स्रोत घट्दै जाँदा सरकारी कर्मचारीलाई तलब दिन नसक्ने अवस्था आउनसक्ने

सुधार भएन सरकारको खाता, आम्दानीभन्दा एक खर्ब २० अर्ब बढी खर्च

Advertisement

काठमाडौं । सरकारको खाता निरन्तर ऋणात्मक बन्दै गएको छ । राजस्व संकलनमा सुधार नआउँदा खाता लगातार ऋणात्मक बनेको हो ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारको आम्दानीभन्दा खर्च एक खर्ब २० अर्बले बढी छ । सोमबारसम्म सरकारको खातामा पाँच खर्ब ६८ अर्ब जम्मा हुदाँ, खर्च छ खर्ब ८८ अर्ब पुगेको छ । चालु वर्ष राजस्व संकलनमा गत वर्ष भन्दा कमी आएको छ । गत वर्ष यो अवधिमा छ खर्ब २८ अर्ब राजस्व संकलन भइसकेको थियो ।   

Advertisement

सरकारले चालु वर्षको ७ महिना ८ दिनमा राजस्व पाँच खर्ब २९ अर्ब संकलन गर्दा अनुदान चार अर्ब ८० करोड मात्रै प्राप्त गरेको छ । यस्तै, अन्य शीर्षकमा ३४ अर्ब ८९ करोड प्राप्ती गरेको छ । सरकारका सबै स्रोत सन्तोषजनक नहुँदा सरकारी कर्मचारी र अन्य चालु खर्च धान्न नै सरकारलाई मुस्किल पर्नसक्ने संकेत देखिएको छ । 

खर्चतर्फ चालु शीर्षकमा पाँच खर्ब ४८ अर्ब खर्च भएको छ । यो शीर्षकमा सरकारले ११ खर्ब ८३ अर्ब खर्च गर्ने लक्ष्य लिएको छ । विकास खर्चतर्फ सरकारले ७० अर्ब १५ करोड खर्च गरेको छ । यो शीर्षकमा चालु बर्षमा तीन खर्ब ८० अर्ब खर्च गर्ने लक्ष्य लिइएको छ । 

यस्तै वित्तिय व्यवस्थातर्फ ६९ अर्ब ८५ करोड खर्च भएको छ । यो शीर्षकबाट आन्तरिक तथा बाह्य ऋणको साँवा ब्याज भुक्तानी हुने गरेको छ, जसमा अर्थ मन्त्रालयले दुई खर्ब ३० अर्ब विनियोजन गरेको छ ।
  
 

Advertisement