लम्पिस्किन रोगको खोप जोर्डन, तान्जनिया र टर्कीबाट आयात गरियोः कृषिमन्त्री भुसाल

Advertisement

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री वेदुराम भुसालले यस वर्ष धानका लागि रासायनिक मलको अभाव नहुने दावी गरेका छन् । 

मंगलवार संसदमा बोल्दै उनले हाल देशभरका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनका डिपोहरुमा ७८ हजार ४२२ मेट्रिक टन मल मौज्दात रहेको जानकारी दिए । भुसालले असार महिनाको अन्त्यसम्ममा थप ४५ हजार मेट्रिक टन र साउन महिनाभित्र थप ७५ हजार मेट्रिक टन रासायनिक मल प्राप्त हुने पनि बताए । 

Advertisement

भुसालले आगामी आर्थिक वर्षको लागि रासायनिक मल खरिदका लागि ३० अर्ब रुपियाँ रकम सुनिश्चित गरिएको बताए । उनले भने, ‘चालु आर्थिक वर्षको लक्ष्य अनुसार कुल चार लाख ७८ हजार पाँच सय मेट्रिक टन रासायनिक मल खरिदको सम्पूर्ण प्रक्रिया समयमै सम्पन्न गरिएको छ । त्यसमध्ये तीन लाख ५१ हजार मेट्रिक टन आयात भइ बिक्री वितरण भइरहेको छ । र, हाल ७८ हजार ४२२ मेट्रिक टन मल देशभरका कृषि सामग्री कम्पनीका ४१ र साल्ट ट्रेडिङ कर्पोरेशनका २४ डिपोहरुमा मल मौज्दात रहेको छ । असार महिनाको अन्त्य सम्ममा थप ४५ हजार मेट्रिक टन र साउनभित्र थप ७५ हजार मेट्रिक टन रासायनिक मल प्राप्त हुने अवस्थामा छ । यस वर्षको धानलाई रासायनिक मलको अभाव नहुने व्यहोरा यस सदनमा राख्न चाहन्छु ।’ 

भुसालले थपे, ‘विगतमा जस्तै बजेटमा सुनिश्चितता नभएर समयमा मल ल्याउन नसकिने अवस्था आगामी वर्षमा नरहोस् भनेर आगामी आर्थिक वर्षको लागि रु. ३० अर्ब रकम सुनिश्चित गरिएको ब्यहोरा पनि अनुरोध गर्न चाहाछु । त्यसैगरी रासायनिक मलको खरिद प्रक्रियालाई छिटो, छरितो बनाउने विषयमा मन्त्रालयले सार्वजनिक खरिद अनुगमन कार्यालयसँगको समन्वयमा सार्वजनिक खरिद ऐन संशोधन गर्न प्रस्ताव गरेको छ । र मल खरिद सम्बन्धी निर्देशिकाको मस्यौदा गरी मन्त्री परिषद्मा पेस गर्ने क्रममा रहेको छ ।’  

उनले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकारले सम्भव भएसम्मका कामहरु अगाडी बढाएको बताए । भुसालले हालसम्म छ लाख ११ हजार २०९ पशु संक्रमित भएका र संक्रमित मध्ये २१ हजार ४७३ पशुको मृत्यु भइसकेको जानकारी दिए । तीन लाख ५४ हजार ५७३ पशु भने लम्पिस्किन रोगबाट निको भइसकेका बताए । उनले दुई लाख ३५ हजार २१९ पशु अझै पनि संक्रमित अवस्थामा रहेका बताए । 

भुसालले भने, ‘अहिले देशैभरी गाईभैँसीमा लाग्ने एउटा संक्रामक रोग फैलिएको छ । लम्पिस्किन रोग भनिने यो रोग नयाँ प्रकारको सरुवा रोग हो । नेपालमा यो रोग पहिलो पटक २०७७ मा देखापरेको थियो । यस वर्ष मनाङबाहेक सबै जिल्लामा देखा परेको छ । हालसम्म छ लाख ११ हजार २०९ पशु संक्रमित भएका छन् । संक्रमितमध्ये २१ हजार ४७३ पशुको मृत्यु भएको छ भने तीन लाख ५४ हजार ५७३ निको भएका छन् । दुई लाख ३५ हजार २१९ अहिले पनि संक्रमित अवस्थामा रहेका छन् । मैले मन्त्रालय सम्हाल्नुभन्दा पहिले नै यस रोगको संक्रमण फैलिइसकेको थियो । तर त्यसबेला उपचार र नियन्त्रणका लागि कुनै पनि कदम चालिएको थिएन् । आजभन्दा दुई महिना अगाडीदेखि उपचार र नियन्त्रण गर्न थालिएको हो ।’ 

उनले लम्पिस्किन रोगको खोप जोर्डन, तान्जनिया र टर्कीबाट भ्याक्सिन आयात गरिरहेको बताए । भुसालले हालसम्म सात लाख ३७ हजार डोज खोप ल्याइएको र असार १० गतेसम्म एक लाख ६२ हजार ३७१ पशुलाई खोप लगाइएको जानकारी दिए । 

Advertisement