सरकारको अफरः अवैध सुनको कारोबार र राजश्व छलीको सुराकी दिनु, लाखौं कमाउनु

Advertisement

काठमाडौं । सुन तथा राजश्व छली गरेको सूचना दिएर पनि लाखौं कमाउन सकिने अवसर सरकारले सिर्जना गरेको छ । तर यसरी दिइएको सूचना सत्य तथ्यमा भने आधारित हुनुपर्नेछ । 

राजश्व चुहावट गर्ने मनसायले गर्ने हरेक प्रकारका गतिविधिको सुराकी दिएर पैसा कमाउन सकिने अफर सरकारले ल्याएको हो । यस्तो सुराकी दिनेको सुचना गोप्य राखिने सरकारले दावी गरेको छ । 

Advertisement

अर्थ मन्त्रालयले चालु वर्षको बजेटबाट सुन, हिरालगायत बहुमूल्य धातुको तस्करीमा दिइने सुराकी कमिशन समेत वृद्धि गरेको छ । सुन हिराको अवैध कारोबारको जानकारी दिँदा अब कुल बरामद वस्तुको मूल्यको १० प्रतिशत रकम प्राप्त गर्न सकिन्छ । आर्थिक ऐनमार्फत यो कुराको सुनिश्चितता गरिएको अर्थमन्त्री प्रकाशशरण महतले बताए पनि राजश्व प्रशासनका निकायअनुसार यस्तो कमिशन रकममा अझै एकरुपमा देखिन्न । 

राजश्व अनुसन्धान विभागलाई सुनको सुराकी दिँदा अधिकतम् ५० लाख रुपियाँसम्म खर्च प्राप्त हुनेछ । सुराकी दिनेको नाम भने गोप्य राखिनुपर्ने कानुनले नै व्यवस्था गरेको छ । कुनै विषयमा सुराकी खर्च तत्काल प्राप्त गर्न सकिन्छ भने कुनै विषयमा सुराकीको रकम प्राप्त गर्न मुद्दा अदालतबाट फैसला भएको हुनुपर्छ ।

यसरी दिन सकिन्छ सुराकी
नियमक निकायलाई सुराकी दिँदा कानुनबमोजिम सुराकीको ढाँचा मिल्नु पर्छ । राजश्व अनुसन्धान विभागको सुराकी खर्च कार्यविधी २०७३ अनुसार सुराकी दिँदा विभिन्न निम्न विषयमा ध्यान दिनुपर्छ।

(क) राजस्व चुहावटः छली गर्ने व्यक्ति वा निकायको सम्पर्क गर्न सकिने गरी नाम, पूरा ठेगाना र उपलब्ध भएसम्म चार किल्ला र सम्पर्क फोन नम्बर समेत खुलाउनु पर्नेछ ।

(ख) राजश्व चुहावट तथा छली गरेको वा गर्ने व्यक्ति वा निकायको नाम खुलाउन नसकेमा त्यस्तो राजश्व छली भएको स्थान, सवारी साधन नम्बर र थाहा भएसम्म गन्तव्य स्पष्ट किटान गरी जानकारी दिनु पर्नेछ ।

(ग) ढुवानी साधनको हकमा सवारी नम्बर, प्रस्थान समय र पुग्ने स्थान एवं समयको मोटामोटी जानकारी दिनु पर्नेछ ।

(घ) राजस्व चुहावट र छली गर्ने व्यक्ति वा निकाय किटान भएमा निजको व्यवसाय सम्बन्धी जानकारी ।

(ङ) उपलब्ध भएसम्मका राजस्व चुहावट र छली गरेका सबुद र प्रमाणहरु ।

(च) राजस्व चुहावट र छली गर्ने व्यक्ति वा निकायसंग अन्तरसम्बन्धित अन्य व्यक्ति वा निकायहरुको समेत माथि उल्लेख भएसम्मकै ठेगाना, सवारी साधन नम्बर थाहा भएसम्मको गन्तव्य स्पष्ट किटान गरी जानकारी दिनुपर्नेछ ।

(छ) सुराकी/सूचना/उजुरी सुराकीले तत्सम्बन्धी विवरण वा प्राप्त सबुद प्रमाण खुलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली, २०७० को अनुसूची १ बमोजिमको ढांचामा
दिन सक्नेछ ।

(ज) चोरी निकासी वा पैठारी गरी राजस्व छलेको हकमा चोरी निकासी वा पैठारी गर्ने व्यक्तिको सम्भव भएसम्मको नाम, नभए निजको हुलिया र मालवस्तु लुकाई छिपाई ल्याउने तरिका एवं मालवस्तुको नाम तथा मालवस्तु रहेको स्थान ।

Advertisement

Advertisement