अरु बजेट ल्याउँदा पोखराले बल्ल ल्यायो नीति तथा कार्यक्रम, बाँदरका लागि जंगमै बाली लगाइने

Advertisement

काठमाडौं । अरु महानगरपालिकाहरुले आगामी आर्थिक बर्षको लागि बजेट प्रस्तुत गर्दा पोखरा महानगरपालिकाले भने बल्ल नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । 

महानगर प्रमुख धनराज आचार्यले आइतबार भएको १३औं नगरसभामा आर्थिक वर्ष ०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा फेवातालको ६५ मिटर मापदण्डभित्र परेका संरचना हटाउन अदालतले गरेको आदेश पालना गर्ने, पोखरामा रहेका विश्व रामसार सूचीमा परेका अन्य तालको सिमसार र जलाधार क्षेत्रको पनि संरक्षण गरिने, लेकसाइडलाई २४ सै घन्टा खोल्न पहल गर्ने जस्ता योजना बनाएको छ । 

Advertisement

पोखरा महानगरले लेकसाइड क्षेत्रमा सवारी साधन व्यवस्थापन र रात्रिकालीन व्यवसाय नियमन गर्न उचित कार्यविधि बनाइने, अतिक्रमणको चर्को चपेटामा परेको फिर्केखोला संरक्षणका लागि दुवैतर्फ मापदण्ड तय गरिने, फिर्केको मापदण्ड तय भइसकेपछि फुट्ट्रयाक तथा साइकल लेनको व्यवस्था गरिने, ‘एक घर एक विरुवा’ कार्यक्रम सञ्चालन गरिने योजना ल्याएको छ । 

महानगरले बाँदर व्यवस्थापनका लागि सामुदायिक वनसँगको सहकार्य गरी नीति ल्याउने नीति तथा कार्यक्रममा राखेको छ । त्यसका लागि जंगलमै बाँदरको ‘मन पर्ने’ बाली केन्द्रित अनुसन्धानात्मक परियोजना सञ्चालन गरिने छ । 

पोखरा महानगरले आगामी आर्थिक वर्षदेखि विपन्न परिवारलाई १० हजार लिटरसम्म निःशुल्क खानेपानी वितरण गर्ने, २० वर्ष पुराना सवारी साधनलाई विस्थापन गर्ने, सार्वजनिक यातायातमा अनिवार्य जिपिएस र विद्युतीय भुक्तानी प्रणाली जडान गर्ने, ट्याक्सी सेवालाई अनिवार्य रुपमा मिटरमा चल्नुपर्ने व्यवस्था गरिने, महानगरमा सञ्चालित सवारी साधनको प्रदूषण नियन्त्रण प्रमाणपत्र अनिवार्य रुपमा लागू गर्ने योजना बनाएको छ । 

महानगरले प्राथमिक विद्यालय तहका विद्यार्थीलाई दिँदै आएको दिवा खाजा खर्चमा १० रुपियाँ थप गरिदिने, विद्यालय शिक्षा सुधार कार्यक्रम लागू गर्न आधारभूत तहमा मातृभाषामा पढाइ सुरु गर्न प्रशिक्षण तामिलको व्यवस्था गर्ने जस्ता योजना ल्याएको छ । 

Advertisement