निगमका कार्यकारी अध्यक्षलाई हटाउने तयारी

ग्राउण्ड ह्याण्डलिङ शुल्क ५० प्रतिशत घटाउन नमानेपछि निगमलाई सोधियो तीनदिने स्पष्टीकरण

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय कार्यान्वयन गर्न नेपाल वायुसेवा निगमले अटेर गरेपछि तीन दिने स्पपष्टीकरण सोधेको छ । 

नयाँ विमानस्थलहरुमा उडान भर्न वायुसेवा कम्पनीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायतमा लाग्ने ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने आफ्नो निर्णय यथासिघ्र कार्यान्वयन गर्न निगमलाई पत्राचार गरेकोमा हालसम्म पनि भूमिस्थ प्रबन्ध सेवा (ग्राउण्ड ह्याण्डलिङ)सम्बन्धी नीतिगत निर्णय कार्यान्वयन नगर्नु नगराउनुको कारण तीन दिनभित्र बुँदाहरुमा स्वयं उपस्थित भई स्पष्टीकरण पेश गर्न निगमका अध्यक्ष युवराज अधिकारीलाई निर्देशन दिएको छ । 

Advertisement

स्पष्टीकरणमा कार्यकारी अध्यक्षको भूमिकामा समेत रहेका अधिकारीलाई निर्देशनको अवज्ञा गरेकोमा किन नहटाउने ? भनी जवाफ दिन पनि निर्देशन दिइएको छ । ग्राउण्ड ह्याण्डलिङ नयाँ सेवा शुल्क तथा ५० प्रतिशत छुट कार्यान्वयन नगरेकाले स्पष्टीकरण सोध्नुपरेको प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । 

ग्राउण्ड ह्याण्डलिङ शुल्क निगमका कर्मचारीलाई तलब खुवाउने प्रमुख आम्दानीको रुपमा रहँदै आएको छ । उक्त सेवा निजी क्षेत्रलाई दिन खोज्दा निगम र निगमका कर्मचारी युनियनहरुले विरोध जनाउने गरेका छन् । 

प्राधिकरणले मन्त्रिपरिषदबाट २०७८ चैत ३० मा स्वीकृत भई २०७९ जेठ १४ बाट कार्यान्वयनमा आएको विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को नियम ५० को उपनियम (७) मा भएको ‘विमानस्थलमा भूमिस्थ प्रबन्ध सेवा उपलब्ध गराउनको लागि अनुमति प्राप्त संस्थाले संकलन गर्ने भूमिस्थ प्रबन्ध सेवा शुल्क प्राधिकरणले निर्धारण गरेबमोजिम हुनेछ’ भन्ने उल्लेख छ । सोही कानुनी व्यवस्थामा टेकेर प्राधिकरणले शुल्कमा ५० प्रतिशत छुट गर्न निगमलाई निर्देशन दिएको थियो । तर निगमले आफूहरुको आम्दानी घट्ने चिन्ताले सो कुरा कार्यान्वयन गर्न अटेर गर्दै आएको थियो । 

प्राधिकरणले निगमलाई लेखेको पत्रमा भनेको छ, ‘कानुनी व्यवस्थाबमोजिम वायुसेवा कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्य अन्तर्राष्ट्रिय उडान गर्ने स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीलाई कर्मशियल ग्राउण्ड ह्याण्डलिङ सेवा उपलब्ध गराएबापत संकलन गर्न पाउने संशोधित सेवा शुल्कसम्बन्धी व्यवस्था नेपाल नागरिक उड्डयन प्राधिकरण, ग्राउण्ड ह्याण्डलिङ सेवा शूल्क–२०२२ प्राधिकरणबाट २०७२–५–७ मा स्वीकृत भई सोही अनुसार २०७९––७–१५ लागू गर्न २०७९–५–८ गते निगमलाई पत्राचार भईसकेको, सोही विषयमा प्राधिकरणले पुनः २०७२–१२–१७ मा संशोधित ग्राउण्ड ह्याण्डलिङ सेवा शुल्क तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ संशोधित सेवा शुल्कबमोजिम हुन आउने शुल्कमा ५० प्रतिशत छुट दिने प्राधिकरणको निर्णय यथाशिघ्र कार्यान्वयन गर्न निगमलाई पत्राचार गरेकोमा हालसम्म पनि भूमिस्थ प्रबन्ध सेवासम्बन्धी प्राधिकरणको नीतिगत निर्णय कार्यान्वयन नगर्नु नगराउनुको कारण सहित तीन दिनभित्र देहाय बमोजिमको बुँदाहरुमा स्वयं उपस्थित भई स्पष्टीकरण पेश गर्न प्राधिकरणको २०६०–१–२० को निर्णयानुसार अनुरोध गरेको छु । 

स्पष्टीकरण पेश गर्नुपर्ने बुँदा यस्ता छन्ः 
१. मन्त्रिपरिषदबाट स्वीकृत भएको नियमावलीको नीतिगत व्यवस्था हालसम्म कार्यान्वयन नगर्नुको कारण के हो ?

२. नेपालको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकले भूमिस्थ सेवा प्रदायक निकायले अनिवार्य लागू गर्नुपर्ने गरी स्वीकृत गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण, ग्राउण्ड ह्याण्डलिङ सेवा शूल्क–२०२२ बमोजिमको संशोधित ग्राउण्ड ह्याण्डलिङ शुल्क र सो शुल्कमा ५० प्रतिशत छुट दिई नयाँ संचालनमा आएका अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाहरुलाई आकर्षित गर्न गरिएको प्रयासमा समयमै कार्यान्वयन नहुँदा वायुसेवा कम्पनी तथा विमानस्थलहरुले व्यहोरेको क्षतिको जिम्मेवारी निगमले लिनुपर्ने वा नपर्ने ?

३. नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको नीतिगत निर्णय कार्यान्वयनमा नेपाल वायुसेवा निगमले गरेको ढिलासुस्ती तथा अवज्ञाको मुख्य जिम्मेवार व्यक्ति तपाईंलाई निगमको एकाउन्टेवल म्यानेजरबाट किन नहटाउने ?  

Advertisement

Advertisement