लघुबीमाको एउटै प्रोडक्ट बिना गार्डियन माइक्रो लाइफको कारोबार सुरु भएको खुलासा

Advertisement

काठमाडौं । लघुबीमाको एउटै प्रोडक्ट बिना गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले कारोबार सुरु गरेको खुलेको छ । औपचारिकरुपमा व्यवसाय सुरु गर्दा कम्तिमा एउटा प्रोडक्ट डिजाइन गरेर ल्याउनुपर्नेमा प्रोडक्ट बिना नै कारोबार सुरु गरेको पाइएको हो । 

न्यून आयस्तरका जनतालाई लक्षित गरेर साना खालका बीमाहरु गर्न भन्दै लाइसेन्स पाएको गार्डियनले हतारमा बिना पूर्वाधार कारोबार सुरु गरेको देखिएको हो । जबकी उक्त कम्पनीमा बीमा क्षेत्रमा लामो काम गरेका चिरायु भण्डारी सीईओ छन् । उनीसँग जीवन बीमा, निर्जीवन बीमा र पुनर्बीमामा समेत काम गरेको अनुभव हुँदाहुँदै आफू अहिले सीईओ भएको लघुबीमामा भने कमजोर कार्यक्षमता प्रस्तुत गरेका छन् । 

Advertisement

नेपाल बीमा प्राधिकरणले गार्डियनसहित चार वटा लघुबीमा कम्पनीहरुलाई सञ्चालन अनुमति (लाइसेन्स) प्रदान गरे पनि उनीहरुलाई लघुबीमाको प्रोडक्ट डिजाइन गर्न (बीमालेखहरु तयार पार्न) धौधौ भएको छ । प्राधिकरणले सात वटा लघुबीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरिसकेको छ । तीमध्ये चार वटाले पाइसकेका छन् । 

सीईओ भण्डारीले प्रोडक्ट डिजाइन गर्न नसकेपछि जीवन बीमा कम्पनीहरुकै प्रोडक्ट लिएर स्वीकृतिका लागि  प्राधिकरण पुगेका थिए । तर प्राधिकरणले भने नियमविपरित उक्त प्रोडक्टलाई स्वीकृति दिएर पठाइदिएको छ । लघु जीवन बीमा कम्पनीले जीवन बीमा कम्पनीको प्रोडक्ट बेच्न नपाउने भए पनि गार्डियनलाई कारोबार शुभारम्भ गर्न गाह्रो भएको नाममा नियमविपरितको प्रोडक्ट स्वीकृत गर्ने काम भएको प्राधिकरण स्रोतले बतायो । 

यता प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने सो कुरालाई स्वीकार गर्न चाहेनन् । प्रोडक्ट डिजाइन गरेर मात्रै नहुने र प्राधिकरणको एक्चुरीले पनि अध्ययन गर्नुपर्ने, त्यसका लागि समय लाग्ने तर्क गरेका छन् । 

पौडेलले भने, भर्खर लघुबीमा कम्पनीहरुले आफ्नो कारोबार सुरुवात गर्न थालेको अवस्था छ । यी कम्पनीहरुले लाइसेन्स प्राप्त गर्नसम्म सबै काम र कानुनी प्रक्रिया पूरा गरेका छन् । तर, अब कुन मोडेलको प्रोडक्ट बेच्ने ? भन्ने कुरा हाम्रो मात्र हातमा नभई एक्चुरीले पनि अध्ययन गर्नुपर्ने र त्यो अध्ययनको आधारमा पनि निर्भर हुने कुरा हो ।’

तर प्राधिकरण स्रोतले लघुबीमा कम्पनीको नाममा पुराना कम्पनीहरुले जे बेचेको छ, त्यही बेच्ने हो भने किन लघुबीमा चाहियो ? भन्दै प्रश्न उठाए । त्यस्ता प्रकृतिका बीमालेख बेच्ने हो भने लघुबीमालाई लाइसेन्स बाँड्नुको औचित्य नरहने भन्दै स्रोतले यस्ता कमजोरीलाई बेलैमा सुधार नगरे पछि झन विवाद बढ्ने बताए । 

सो कुरालाई कार्यकारी निर्देशक पौडेलले पनि स्वीकार गरे । उनले लाइसेन्स लिने बेलामा हुने तँछाडमछाड जस्तै व्यवसाय वृद्धि गर्न, बीमितहरुलाई सेवा दिन र लघुबीमाको प्रक्रिया पूरा गर्न कम्पनीहरु इमान्दार हुनुपर्ने बताए । 

यता गार्डियनलाई भने चालु आर्थिक बर्षैमा कारोबार सुरु गरिहाल्न पाए एक वर्ष पहिलेदेखि कारोबार गरेको देखाउन पाइने लोभ देखिन्छ । त्यही लोभमा उसले प्रक्रिया पूरा नगरी आज कारोबार शुभारम्भ गर्न पुगेको छ । यस कुरालाई प्राधिकरणले पनि आँखा चिम्लिदिएको छ । उसले चाल लाख रुपियाँको बीमालेख प्राधिकरणबाट स्वीकृत गराएको छ, जबकी लघुबीमाले दुई लाखभन्दा बढीको बीमालेख बिक्री गर्न नियमले पाउँदैन् । 

प्राधिरकणका कार्यकारी निर्देशक पौडेलले आरोपको खण्डन गर्दै आफूहरुले लघुबीमा स्थापना गर्नुका एक मात्र उद्देश्य गरीब र न्यून आयस्तरका जनताको बीमा गर्न सकियोस भन्ने हो भन्दै अन्य कुरा संयोग मात्र भएको तर्क गरे । 

आईपीओको चटारो 
कारोबार शुभारम्भ गर्न नपाउँदै गार्डियन आईपीओ (साधारण शेयर) निष्काशन गर्न हतारिएको छ । गार्डियनले आफ्नो बीमालेख तयार गर्नुभन्दा पहिला आईपीओ निष्काशनको प्रक्रिया थालनी गरेको छ । कम्पनीको नियामकीय चुक्ता पुँजी ७५ करोड रुपियाँ तोकिएको छ ।

कार्यकारी निर्देशक पौडेलले छिट्टै लघुबीमामा बीमितहरुले सहजरुपमा बीमा गर्न र दाबी भुक्तानी गर्न मिल्ने व्यवस्था जारी गर्ने बताए । उनले पाँच लाख रुपियाँभन्दा कम रकमका बीमा लघुबीमामार्फत गर्न मिल्ने कानुनी व्यवस्था गर्ने योजना रहेको सुनाउँदै बीमितहरुले मोवाइलबाट समेत कारोबार गर्नसक्ने गरी उनीहरुले सुविधा प्रदान गर्दा सहजीकरण गर्न प्राधिकरण तयार रहेको बताए । 

गार्डियन माइक्रो लाइफमा नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्षहरु पशुपति मुरारका, भवानी राणा, शेखर गोल्छालगायतको लगानी छ । 

Advertisement

Advertisement