लोकप्रिय बन्दै गएको गैंडाकोटको ‘मकै घर’मा पाक्छन् मकैका यस्ता १० थरी परिकार

Advertisement

काठमाडौं । गैंडाकोटको ‘मकै घर’ रेष्टुरेन्ट यतिबेला चर्चामा आउन थालेको छ । यसको लोकप्रियताको कारण मकैका स्वादिष्ट विभिन्न परिकारहरु पाइनुले हो । 

पछिल्लो समयमा ‘रेष्टुरेन्ट कल्चर’को विकास हुँदै आएको छ । रेष्टुरेन्टमा आफूले रोजेका परिकारहरुको स्वाद दिन पाइन्छ । रेष्टुरेन्टहरुले पनि एउटै खाद्य वस्तुलाई विभिन्न परिकार बनाएर ग्राहकसामु प्रस्तुत गर्छ । त्यही शैली ‘मकै घर’ले अपनाउँदै गएको 
छ । 

Advertisement

यस रेष्टुरेन्टमा हरियो मकैका विभिन्न परिकार र मोही खान पाइन्छ । बर्षैभरी मकै घरले हरियो मकैका खाने कुराहरु राख्ने गरेको रेष्टुरेन्टका सञ्चालक लीला सापकोटाले बताए । उनका अनुसार गत जेठ १४ देखि मकै घर सञ्चालनमा आएको हो । छोटो समयमा नै यस रेष्टुरेन्टले लामो यात्रा गर्ने यात्रुदेखि स्थानीय ग्राहकलाई आकर्षण गर्न सफल हुँदै गएको छ । विदेशी पर्यटकहरु पनि कहिले काहीं आउने गर्छन् । 

करिब १५ लाख रुपियाँ लगानीमा सुरु भएको सापकोटाको यो व्यवसायमा थप लगानीको तयारी पनि गरिएको छ । हरियो मकैबाट समोसा, पानीपुरी, मःमः, तास जस्ता विभिन्न १० प्रकारका परिकार पाक्ने मकै घरमा केही समयपछि नयाँ परिकार थप्ने योजना रहेको उनले सुनाए ।

सापकोटाले भने, ‘स्थानीयवासी, राजमार्गका यात्रु, पर्यटकहरुलाई लक्षित गरेर मकै घर सञ्चालनमा ल्याएको  हो । मकैका परिकारहरु मिठो, स्वस्थकर पनि भएकाले छोटो समयमा राम्रै व्यवसाय भइरहेको छ । अहिले दैनिक १५ हजार जतिको व्यापार हुन्छ । सोचेभन्दा राम्रो आम्दानी छ ।’ 

मकै घरमा तीन जनाले रोजगारी पनि पाएका छन् ।मकै पोल्ने, भुट्ने र उसिन्ने मेसिनका लागि ५० प्रतिशत अनुदान नवलपुर नगरपालिकाको कृषि ज्ञान केन्द्रबाट सहयोग गर्ने भएको उनले बताए । सापकोटाले मकै घर सञ्चालन गर्नुअघि फर्निचर व्यवसाय गर्थे । अहिले फर्चिचर व्यवसायलाई पनि निरन्तरता दिँदै उनले मकै घर सञ्चालन गरिरहेका छन् ।   

सापकोटा नवलपुरको एक कृषि सहकारीको सचिव पनि हुन् । उनले भने, ‘कृषि सहकारीबाट कामको सिलसिलामा एक दिन गाउँतिर घुम्दै जाँदा कृषिमा केही नयाँ गर्नुपर्छ भन्ने मानसपटलमा आयो । नाफा कमाउनभन्दा पनि मकैको स्वाद सबैलाई बानी पर्छ भन्ने उद्देश्यले व्यवसाय सुरु गरेको हो ।’ 
 
सापकोटाले हाइब्रिड मकैभन्दा स्थानीय जातको मकै प्रयोग गर्नेगर्छन । स्थानीय मकैको स्वाद मिठो हुने भएकाले ग्राहकहरुलाई स्थानीय मकै मात्रै खुवाउने गरेको बताउँदै उनले हरियो मकैको परिकारको स्वाद लिन कलाकार समेत आउने गरेको बताए । हेटौंडादेखि भरतपुरसम्मका ग्राहकहरु बढी आउने गरेको सापकोटाले बताए । 

उनले साउन महिना सक्किनासाथ भरतपुर अस्पताल नजिकै र सौरहा आसपास मकै घरको शाखा सञ्चालनमा ल्याउने योजना सुनाउँदै अस्पतालका बिरामीलाई बढी उपयुत्तm हरियो मकैको सुप र जुस बिक्री गर्ने बताए । सौराहामा विदेशी पर्यटकहरुलाई लक्षित गरेर मकै घर खोल्न लागेको सापकोटाको भनाई छ । गैंडाकोटमा मकै उब्जाउ हुने खेतीयोग्य ​जमिन रहेको र सो ठाउँमा बाह्रै महिना मकै खेती हुने उनले बताए ।  

सापकोटाले भने, ‘गाँउका किसानहरुले मकै घरमा  मकै बिक्री गर्न हानथाप गर्ने गर्छन् । उनीहरुको मकै प्रति घोंगा पाँचदेखि दश रुपियाँसम्ममा खरिद गर्ने गरिएको छ । अब आउँदो सिजनदेखि आफै पनि मकै खेती गर्ने योजना बनाएको छु ।’

Advertisement

Advertisement