कृषि बीमाको अनुदान रोक्दा राम्रो, दुरुपयोग भएको छ, वास्तविक किसानले पाएनन्ः पौडेल

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले सरकारले कृषि बीमाका लागि दिँदै आएको अनुदान रोक्नुपर्ने बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले कृषि बीमाको अनुदानको दुरुपयोग भएको र वास्तविक किसानले पाउन नसकेको भन्दै यसलाई रोक्दा नै राम्रो हुने बताएका हुन् । 

विगतमा बीमा चेतना निकै कम भएको बेलामा कृषि बीमामा अनुदान दिन सुरु भए पनि अब अनुदानमा मात्रै केन्द्रित हुनुपर्ने अवस्था नरहेको पौडेलको तर्क छ । उनले भने, ‘वास्तविक किसानले पाउँदा त अनुदान दिनु ठिकै पनि हो । तर, अहिले अवस्था त्यस्तो छैन् । निकै दुरुपयोग भइरहेको तथ्य भेटिएका छन् ।’ण्

Advertisement

पौडेलले विगतको भन्दा अहिले किसानहरुको जीवनस्तरमा पनि सुधार आएको दावी गरे । उनले थपे, ‘कृषि बीमाको नाम मात्रैको अनुदानका लागि सरकारले बजेट नछुट्याए हुन्थ्यो जस्तो मलाई लाग्या छ ।’ कृषि बीमामा अनुदान सुरु गर्दा र अहिलेको अवस्था हेर्दा बीमाशुल्कमा हेरफेर (रिप्राइसिङ) गर्नुपर्ने अवस्था आफूले देखेको बताउँदै पौडेलले भने, ‘पहिले दश वर्षअघि कृषि बीमामा अनुदान दिइएको थियो । यो बिचमा बीमा क्षेत्रमा धेरै परिवर्तन भएका छन् । त्यस्ता परिवर्तन हामीले भनेको मात्रै होइन हाम्रो तथ्यांकले पनि प्रमाणित गएको छ । सोही आधारमा केही बीमालेखलाई ‘रिप्राईसिङ’ गरौं भन्ने कुरा जायज हो ।’ 

कृषि बीमामा अनुदान दिएको १० वर्ष भइसक्दा पनि किसानहरुको आकर्षण बढ्न नसकेको बताउँदै उनले आकर्षण खस्किनुमा अनुदान रकम वास्तविक किसानहरुले नपाउनु हो भने । त्यस्तो खालको गुनासो प्राधिकरणमा पनि आउने गरेको पौडेलले बताए । 

उनले भने, ‘सरकारले अनुदान दिइरहने, अनुदान रकम चाहिं असम्बन्धित व्यक्तिले लिने प्रवृत्ति बढ्दा कृषि बीमाको आकर्षण फस्टाउन सकेको छैन् । सरकारले पनि सधैं अनुदान दिन सक्दैन । सुरुमा बानी पार्न सरकारले अनुदान दिएको थियो । अहिले पनि बजेटले ८० प्रतिशत अनुदान दिने भनेको छ । उक्त अनुदान वास्तविक किसानको हातमा पर्न चुनौती जस्तो बनेको छ ।’

कृषि बीमासम्वन्धी कार्यविधि चाँडै संशोधन हुने पौडेलले संकेत गरे । जति बेला पनि कृषकले नियामक निकाय धाउनुपर्ने बाध्यता भएको पनि कार्यविधि संशोधन जरुरी भएको हो भन्दै उनले भने, ‘नियामकले आवश्यकता अनुसार सहजीकरण गर्ने कुरा ठिक हो । तर, हामीले नीति नियममा सहजीकरण गरेपछि पनि पैसा भुक्तानीका लागि कृषकहरु नियामक निकाय धाउनुपर्ने अवस्था राम्रो होइन् । बीमा गर्ने काम र पैसा दिने काम बीमा कम्पनीहरुको हो । प्राधिकरणको होइन् ।

स्थानीय तहलाई कृषि बीमाको अनुदान जिम्मा दिनुपर्छ
कार्यकारी निर्देशक पौडेलले कृषि बीमामा सरकारले अनुदान दिने हो भने स्थानीय तहलाई यस्तो अनुदान जिम्मा दिनुपर्ने धारणा राखेका छन् । स्थानप्य तहले कृषि बीमाको अनुदान रकम जिम्मा लिएमा समस्यामा रहेका किसानहरुको समेत समस्या समाधान हुने जिकिर गरे । 

पौडेलले अहिलेसम्म सिधै टाठाबाठाले बीमा कम्पनीमा आफ्ना कृषि उत्पादन देखाई बीमाबाट लाभ लिएको बताउँदै अब किसानहरुले सिधै बीमा गराएर अनुदान रकम समेत सिधै हात पार्ने व्यवस्था आवश्यक रहेको बताए । तर अर्थमन्त्रालयले भने स्थानीय तहलाई यस्तो अनुदान नदिएर प्रभावहीन बनेका प्रदेसहरुलाई अनुदान रकम हस्तान्तरण गर्ने तयारी गरेको छ । 

केही दिनअघि कृषि बीमा गरेका कृषकहरुले समेत हडताल गरेको उदाहरण दिँदै पौडेलले अब कृषि बीमामा सरकारले दिएको अनुदान सोझै वास्तविक किसानको हातमा जाने प्रवन्ध मिलाउनु जरुरी रहेको बताए । 

Advertisement

Advertisement