गाई पाल्न निस्किएका साह घाँसको ठूलो उद्यमी बन्न सफल, २८ विघामा खेती

Advertisement

काठमाडौं । वैदेशिक रोजगारबाट फर्किएर घाँस खेती सुरु गरेका विराटनगरका रमेशकुमार साहको आफ्नै फरक कहानी छ । उनी चार बर्षदेखि यो व्यवसायमा रमाउँदै आएका छन् । 

विराटनगरमा रहेको साहको शोभा मल्टिपर्पोज एग्रो प्रा.लि.मार्फत घाँसको खेती हुन्छ भने सुनसरीमा घाँँसको बीउ र बेर्ना उत्पादन तथा बिक्री हुन्छ  । घाँस र घाँँसको बीउ तथा बेर्ना विराटनगरको कार्यालयबाट उनले सिधै मात्रै बिक्री गर्दैनन्, अनलाइनमार्फत पनि बिक्री गर्छन् । विभिन्न जिल्लाहरुमा अनलाइनमार्फत बिक्री गर्दै आएको साहले सुनाए । 

Advertisement

वैदेशिक रोजगारीको सिलसिलामा कतार रहेर केही बर्ष बिताएका उनले नेपाल फर्किएर ४० लाख रुपियाँ लगानीमा घाँसको व्यवसाय सुरु गरेका थिए । साहले यो आफ्नो मात्रै व्यवसाय नभएर पारिवारिक व्यवसाय भएको बताए । उनले २८ बिघा जग्गा भाडामा लिएर घाँस खेती​ सुरु गरेका हुन् । एउटा मात्रै व्यवसायको भर पर्नु जोखिमपूर्ण हुने सोचेर साहले उक्त जग्गामा घाँसबाहेक धान, उखु, जुट खेती पनि गर्दैआएका छन् । 

घाँसको बीउ तथा बेर्ना एकदेखि तीन रुपियाँमा बिक्री हुने गर्छ । घाँस भने प्रतिकिलो पाँच रुपियाँमा बिक्री हुन्छ । दिनमा दशदेखि पन्द्र कुइँटल घाँस बिक्री गर्ने गरेको उनले बताए । 

घाँसको व्यवसायबाट साहले मासिक एक लाखदेखि दुई लाख रुपियाँसम्म आम्दानी हुने गरेको सुनाए । उनको शोभा मल्टिपर्पोज एग्रोमा १२ जनाले रोजगारी पाएका छन् । 

साहलाई घाँस खेती सुरु गर्दा धेरैले खिस्याउने गर्थे । ‘के काम गरेको होला यस्तो ? भनेर प्रश्न गर्थे । अहिले ती सबैको मुख बन्द भएको छ । उल्टै उनीहरुले प्रशंसा पर्ने गरेको साहले सुनाए । घाँसको माग काठमाडौं र पोखरा जस्ता ठूला शहरबाट पनि आउने गरेको बताउँदै उनले टाढाको बाटोमा ढुवानी गर्दा घाँस छिटो गल्ने भएकाले टाढा पुर्याउन नसकिने बताए । 

एक पटक घाँस रोपेपछि पाँचदेखि सात बर्षसम्म उत्पादन लिन सकिन्छ । अस्ट्रेलियन नेपियर, मक्का क्रस नेपियर, हाइब्रिड सुपर नेपियर, बङ्लादेश हाफ रेड नेपियर जस्ता १० प्रजातिका घाँसहरु उत्पादन गर्दै आएका उद्यमी साहले ग्राहकहरुलाई घाँसको बिरुवा बिक्री गर्दा जानकारी गराउने गरेको बताए ।  

उनले भने, ‘सुरुमा त गाई फार्मका लागि घाँस खेती सुरु गरेको हो । ,पहिला घाँसको मात्रै खेती गर्छु भन्ने सेचेको पनि थिइन् । त्यतिबेला कोरोना व्यापक रुपले फैलिएकोले गाई फार्म खोल्ने कुराबाट पछि हटेको हो । उत्पादन भएको घाँस स्थानीय किसानहरुले बिक्री गर्न आग्रह गर्न थाले । पछि यसैको व्यवसायमा लागियो ।’

Advertisement

Advertisement