राजश्व अशुलीका लागि कठोर बजेट ल्याएपछि जेठमा गत बर्षभन्दा १५ प्रतिशत बढी संकलन

Advertisement

काठमाडौं । राजश्व अशुलीमा कठोर बन्दै बजेट ल्याएको सरकारलाई गएको जेठ महिनामा राम्रो सफलता हात लागेको छ । यो महिनामा सरकारले गत बर्षभन्दा १५ प्रतिशतभन्दा धेरै आन्तरिक राजश्व अशुल्न सफल भएको छ । 

गएको जेठमा सरकारले ३७ अर्ब रुपियाँ राजश्व संकलन गरेको छ जुन गत बर्षको सोही अवधिको तुलनामा १५ प्रतिशतभन्दा बढी हो । विभागले मूल्य अभिवृद्धि कर (भ्याट), आयकर, अन्तःशुल्कलगायतका कर अशुल्ने गर्दछ । 
 
गत बर्ष २०७९ को जेठमा ३२ अर्ब १० करोड राजश्व संकलन भएकोमा २०८० जेठमा ३६ अर्ब ९९ करोड राजस्व संकलन भएको छ । यो महिना आयकरतर्फ ११ अर्ब ३४ करोड उठेको छ, जबकी गत बर्ष जेठमा यो शीर्षकमा आठ अर्ब ८३ करोड रुपियाँ मात्रै उठेको थियो । 

Advertisement

यसैगरी, भ्याट संकलनमा पनि केही सुधार भएको छ । जेठमा भ्याट शीर्षकमा १० अर्ब ७१ करोड राजश्व उठेको छ । यो शीर्षकमा गत बर्ष जेठमा १० अर्ब रुपियाँ मात्रै उठेको थियो । 

यसैगरी, अन्तःशुल्कमा पनि केही सुधार भएको देखिएको छ । यो शीर्षकमा वेठमा १२ अर्ब ७८ करोड संकलन भएको छ । जेठमा घरबहाल कर २३ करोड, ब्याजकर एक अर्ब १६ करोड रुपियाँ संकलन भएको छ ।

चालु वर्षको ११ महिनामा आन्तरिक राजश्वतर्फ चार खर्ब आठ अर्ब संकलन भएको छ । यो गत वर्षको सोही अवधिभन्दा दुई अर्ब मात्रै कम हो भने चालु आर्थिक बर्षको लक्ष्यभन्दा निकै धेरै कम हो । आर्थिक मन्दीसँगै व्यवसायिक गतिविधिमा शिथिलता आउँदा यस बर्ष राजश्व संकलनमा भारी गिरावट आएको छ । 

Advertisement

Advertisement