काठमाडौंका नदी किनारको जग्गा ओगटेर बस्ने भूमाफियाहरुलाई कारबाही गर्नुपर्छः ठाकुर गैरे

Advertisement

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले भूमाफियाहरु नदी किनारको जग्गा ओगटेर बस्न पाउने कुराको अन्त्य गर्नुपर्ने बताएका छन् । 

बुधवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा उनले नदीको आसपास भूमाफियाहरुले जे पनि गर्न पाउने र दण्डित हुन नपर्ने कुराको अन्त्य गर्नुपर्ने बताए । अहिले काठमाडौं उपत्यकामा वागमतीसहितका विभिन्न नदी र खोला किनारमा २०२१–२२ सालको नापीविपरित हजारौं रोपनी जग्गा भूमाफिया, मालपोत कार्यालयका कर्मचारीले व्यक्तिको नाममा पास गरिसकेका छन् । उनीहरुलाई दल, नेता, न्यायाधीश र प्रशासकहरुले नै संरक्षण गर्दै आएका छन् । 

Advertisement

नेता ठाकुर गैरेले नदी किनार ओगटेर बस्नेहरुको अवरोध हटाउनु पर्ने बताए । उनले नदी किनारका ८० प्रतिशत बस्तीहरु भूमाफियाको कब्जामा रहेको भन्ने तथ्य आइरहेको भन्दै बाधालाई हटाएर भूमाफियाहरु बनेर बसिरहने कुराको अन्त्य गर्नुपर्ने बताए । गैरेले मान्छेको आवास अधिकारको सुनिश्चितता हुनुपर्ने र वास्तविक सुकुम्वासी पहिचान गरी सरकारले बनाएको आवासमा स्थानान्तरण गर्नुपर्ने बताए । 

उनले भने, ‘हामी वागमती नदी भन्छौँ, तर यो नदी नालीमा रुपान्तरण भइरहेको छ । हामीले ढल, नाला बनाउँदै छौँ । यो नदी जस्तो भइरहेको छैन । नदीको आसपास भूमाफियाहरुले जे पनि गर्न पाउने र दण्डित नहुने कब्जा गरेर बसिरहन पाउने अवस्थाको अन्त्य गर्नुपर्छ । यसका अवरोध हटाउनुपर्छ । ८० प्रतिशत फेक बस्तीलाई हटाउनका लागि बाधा कहाँ नेर हो, त्यसमा समितिले सघाउनेछ । ढल निकासमा सरकारमा बस्ने, राजनीतिकरण गर्ने कुरालाई रोक्नुपर्छ । मान्छेको आवास अधिकारको सुनिश्चितता हुनुपर्छ । जो वास्तविक सुकुम्वासी हुन्, उनीहरु सरकारले बनाएको आवासमा गएर बस्नुपर्छ । अटेर गर्ने हो भने त्यसलाई सोही अनुसार उपचार गर्नुपर्छ ।’

गैरेले सरकारले बनाएको आवासमा बस्न अटेर गर्नेहरुलाई सोही अनुसारको कारबाही गर्नुपर्ने बताए । 

Advertisement

Advertisement