झण्डै एक दर्जन असफलतापछि बसुमायाले भेटेको सफलता– ‘नेपाली मन’

Advertisement

काठमाडौं । धादिङकी बसुमाया तामाङले विगत १३ वर्षदेखि ‘नेपाली मन उद्योग’ सञ्चालन गर्दै आएकी छिन् । उक्त उद्योगबाट १३  प्रकारका अचार उत्पादन हुँदै आएका छन् । 

तामाङको उद्योगमा ७० जनाले रोजगारी पनि पाएका छन् । दुई  हजार रुपियाँ लगानीबाट सुरु भएको उनको व्यवसायले अहिले ठूलो आकार लिइसकेको छ । अहिले मासिक ४० लाख रुपियाँसम्मको कारोबार हुने गरेको तामाङले जानकारी दिइन् । 

Advertisement

‘नेपाली मन’ उद्योगका अचार आन्तरिक बजारमा मात्रै बिक्री नभएर विदेशसमेत निर्यात हुने गरेको उनले बताइन् । तामाङले पहिलो पटक टिम्मुर र खुर्सानीको छोप उत्पादन गरेकी हुन्  । यस्तो अचार बनाएर बिक्री गर्ने आफू संभवतः पहिलो उद्यमी भएको उनको जिकिर छ । 

उद्योगबाट करिव पाँच वर्षसम्म टिम्मुरको छोप मात्र उत्पादन रहेकी तामाङले यस्तो टिम्मुरको छोप सुरुमा नाग्लोमा बिक्री गर्ने गर्थिन् । त्यति बेला बिक्री गर्दा नाप तौलका कुनै यन्त्र उपकरण पाइन्थेन । त्यतिबेला अन्दाजी ८० रुपियाँदेखि सय रुपियाँको छोप प्याकिङ गरी बिक्री गर्न थालेकी तामाङले अहिले भने दुई सय ग्राम टिम्मुरको छोप तीन सय रुपियाँमा बिक्री गर्ने गर्छिन् ।

बजारमा उपलब्ध अन्य अचारभन्दा आफूले फरक स्वाद र गुणस्तरका अचारहरु उत्पादन गर्दै आएको उनले बताइन् । डल्ले खुर्सानी, तामा, बफ, चिकेन, माछा, लप्सी, आँप, लौका फर्सीका अचार तथा खाद्य वस्तु उत्पादन गर्दै आएकी तामाङले यस्ता अचारहरु १५० देखि सात सय रुपियाँसम्ममा बिक्री गर्ने गर्छिन् ।  

‘नेपाल मन’का आचार भाटभटेनी सुपरमार्केट, सेल्सवेरी, अरु साना ठूला मार्ट र खुद्रा पसलबाट समेत बिक्री हुने गरेको छ । अचार उत्पादन गरेको मितिबाट दुई वर्षसम्म खान योग्य हुने उनको भनाई छ । कुनै प्रकारका रसायन र अखाद्य वस्तु मिसावट नगरी आफूले अचार उत्पादन गर्ने गरेको सुनाउँदै बसुमाया तामाङले घरायसी मरमसला मात्र प्रयोग गर्ने गरेको बताइन् । 

उनी भन्छिन्, ‘ढुक्कसँग हाम्रो अचार खाँदा हुन्छ । अचारले खाना रुचाउँछ । पचाउन पनि सहयोग गर्छ । बजारको अचार किन्दा चाहिं उपभोक्ताले हेरेर गुणस्तरीय अचार किनेर खानुपर्छ ।’ तामाङ अचार बनाउन कतिपय सामग्री बजारबाट किन्ने र कतिपय घरमै उत्पादन गर्ने गरेको सुनाइन् । 

राम्रो र मिठो भएकैले विदेशमा अस्ट्रेलिया, जापान, दुवई, अमेरिका, कोरिया, बेलायत जस्ता मुलुकबाट समेत अर्डर आउने गरेको उनको भनाई छ । मेलाहरु आयोजना हुँदा अचार प्रदर्शनी र बिक्रीका लागि देशका विभिन्न स्थान र विदेशमा समेत पुग्ने गरेकी बसुमाया तामाङ आउँदो दशैपछि अस्ट्रेलिया, जापान, कोरिया जाने तयारीमा छन् । 

आफै धेरै लामो संघर्षपछि अहिलेको अवस्थामा आइपुगेको बताउँदै उनले संघर्षपछिको एक सफलता नै ‘नेपाली मन’ भएको बताइन् । तामाङ थप्छिन्, ‘यहाँसम्म आइपुग्न दैनिक ज्याला मजदुरी गरें । विष्णुमति खोलामा बालुवा चालें । हातले उmन पनि कातें । लोडसेडिङका समयमा मैनबत्ति पनि उत्पादन गरें । त्यत्तिबेला दुईदेखि पाँच रुपियाँ गोटा मैनबत्ति बिक्री हुन्थ्यो । धेरै उधारोमा बिक्री गर्नुपथ्र्यो । उधारो उठाउन निकै सास्ती हुन्थ्यो । त्यसपछि मैनबत्ति उत्पादन छोडेर मोजा बुन्ने काम गरें । त्यो पनि सफन हुन सकेन् । पानीपुरी र चटपटे व्यापार पनि नगरेको होइन् । चटपटेको व्यापार राम्रै थियो । तर लामो समय उभिएर काम गर्न नसक्दा त्यो पनि छोडें । पछि मःमः व्यवसाय सुरु गरें । मःमःको छोप उत्पादन गर्दागर्दै पछि छोप (अचार)को मात्रै उत्पादनतिर लागेको हुँ । यसबाट अहिलेसम्म राम्रै भएको छ ।’ 

उनले अचारको उत्पादनलाई अझ परिस्कृत गरी विस्तार गर्दै लैजाने प्रयासमा आफू रहेको बताउँदै आफ्नो उत्पादनबारे थाहा नपाएका मानिसहरुलाई बजारमा पनि यति मिठो र स्वस्थकर अचार पाइन्छ ? भन्ने विश्वास अझै दिलाउन बाँकी रहेको बताइन् । 

Advertisement

Advertisement