नेपालमै तोरी फलाएर जनतालाई शुद्ध तोरीको तेल खुवाउन सरकारले ध्यानै दिएन्ः ढकाल

Advertisement

काठमाडौं । बाँकेको कोहोलपुरस्थित एस एण्ड एस खाद्य उद्योगबाट सुधन ढकालले तोरीको तेल बिक्री गर्न थालेको झण्डै एक दशक हुन लागिसक्यो । उनले रु. छ लाखको लगानीमा यो व्यवसाय सुरु गरेका थिए । 

शुद्ध तोरीको तेल उत्पादन गरी बिक्री गर्ने गरेकाले ढकालको उद्योगबाट उत्पादित तेलको माग उच्च रहँदै आएको छ । बाँकेमा नै उनको तोरीको तेल खपत हुने गर्छ । ढकालले कैलाली, बर्दिया, नेपालगञ्जका तोरी उत्पादक किसानबाट तोरी संकलन गरी तेल उत्पादन गर्ने गरेका छन् । 

Advertisement

अहिले बजारमा विदेशबाट आयातित अशुद्ध र मिसावटयुक्त तोरीको तेलहरु बिक्री गरिँदै आएको छ । शुद्ध तोरीको तेलको उत्पादन आफ्नै मुलुकमा पर्याप्त मात्रामा हुन नसक्दा जनता बाध्य भएर खान अयोग्य तेल खान बाध्य हुँदै आएका छन् । यसले नेपालबाट बर्षेनी अर्बौं रुपियाँ विदेशिने पनि गरेको छ । तर जनस्वास्थ्य र बढ्दो आयातप्रति सरकार गम्भीर हुन सकेको छैन् । 

तर ढकालले थोरै मात्रामा भए पनि आयातलाई कम गर्न र आफ्नो क्षेत्रका जनतालाई शुद्ध तोरीको तेल उपलब्ध गराएर राज्यप्रति एउटा नागरिकले निर्वाह गर्नुपर्ने दायित्व निर्वाह गर्दै आएका छन् । उनले तोरी ल्याउँदा एक पटकमा १० देखि १५ कुइन्टेलसम्म ल्याउँछन् । त्यसबाट कुनै मिसावट नगरी उपभोक्तालाई शुद्ध तोरिको तेल बिक्री गर्छन् । 

तोरीको कारोबारबाट मासिक एक लाख रुपियाँ जति आम्दानी हुने गरेको ढकालले सुनाए । उनले भने, ‘स्थानीय वा चिनजानका ग्राहकलाई मैले प्राय तेल बेच्ने हो । उनीहरुले माग गरेपछि तेल पेल्ने र दिने गरिएको छ । तेल पेलेर स्टक राख्दा गन्ध आउने, स्वाद र वास्ना परिवर्तन हुने हुन्छ । त्यो भएकाले जतिबेला ग्राहकबाट अर्डर आउँछ, त्यतिबेलै पेलेर दिने गरेको छ ।’ विदेशबाट तेल ल्याएर नेपालका कारखानामा प्रशोधन गरेर बिक्री गर्नेहरुले भने विभिन्न केमिकल (रासायनिक वस्तु) प्रयोग गर्ने भएकाले लामो समयसम्म राख्दा पनि गन्ध आउने, स्वाद बिग्रिने कुराको उपभोक्ताले महशुस गर्न पाउँदैनन् । 

ढकालले १२ किलो तोरीबाट पाँच लिटर तेल उत्पादन हुने सुनाए । बजारमा तोरीको तेलको मूल्य मनपरी ढंगले वृद्धि हुने गरेको उनको भनाई छ । तेलको मूल्य वृद्धि गरिए पनि त्योअनुसार तोरी किसानले मूल्य पाउन नसकेको उनले बताए । एकतिर मूल्य बढ्ने आशाले किसानले तोरी स्टक राख्नुपर्ने बाध्यता रहेको छ भने अर्कोतर्फ राम्रो मूल्य नपाउँदा किसानहरु अन्य खेतीमा लाग्ने वा कृषि पेशा छोडेर अन्य पेशा व्यवसायमा लाग्नुपर्ने बाध्यता पनि छ । 
 
कुनै समय तोरीको मूल्य प्रतिकुइन्टल १५ हजार रुपियाँसम्म पुगेको स्मरण गर्दै ढकालले अहिले भने साढे १३ हजार रुपियाँमा बिक्री हुने गरेको बताए । नेपालमा तोरी खेतीको राम्रो संभावना रहे पनि यो खेतीलाई प्रोत्साहित र गर्न सरकारले कुनै चासो नदिएको व्यवसायी ढकालको गुनासो छ । 

उनले भने विदेशबाट ल्याएको तेल बेच्ने कुरालाई भन्दा देशमै उत्पादित तोरीको शुद्ध तेलको उत्पादन र बिक्री बढाउन सक्यो भने उपभोक्ताले पनि स्वस्थ तेल खान पाउने थिए । आयात पनि कम हुने थियो । सरकारले यो कुरालाई वास्तै गरेको छैन् । जसरी हुन्छ आयात गर्ने, जस्तो तेल बजारमा बिक्री भए पनि चुप लागेर बस्ने ।’ 

बाहिरबाट आयात हुने तोरी र तेल कम मात्रै नेपालमा किसानले पनि उचित मूल्य पाउने अवस्था बन्ने, तोरी मिलहरु पनि धेरै खुल्ने, रोजगारी पनि बढ्ने ढकालको भनाई छ । तोरीको तेल प्रतिलिटर ३८० रुपियाँमा बिक्री गर्दै आएका उनले तोरीको तेलबाट भन्दा पनि पिना बिक्रीबाट आम्दानी हुने गरेको सुनाए । ढकालले एक कुइन्टल पिनाको तीन हजार पाँच सय रुपियाँमा बिक्री गर्ने गरेका छन् । 

उनले आफूहरुले बिक्री गने तेलमा कुनै मिसावट नहुने र स्वस्थ तथा सफा गरेर बनाउने भएकाले कुनै शंका नगरी प्रयोग गर्न सकिने बताए । ढकालले भने, ‘राजधानी काठमाडौंभित्र दैनिक २० टन खाने तेल खपत हुन्छ । त्यो तेल कहाँबाट आउछ ? त्यस्तो तेलले मानव स्वास्थ्यमा असर गरेको छ कि छैन् ? गुणस्तरयुक्त छ कि छैन् ? कसैलाई चासो छैन् । उपभोक्तालाई पनि आफूले बजारबाट सिनेर ल्याएको पोका वा बोतलको तेल खान योग्य हो कि होइन् ? चासो राख्ने गरेको देखिन्न । धेरैजसो रोग तेलकै कारणले लाग्छ । यस्तो गम्भीर कुरामा कसैको ध्यान गएको छैन् ।’

Advertisement