आफूलाई कारवाही गरेको विरोधमा उड्डययन प्राधिकरणले सोध्यो बालेन शाहलाई स्पष्टीकरण

Advertisement

काठमाडौं । नक्सा पास नगरी कार्यालय भवन बनाएको लगायतका विषयमा काठमाडौं महानगरपालिकाले कारवाही गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उल्टै महानगर प्रमुख बालेन शाह र महानगरका सुरक्षा प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेको छ । 

प्राधिकरणले आफूभन्दा माथिल्लो तहमा रहने स्थानीय सरकारलाई स्पष्टीकरण सोध्ने आँट गरेको हो । प्राधिकरणले शुक्रबार लिखित स्पष्टीकरण पेश गर्न भन्दै महानगर प्रमुख शाह र सुरक्षा नगर प्रहरी प्रमुख पाण्डेलाई पत्र काटेको हो ।

Advertisement

पत्रमा आफ्नो नाममा रहेको तिनकुने स्थित जग्गामा फेन्सिङ तारवार काटेको र वेल्डिङ मेशिन जफत गरी लगेको विषयमा सात दिने स्पष्टीकरण पेश गर्न आदेश दिइएको छ । सात दिनभित्र स्पष्टीकरण नदिई कानुनअनुसार कारवाही गर्ने चेतावनी समेत दिइएको छ । 
  
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तत्कालिन श्री ५ को सरकारले अधिग्रहण गरी आफ्नो नाममा दर्ता भएको र विमानस्थल क्षेत्रको रुपमा तारबार लगाई राखिएको जग्गामा बिना जानकारी सूचना फेन्सिङ तार काटेको र प्राधिकरणका कर्मचारीले त्यसो नगर्न आग्रह गर्दा पनि अटेर गरेको भन्दै प्राधिकरणले त्यसो नगर्न आग्रह गर्दा नगर प्रहरीले महानगर प्रमुखको आदेशअनुसार गरेको भनेर जवाफ दिएको बताएको छ । 

आफ्नो जग्गामा लगाएको तारवार फेसिङ काटी लिएर जानु नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा ७ को कसुरमा तपाईंलाई सजाय किन नगर्ने ? भन्दै प्राधिकरणले बालेन शाह र राजुनाथ पाण्डेको नाममा सात दिने स्पष्टीकरण सोधेको हो । पत्रको बोधार्थ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई पनि दिइएको छ । 

हिजै महानगरले नक्सा पास नगरी सिनामंगलमा आफ्नो केन्द्रीय कार्यालय भवन बनाएको भन्दै महानगरले प्राधिकरणलाई कारवाही गरेको थियो । त्यस क्रममा नक्सा पास नगरी भइरहेको निर्माण कार्य समेत महानगरका प्रहरीले रोक्न लगाएका थिए । त्यसबाट रुष्ट भएका पर्यटनमन्त्री सुदन किरातीदेखि प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आज स्थानीय तहको अधिकारलाई नै चुनौति दिनेगरी स्पष्टीकरण माग गरेका हुन् । 

Advertisement