नेपालमा टेस्ला गाडी ल्याएर बिक्री गर्ने राकेशकुमार अडुकिया सुन तस्करीमा किन जोडिए ?

Advertisement

काठमाडौं । व्यापारी राकेशकुमार अडुकिया सुन तस्करीमा जोडिएका छन् । राजश्व अनुसन्धान विभागले सुन तस्करीमा संलग्नताको आधार देखिएपछि आज उनको कमलादीस्थित घरमा छापा मारेको छ । प्रहरीले सोह्रखुट्टेको एक गोदममा पनि छापा मारेको छ । यो गोदम अडुकियाको हो वा चिनियाँहरुको हो ? प्रष्ट हुन सकेको छैन् । 

अडुकिया नेपालमा अमेरिकी बहुचर्चित गाडी कम्पनी टेस्लाको आधिकारिक एजेन्सी लिएर गाडी बिक्री गर्दै आएका छन् । घरमा छापा हाने पनि प्रहरीले अडुकियालाई भने फेला पार्न सकेन् । 

Advertisement

तर उनीनिकट स्रोतले भने अडुकियाले आफू सुन तस्करीमा संलग्न रहेको भन्ने आरोप खण्डन गरेको बताएका छन् । स्रोतले कर्पोरेट नेपालसँग भन्यो ‘राकेश सरको नाम बिना आधार लिइएको छ । यो विषयमा उहाँले छिट्टै पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्नुहुनेछ ।’

अडुकियाले बैंक तथा वित्तिय संस्थामा लगानी समेत गरेका छन् । यसैगरी विपी कोइरालाद्धावारा लिखित तीन घुम्ती उपन्यासलाई फिल्म समेत बनाएका उनी पटक पटक प्रहरी हिरासतमा पुगेका व्यक्ति हुन् । पछिल्लो समय उनी धरौटीमा रिहा भएका थिए । 

अडुकियाले केही समयअघि शेयर बजारमा ठूलो लगानी गरेका थिए । तर लगानीबाट प्रतिफल लिन असफल भएपछि उनी तनावमा थिए । अडुकियाले सुन तथा चाँदीको पहिलदेखि कारोबार गर्दै आएको स्रोतको भनाई छ । शेयर कारोबारबाट फाइदा नभएपछि सुन तस्करीमा जोड दिएको देखिन्छ । 

सुन तस्करी प्रकरणमा राजश्व अनुसन्धान विभागले १७ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । पक्राउ परेकी व्यक्तिहरुको बयान वा उनीबाट प्राप्त प्रमाणका आधारमा प्रहरीले अडुकियाको घरमा छापा मारेको हुनसक्ने अडकल गरिएको छ ।     

Advertisement

Advertisement