ललिता निवास प्रकरणः नेता नेपाल र भट्टराईलाई सीआईबीको सत्कारका साथ बयान

Advertisement

काठमाडौं । ललिता निवास प्रकरणमा मुख्य दोषीको रुपमा औंल्याइएका पूर्वप्रधानमन्त्रीद्धय माधव नेपाल र बाबुराम भट्टराईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले सत्कारका साथ बयान लिएको छ । 

सर्वोच्च अदालतले नेता नेपाल र भट्टराईलाई पक्राउ गरी बयान लिन आदेश दिएपछि नैतिक संकटमा परेको सरकारले उनीहरुलाई पक्राउ नगरी उल्टै उनीहरुको घर गएर सत्कारका गए राति बयान लिएको हो । बयान दिन भन्दै पहिला भट्टराई र नेपालको निवासमा सीआईबीको टोली पुगेको थियो । 

Advertisement

सर्वोच्चले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने कार्यमा संलग्न मन्त्रिपरिषदका सदस्यहरुलाई समेत पक्राउ गरी अनुसन्धान गर्न केही हप्ताअघि आदेश दिएको थियो । उक्त आदेशपछि माधव नेपाल एकाएक युरोप पुगेका थिए । पछि सामान्य सोधपुछ गर्ने आश्वासन दिएपछि उनी एक सातामै फर्किएका थिए । 

सीआईबीका एसएसपी दिनेश आचार्यका अनुसार नेपाल र भट्टराईलाई गए राति नै बयान लिएको हो । माधव नेपाल नेपाल नेतृत्वको सरकारले बालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तार गर्ने र बाहिरको जग्गा पर्खालभित्र पार्दा त्यहाँ रहेका मोहीलाई सट्टा भर्नामा जग्गा दिने निर्णय गरेको थियो । उक्त निर्णय गर्न नेता नेपालले आफै टिप्पणी उठाउन आदेश दिएबाट उनको स्वार्थ प्रष्ट देखिँदै आएको छ । 

सोही निर्णय कार्यान्वयन हुँदा प्रधानमन्त्री निवासमा २७ रोपनी ७ आना २ पैसा १ दाम जग्गा थपिनुपर्ने थियो । तर मन्त्रिपरिषदले नै सरकारी जग्गामा हुँदै नभएको मोही खडा गरेर उनीहरुलाई अन्यत्र व्यवस्थापन गर्ने भनी निर्णय गर्यो र बालुवाटारको पर्खालभित्र थपिनुपर्ने जग्गाको करिब आधा हिस्सा मोहीका नाममा सारेर ‘भूमाफिया’को कब्जामा गएको अनुसन्धान अधिकृतहरुको निष्कर्ष छ ।

यसैगरी २०६९ माघ ५ मा मालपोत कार्यालय, डिल्लीबजारले ललिता निवासभित्र रहेको ६० आना जग्गा पशुपति टिकिन्छा गुठीका नाममा दर्ता गर्ने निर्णय गरेको थियो । भट्टराई नेतृत्वको तत्कालीन मन्त्रिपरिषदले यसबारेमा सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो । यद्यपि भट्टराईले आफूले गलत नियतले सो निर्णय नगरेको जिकिर गर्दै आएका छन् । 

यस प्रकरणसँग जोडिएका पूर्वमुख्यसचिव, सचिव, मन्त्रीहरुलाई अझै सीआईबीले कारवाही अघि बढाएको छैन् । नेता नेपाल र भट्टराईले आफूले गरेको निर्णयहरु नीतिगत भएको भन्दै अहिलेसम्म पन्छिँदै आए पनि पछिल्लो समयमा जनदबाब र अदालतको आदेशका कारण उनीहरुमाथि कारवाही हुने संभावना बढेर गएको छ । 

Advertisement

Advertisement