तर ई–सेवालगायतका वालेटविरुद्ध भने मुद्दा चलाउने आँट प्रहरीले गरेन्

सट्टेबाजीमा संलग्न रहेको आरोपमा बल्छी ध्रुबेसहितका कलाकारविरुद्ध करोडौंको मुद्दा दर्ता

Advertisement

काठमाडौं । सट्टेबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले केही हाँस्य कलाकारहरुविरुद्ध करोडौं रुपियाँको मुद्दा दर्ता गरेको छ । अनलाइन जुवा खेलाउने वानएक्स बेटको प्रचार गरेको अभियोगमा प्रहरीले मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे), राजु पौडेलसहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो ।

यस्तो अनलाइन जुवा खेलाउने कार्यमा ई–सेवा, खल्ती जस्ता भुक्तानी सेवा प्रदान गर्ने वालेट कम्पनीहरु पनि संलग्न रहेको देखिएको छ । यसअघि अपराध अनुसन्धान कार्यालय काठमाडौंका प्रमुख मनोज केसीले ई–सेवा लगायतका वालेट कम्पनीहरु वानएक्स बेटको गेटवे रहेको बताएका थिए । 

Advertisement

यस्तो करोबारमा कुनै व्यक्तिको खाताबाट करोडौं रुपियाँको हेराफरी भएको कुरा वालेट कम्पनीको सिस्टममा सहजै देख्न सकिने हुँदाहुँदै पनि त्यस्ता कम्पनीहरुले आफ्नो फाइदाको लागि उनीहरुलाई सहजै कारोबार गर्न दिँदै आएका थिए । उक्त कुरा नेपाल राष्ट्र बैंकको समेत जानकारीमा छ । धेरै गुनासो आएपछि राष्ट्र बैंकको एक जना डेपुटी गभर्नरले यस विषयमा बैठक राखेर अनलाइन जुवा खेलाउन संलग्न वालेट कम्पनीहरुमाथि निगरानी बढाउन र कडाई गर्न निर्देशन दिने काम समेत भएको थियो । 

कर्पोरेट नेपालले लगाताररुपमा वानएक्स बेटको नाममा भइरहेको अवैध अनलाइन जुवा खेलाउने कार्यको समाचारपछि प्रहरीले छानपिन अघि बढाएर कारोबारमा संलग्नदेखि प्रचारप्रचारमा सहयोग गर्ने कालाकारहरुलाई समेत पक्राउ गरेको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार कलाकारहरुसहित दिनेश खड्का, अनिता धिताल, जलन घर्तीमगर, अलिश राई गणेश देवकोटा, बेगम नेपाली, रोशन खतिवडा, सरोज घिमिरे विरुद्ध पनि मुद्दा दर्ता गरेको छ । यो मुद्दामा एक जना भने फरार रहेका छन् ।

सरकारी वकिल कार्यालयले उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत कसुर गरेको अभियोग लगाएको छ । उनीहरुविरुद्ध ६४ करोड ९४ लाख २९ हजार रुपियाँ विगो दाबी गरिएको छ । वालेट कम्पनीहरुविरुद्ध प्रहरी मौन बस्न अर्थपूर्ण देखिन्छ । यस अवैध कारोबारमा मुख्य दोषी रहेको ई–सेवामा एक मिडिया सञ्चालकको समेत लगानी छ । प्रहरी कारवाहीबाट जोगिन् उक्त मिडियाका सञ्चालकदेखि ई–सेवाका पदाधिकारीहरु सक्रिय रहँदै आएका थिए ।  

प्रहरीले राष्ट्र बैंक ऐनको दफा ९५ अनुसार उनीहरुसँग विगो जफत गरेर ३ गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुबै सजाय माग दाबी गर्दैगर्दा ठूला अपराधिहरु भने जोगिने अवस्था सिर्जना भएको छ । प्रहरीले यस प्रकरणमा विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार समेत पक्राउ परेकाहरुविरुद्ध मुद्दा चलाएको छ । 

Advertisement

Advertisement