कुवेत जान लागेका ११७ श्रमिकलाई अध्यागमनले रोक्नु गलत होः वैदेशिक रोजगार विभाग

Advertisement

काठमाडौं । अध्यागमन विभागले अधिकार क्षेत्र मिचेर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकहरुलाई रोकेको वैदेशिक रोजगार विभागले आरोप लगाएको छ । अध्यागमनले एकै प्रकृतिको कागजाज बोकेका केहीलाई स्वीकृति दिने, केहीलाई नदिने गर्नु शंकास्पद रहेको बताएको छ ।

विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगार विभागले अध्यागमनले अधिकार क्षेत्र मिचेको बताएको हो । विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८०–३–२४ गतेदेखि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई कामको लागि कुवेत र जोर्डन जान लागेका श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले श्रमिकहरुले पेश गरेका कागजातहरु शंकास्पद भनी प्रस्थान अनुमति नदिएको सम्बन्धमा वैदेशिक रोजगार विभागको गम्भीर ध्यानाकर्षण भएको छ ।’

Advertisement

विज्ञप्तिमा थप भनिएको छ, ‘यस विभागबाट एकै प्रकृतिका कागजाजको आधारमा एउटै लटमा श्रम स्वीकृति लिई प्रस्थानको लागि एयरपोर्ट पुगेका व्यक्तिहरुमध्ये कसैलाई प्रस्थानको लागि अनुमति दिएको कसैलाई नदिएको तथ्य देखिएको छ । वर्तमान अवस्थामा वैदेशिक रोजगारमा गएका श्रमिकहरुले पठाएको विप्रेषणबाट देशको अर्थतन्त्र चलायमान रहेको सन्दर्भमा लामो प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीका लागि विमानस्थल पुगेका श्रमिकहरुलाई आधार बिना विमानस्थलबाट फर्काउने कार्यलाई गम्भीररुपमा लिएको तथा उक्त घटनाबाट वैदेशिक रोजगारमा जान लागेका श्रमिकहरुलाई पुगेको दुःख र क्षतिप्रति विभाग क्षमायाचना माग्दछ ।’

सरकारी दुई विभागबीच गम्भीर मतभेद बढ्दै जाँदा वैदेशिक रोजगारमा निस्कने श्रमिकले भने सास्ती व्यहोर्नुपरेको छ । कामका लागि ऋण सापटी लिएर वैदेशिक रोजगारीमा जान लागेकाहरुले सास्ती भोग्नुपरेको छ भने हवाई टिकटलगायतमा ठूलो खर्च भएको छ । 

अध्यागमन विभागले कुबेत जान लागेका ११७ श्रमिकलाई फिर्ता गर्नुको कारण पेश गर्न सकेको छैन् । अध्यागमन विभागले विज्ञप्ति निकाल्दै श्रमिकहरुको कागजाज शंकास्पद भएको बताएको छ । तर कुन कागजाज शंकास्पद भएको भनेर स्पष्ट पारेको छैन् ।

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले सोमबार पनि जापान जान लागेका दुई जना र कुवेत जान लागेको एक जनालाई फिर्ता गरिएको बताए । वैदेशक रोजगार विभागले भने सबै प्रक्रिया पुर्याएर श्रम स्वीकृति दिएको बताएको छ । अध्यागमनको कामलाई शंकास्पद भनेको छ ।

Advertisement

Advertisement