बाह्र दिनभित्र वायुसेवा कम्पनीहरु भ्याटमा दर्ता हुनुपर्ने, तर सरकार र कम्पनीहरु दुवै अलमलमा

Advertisement

काठमाडौं । वायुसेवा कम्पनीहरु १२ दिनभित्र मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुनुपर्ने भएको छ । भ्याट ऐन २०५२ को दफा ५ (ख) बमोजिम दर्ता गर्नुपर्ने भएको हो ।

उक्त दफामा दर्ता गर्ने आदेश दिनसक्ने उल्लेख छ । यसरी आदेश प्राप्त भएको ३० दिनभित्र कम्पनी भ्याटमा दर्ता भइसक्नुपर्ने हुन्छ । अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५ गते संसदमा बजेट भाषण गर्दै हवाई क्षेत्रमा समेत भ्याट लिने उल्लेख गरेपछि वायुसेवा कम्पनीहरु भ्याटमा जानुपर्ने बाध्यता सिर्जना भएको हो । 

Advertisement

भ्याटमा दर्ता हुनका लागि आन्तरिक तयारी गरिरहेको बुद्ध एयरका बजार विभाग प्रमुख रुपेश जोशीले बताए। भ्याटमा दर्ता हुनका लागि आन्तरिक राजस्व विभाग र वायुसेवा सञ्चालकहरुबीच पहिलो चरणमा वार्ता भइसकेको छ। 

तर हवाई यात्रामा भ्याट कसरी लागू गर्ने ? भन्ने विषयमा भने कुरामा भने अझै अन्योलता देखिन्छ । हवाई क्षेत्रमा भ्याट लगाउन अन्य क्षेत्र जस्तो सहज नभएको जोशीको भनाई छ। उनले भने, ‘हामी भ्याटमा दर्ता हुने आन्तरिक तयारी त गरेका छौं, तर कर कार्यालयकै कर्मचारीहरु कसरी कर लगाउने भन्ने विषयमा स्पष्ट छैनन् ।’

जोशीले थपे, ‘हामी पनि कन्फ्युजनमा छौं । कुन मूल्यमा लगाउने कुनमा नलगाउने, डोमेस्टिक र इन्टरनेश्नल दुबैमा कसरी गर्ने ? यकिन भइसकेको छैन् । सरकारले लाग्छ भनेर यतिकै छाडिदिएको छ ।’

हवाई यात्रामा भ्याट कसरी लगाउने भन्ने विषयमा छुट्टै कार्यविधि नै बनाउन आवश्यक देखिएको छ । सरकारले पूर्णरुपमा तयारी नगरी हवाई यात्रुको टाउको गनेर भ्याट लगाएको वायुसेवा सञ्चालकहरुले आरोप लगाएका छन् ।

नेपालमा पहिलो पटक हवाई क्षेत्रमा भ्याट लगाउन लागिएको हो । तर हवाई क्षेत्रमा कसरी भ्याट लगाउने भन्ने विषयमा भने सरकार नै स्पष्ट नहुँदा व्यवसायी पनि अलमलमा परेका छन् । यसले हवाई यात्रुहरुमा समेत असर पर्ने देखिएको छ । ऐनमा भ्याट लगाउने व्यवस्था गरेपछि नियमावलीमा पनि व्यवस्था गर्नुपर्छ । यस्तै, कसरी लगाउने भनेर निर्देशिकामा पनि उल्लेख गर्नुपर्छ ।  

कम्पनीहरुले १३ प्रतिशतका दरले भ्याट लाग्ने भएपछि धमाधम टिकटको मूल्य भने बढाउन थालिसकेको छन । टिकटको मूल्य बढाए पनि भ्याट बिल भने जारी गरेका छैनन् । भ्याट बिल जारी गर्नका लागि पहिले भ्याटमा दर्ता हुनुपर्ने हुन्छ ।नेपालभित्रको यात्रामा भ्याट लगाउन सजिलो भए पनि देश बाहिरको यात्रामा कसरी भ्याट लगाउने ? भन्ने विषयमा अन्योलता छ ।

हवाई क्षेत्रसँगै फलफूल तथा तरकारीहरुमा पनि सरकारले भ्याट लगाएको छ । यी क्षेत्रका ट्रेडिङ कम्पनीहरु पनि भ्याटमा दर्ता हुनुपर्नेछ ।  

Advertisement

Advertisement