जनकपुरधाम र सिमरामा टेलिकमको सेवा सम्बन्धी अन्तरक्रिया

Advertisement

काठमाडौं । मधेश प्रदेशको जनकपुरधाम र सिमरामा नेपाल टेलिकमले आफ्नो सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार जनकपुरधाममा र हिजो शनिबार सिमरामा उक्त छलफल चलाइएको हो ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रदेशमा प्रभावकारी र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउनका लागि जनप्रतिनिधिसँग आवश्यक सहकार्य गर्न आग्रह गरिन । मन्त्री शर्माले आवश्यक योजना बनाउन र डिजिटल डिभाइडलाई न्यूनीकरण गर्नका लागि निर्देशन दिएकी थिइन । 

Advertisement

मधेश प्रदेशका पर्यटन मन्त्री सुनिता यादवले सरकारी निकायले नै सबै क्षेत्रमा सेवा पु¥याउनु पर्छ भन्ने मान्यता जनतामा रहेको र यसका लागि छिटो छरितो रुपमा सेवा उपलब्ध गराउनु पर्ने बताउनु भयो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं कम्पनी सञ्चालक समितिका निमित्त अध्यक्ष बाबुराम भण्डारीले नेपाल टेलिकमलाई कस्तो बनाउने र कता लैजाने भन्ने विषयमा महत्वपूर्ण सुझाव प्राप्त गरेको बताए । त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार सेवाको उपभोग गर्न पाउनु सबैको अधिकार भएको र यसका लागि समन्वयको भूमिकामा प्राधिकरण रहेको बताए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीले भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न यस आर्थिक वर्ष २०८०।८१ मा मर्मत संभार कार्यलाई विशेष सेवाको रुपमा विकास गर्न आवश्यक रणनीति तथा कार्यक्रमहरु तयार गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताएका थिए । उनले मधेश प्रदेशका कुल पाँच सय ५० भन्दा बढी स्थानबाट कम्पनीले जीएसएम प्रविधिको सेवा उपलब्ध गराइरहेको र ३० भन्दा बढी स्थानबाट एफटीटीएच वितरण गरिरहेको जानकारी दिएका थिए ।

यता, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले आम उपभोक्ताले प्रयोग गर्ने दूरसञ्चार सेवा गुणस्तरीय बनाउनु कम्पनीको दायित्व भएकोमा जोड दिएका थिए । कार्यक्रममा नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न सेवाहरुको बारेमा उप–प्रबन्धक नवल चौधरी र ब.ई. बन्टी श्रेष्ठले आफन सेवाहरुका बारेमा बिस्तार गरेका थिए ।

उक्त कार्यक्रममा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ र ज्वालाकुमारी साह, संघ र प्रदेशका सांसदहरु, स्थानीय निकायका प्रमुखहरु र अन्य क्षेत्रका व्यक्तित्वहरुको समेत सहभागिता रहेको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारी अधिकारीले जानकारी दिए ।
 

Advertisement

Advertisement