisement