ललीता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरुलाई संसदले नै स्पष्टीकरण सोधोस्ः सुवाल

Advertisement

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बालुवाटारस्थित ललीता निवासको सरकारी जग्गा अनियमितता प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरुलाई संसदले स्पष्टीकरण लिनुपर्ने माग गरेका छन् । 

बुधबार संसद बैठकमा बोल्दै उनले यस प्रकरणमा मुछिएका मन्त्रीहरु र अन्य कर्मचारीहरुलाई पनि संसदको सार्वजनिक लेखा समितिले स्पष्टीकरण लिन उपयुक्त हुने बताए । सुवालले सरकारी जग्गा बेचविखनमा संलग्नहरुलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताए । 

Advertisement

उनले भने, ‘बालुवाटारस्थित ललीता निवासको सरकारी जग्गा १४३ रोपनी ६ आना अर्थात १३ अर्ब ७६ करोड रुपियाँ बराबरको हिनामिनामा केही पूर्व अधिकारीहरु पक्राउ परेका छन् । २०७८ पुस ६ गते जग्गा हिनामिनाको आरोपी २२० जना विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएकोमा सरकारी वकीलको कार्यालयले ४ दिनपछि अनुसन्धान नटुंगिएको भनि फिर्ता पठाइएको थियो । गिरोहले २०४९ सालदेखि २०६७ सालसम्ममा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिगराई बेचविखन गरेको, यसमा पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु समेत संलग्न भएको सार्वजनिक भयो । यस विषयमा संसदले पूर्व प्रधानमन्त्रीहरुलाई संसदमै स्पष्ट गर्न लगाउन जरुरी छ । र अन्य पूर्वप्रधानमन्त्री, मन्त्रीहरुलाई सार्वजनिक लेखा समितिले समेत ध्यानाकर्षण गर्न जरुरी छ । ’

सांसद सुवालले बालुवाटार प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउने काममा सरकारले ढिलाई गर्न नहुने बताए । 

Advertisement

Advertisement