सुन तस्करीमा सरकारको प्रतिवेदन आएपछि उच्चस्तरीय छानविन समिति बनाउँलाः शर्मा

Advertisement

काठमाडौं । माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले सुन तस्करी प्रकरणमा सरकारको छानविन प्रतिवेदन आइसकेपछि उच्चस्तरीय छानविन समिति बनाउन सकिने बताएका छन् । 

सोमबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सुन तस्करी प्रकरणको जालो पत्ता लगाउन सरकार लागि परिरहेको बताए । उनले सरकारको छानविन रिपोर्ट आएपछि चित्त नबुझेमा मात्रै उच्चस्तरीय छानविन समिति बनाउन सकिने बताए । 

Advertisement

शर्माले अहिलेको अवस्थामा सरकारले गरेको छानविनलाई सहयोग गर्नु आवश्यक रहेको बताए । उनले बरु सरकारलाई निश्चित समयभित्र छानविन गरिसक्नुस् भने समय तोक्न भने सकिने बताए । शर्माले भने, ‘संसद ठप्प गर्नु हुँदैन । संसद खोल्नुपर्छ । धेरै इस्युहरु छन् यतिबेला । ती इस्युहरुलाई यहाँ उजागर गर्नुपर्छ । हामीले बारम्बार के अनुरोध गरेका छौँ भने प्रतिपक्षी दललाई यो संसद खोल्नका लागि सहजीकरण गर्नुहोस् । मन्त्रीहरुको जवाफ सुनौँ । उहाँहरुको जवाफ सुनेर हामी अगाडी बढौँ भनेर सरकारको तर्फबाट भइराखेको छ ।’ 

उनले थपे, ‘हाम्रो तर्फबाट संसद खोल्न दिनदिनै पहल भइराखेको छ । प्रधानमन्त्रीले प्रतिपक्षी दलका नेतालाई भेटिपनि राख्नुभएको छ । छलफल पनि भइरहेको छ । हामी छिटोभन्दा छिटो संसद खोल्न चाहान्छौँ । सरकारले पक्रिसकेपछि त्यसलाई कसरी यो सुन आइरहेको छ भनेर जालो पत्ता लगाउँदै छ त । त्यो छानविनको रिपोर्ट आइसकेपछि चित्त नबुझ्दा, आवश्यक पर्दा, अधुरो हुँदा भोलि उच्चस्तरीय बनाएर थप छानविन गर्न पनि आवश्यक होला । तर अहिले छानविन प्रक्रियालाई सबैले मद्दत गर्नु नै राम्रो हो नि । बरु यति दिनभित्र छानविन सक्नुस् भन्न सकियो । छिटो सक्नुस् भन्न सकियो । सकिसकेपछि अनि आवश्यक परे उच्च स्तरीय बनाए हुन्छ ।’

शर्माले संसदमा धेरै विषयहरुमा छलफल गर्नुपर्ने आवश्यकता रहेको भन्दै संसद ठप्प पार्नु नहुने बताए । उनले सरकारको तर्फबाट संसद खोल्नका लागि पहल भइरहेको बताए । 

Advertisement

Advertisement