फलफूलदेखि मरमसला र रक्तचन्दनसम्मका बोटबिरुवा ६० जिल्लामा बिक्री गर्दै रितेश

Advertisement

काठमाडौं । नेपालको कुल ग्रार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान एक तिहाइभन्दा बढी छ । देशमा क्रियाशील श्रमशक्तिमध्ये करिव दुई तिहाई कृषि क्षेत्रमै संलग्न रहेको बताइन्छ । 

कृषि उत्पादनका लागि नेपाल उपयुक्त ठाउँ पनि हो । कृषि उपजको बढ्दो आयात कम गर्नुपर्ने र नेपालमै व्यवसायिक कृषि उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने आवाज चर्कोरुपमा उठ्न थालेको बेला नयाँ पुस्ताले व्यवसायिक कृषि पेशा रोज्न थालेको छ । तर यो संख्या न्यून छ । 

Advertisement

यिनै थोरै युवामध्ये कृषि उद्यमी बन्न उत्सुक युवा हुन् । रितेशकुमार साह । रौतहटका साहले आफूलाई सफल फलफूल उद्यमको रुपमा परिचित गराउन सफल भएका छन् । 

हेटौंडाको जनप्रिय प्राविधिक शिक्षालयबाट कृषिसम्वन्धी विषयको अध्ययनमा नेपालमै उत्कृष्ट बन्न सफल उनी एक कृषि प्राविधिक, नर्सरी व्यवसायी र कृषि उद्यमी पनि हुन् । 

साहले विगत छ वर्षदेखि  ‘रितेश फलफूल नर्सरी’ सञ्चालन गर्दै आएका छन् । पढाइ सक्नासाथ पारिवारिक नर्सरी खेती सञ्चालन गर्दै आएका उनले नर्सरीका लागि ७० लाख रुपियाँभन्दा बढी लगानी गरेका छन् । आधुनिक ढंगले फलफूल नर्सरी गर्दा लगानी ठूलो भएको साहको भनाई छ । 

व्यवसायबाट आएको नाफा समेत नर्सरीको आधुनिकीकरण र विस्तार गर्न खर्च गर्दै आएका उनको नर्सरी ३० रोपनी  क्षेत्रफलमा फैलिएको छ, जहाँ साहको परिवारबाहेक अन्य चार जनाले रोजगारी पनि पाएका छन् । 

साहले नर्सरी सुरु गर्दा चीन, भारत, थाइल्यान्ड जस्ता देशबाट बिरुवा ल्याएका थिए । अहिले उनको नर्सरीमा विभिन्न प्रजातीका फलफूल, जडिबुटी, काठजन्य र मरमसलाका बिरुवाहरु पाइन्छ । यी सबै सतप्रतिशत जातीय शुद्धता र गुणस्तर प्रमाणित भएको साहले बताए । 

नर्सरीबाट ६० वटाभन्दा बढी जिल्लामा बोटबिरुवा बिक्री गर्दै आएका उनले आफ्नो नर्सरीका बोटबिरुवा आम उपभोक्तादेखि सरकारी कार्यालय, व्यवसायिक खेती गर्ने किसानसम्मको पहिलो रोजाइमा पर्दै आएको दावी गरे । 

पानी पर्ने जेठदेखि असोजसम्मको समय बोटबिरुवा बिक्री हुने उपयुक्त सिजन भएको साहको भनाई छ । उनले यो बिरुवा सार्न पनि उपयुक्त समय भएको बताए । नर्सरीबाट पाँच रुपियाँदेखि एक हजार रुपियाँसम्म बोटबिरुवा बिक्री गर्दै आएका साहले यस व्यवसायमा बार्षिक ५० लाखभन्दा बढीको कारोबार गर्ने गरेको सुनाए । 

उनले लोपोन्मुख खमारी अथवा गम्भारी, पीपल, अगरवूड जस्ता धेरै जातका बोटबिरुवाको संरक्षण र उत्पादन गर्ने गरेका छन् । सरकारी वन कार्यालयबाट अनुमति लिएर उनले रक्तचन्दनका बिरुवा पनि उत्पादन तथा बिक्री गर्दै आएका छन् । 

वन ऐनबाट प्रमाणित भएका बिरुवा उमारेर बिक्री   गर्दा कुनै समस्या नआउने साहको भनाई छ । रक्तचन्दनका बिरुवा सय रुपियाँबाट सुरु हुन्छ । यसको उचाईअनुसार मूल्य फरक पर्ने साहले बताए । मरमसलामा हिङ्ग, सुकुमेल, ल्वाङ्ग, टिमुर जस्ता १० भन्दा बढी प्रकारका बिरुवा उनले उत्पादन गर्दै आएका छन् । 

Advertisement

Advertisement