उद्योग विभागले १० करोड रुपियाँसम्मको वैदेशिक लगानी स्वचालित प्रणालीबाट स्वीकृत गर्ने

Advertisement

काठमाडौं । उद्योग विभागले १० करोडसम्मको वैदेशिक लगानीमा स्वचालित प्रणाली लागू गर्ने भएको छ । विभागले बिहीवार पत्रकार सम्मेलन गर्दै नेपालमा १० करोड रुपियाँसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्ने तयारी थालेको जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा विभागका महानिर्देशक रामचन्द्र तिवारीले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ मा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी विदेशी लगानी प्रक्रियालाई सरल र सहज बनाउन लागेको बताए । उनले अब प्रचलित कानूनबमोजिम कम्पनी दर्ता, उद्योग दर्ता, विदेशी लगानी स्वीकृतका सेवाहरु स्वाचालित बनाउने व्यवस्था गरेको बताए । 

Advertisement

तिवारीले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था भएबमोजिम अब १० करोड रुपियाँसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्न शुरु गरिएको बताए । उनले वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्न शुरु गरेसँगै उद्योग विभागको सम्पूर्ण सेवा स्वाचालित बनाउने विभागको तयारी रहेको बताए । 

तिवारीले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ संशोधानको तयारीमा रहेको भन्दै उक्त नियमावली कार्यान्वयनको लागि विभागले वेभमा आधारित स्वचालित प्रणाली निर्माण गरेको बताए । उनले विदेशी लगानीकर्ताले शतप्रतिशत वा नेपाली लगानीकर्तासँग संयुक्त लगानी सम्झौतामार्फत लगानी गर्नसक्ने, लगानी स्वीकृतको जानकारी लगानीकर्ता, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालयमा स्वचालित प्रणालीमार्फत नै हुने बताए । 

तिवारीले लगानीकर्ताले छुट्टै विदेशी लगानी स्वीकृति लिइरहनु नपर्ने भएको बताए । उनले उक्त प्रणाली लागू भएसँगै नेपालमा लगानीको लागि प्रशासनिक  सुधारको चरणमा रहेको भन्ने सन्देश जाने विभागले विश्वास लिएको बताए । 

Advertisement