तस्करीको ६० किलो ७१६ ग्राम पहेंलो धातु शुद्ध (९९.९ प्रतिशत) सुन नै भएको पुष्टि

Advertisement

काठमाडौं। राजश्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट नियन्त्रणमा लिएको पहेंलो धातु सुन नै भएको पुष्टि भएको छ । 

यसअघि सय किलोभन्दा धेरै सुन पक्राउ परेको भनिएकोमा गालेर जोख्दा ६० किलो मात्रै भएपछि मानिसहरुले गुणस्तर जाँच गर्दा पित्तल हुने हो कि ? भन्ने आशंका गरेका थिए । तर नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले यसको गुणस्तर परीक्षण गर्दा ९९.९ प्रतिशत शुद्ध सुन भएको पुष्टि भएको हो । 

Advertisement

यसअघि राष्ट्र बैंकले राजश्व अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रतिनिधिको रोहबरमा ‘ब्रेक सु’बाट सुन निकाली गालेर जोख्दा ६० किलो ७१६ ग्राम तौल यकिन भएको थियो । त्यसपछि एक हप्ता लगाएर गरिएको जाँचमा सबैभन्दा शुद्ध सुन नै रहेको पाइएको टक्सार महाशाखा प्रमुख थानेश्व आचार्यले बताए । 

उनले कर्पोरेट नेपालसँग भने, ‘गुणस्तर जाँच गर्दा सबैभन्दा शुद्ध सुन रहेको भेटिएको छ । हामीले एक हप्ता लगाएर गरिएको परीक्षणमा ९९.९ प्रतिशत सुन भएको पाइएको हो ।’ 
शुद्ध सुनमा हुनुपर्ने जति गुण तस्करीको यो सुनमा रहेको आचार्यको भनाई छ । 

सामान्यतयाः २४ क्यारेटको सुनलाई शुद्ध सुन भन्ने चलन छ । तर यो सुन २४ क्यारेटभन्दा पनि शुद्ध भएको राष्ट्र बैंकको दावी छ । यो सुन बराबरको रकम अब राष्ट्र बैंकले सरकारलाई बुझाउनेछ । राष्ट्र बैंकले बजार मूल्यभन्दा ५ प्रतिशत बढी मूल्यमा राजश्व अनुसन्धान विभागलाई बुझाउने यसअघि नै बताएको थियो । सो रकमबाट सुराकी खर्च कटाएर विभागले राज्य कोषमा रकम दाखिला गर्नेछ । 

Advertisement

Advertisement