ललिता निवास प्रकरणमा १८ अर्बभन्दा बढी बिगो कायम, नेता नेपाल र भट्टराई भने सुरक्षित

Advertisement

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १८ अर्बभन्दा बढी बिगो कायम गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्वन्धी मुद्दामा फितलो अनुसन्धान गरी मुद्दा लगाएपछि सीआईबीले संगठित अपराधमा पुनः अनुसन्धान सुरु गरेको यस प्रकरणमा घोटाला गर्नेहरुविरुद्ध १८ अर्ब रुपियाँबढी बिगो कायम गरेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो । 

Advertisement

मंगलबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा ७७१ पेज लामो अनुसन्धान प्रतिवेदन बुझाएको छ । सीआईबीले जग्गा घोटालामा संलग्न भएका तर, हाल मृत्यु भइसकेकाहरुको सम्पत्तिबाट पनि बिगो भराउन मागदावी लिनुपर्ने राय सरकारी वकिललाई दिएको समाचार छ ।

यस प्रकरणसँग जोडिएका र मुख्य दोषीको रुपमा औंल्याइएका पूर्वप्रधानमन्त्रीद्धय माधव नेपाल र बाबुराम भट्टराईलाई कारवाहीको सिफारिस नगरी सीआईबीले बुझाएको प्रतिवेदनमा मृत्यु भईसकेका २१ जनाबाट पनि बिगो भराउन मागदावी लिनुपर्ने राय दिएको छ । 

यस प्रकरणमा संलग्नमध्येका पूर्वमुख्य सचिव माधव घिमिरे दुर्घटनामा परेर त्रिशुलीमा बेपत्ता भएका थिए । उनको अवस्था अझै अज्ञात छ । अर्का मुख्यसचिव लीलामणि पौडेल तथा केही पूर्वसचिवहरुलाई भने सीआईबीले चोख्याउन खोजेको देखिन्छ । 

ललिता निवासको सरकारी जग्गा खरीद गरेकामध्ये ४८ जनाले जग्गा फिर्ता गर्न तयार रहेको भन्दै आफूहरुविरुद्द मुद्दा नचलाउन निवेदन दिएका छन् । काठमाडौँ महानगरपालिका–३१ कमलादी घर भएकी सिपीका खेतानसहित निवेदन दिनेहरुलाई प्रहरीले ‘जग्गा फिर्ता प्रयोजनका लागि मात्र’ प्रतिवादी कायम गर्न राय दिएको छ ।

जग्गा फिर्ता लिने प्रयोजन भन्दा बाहेकका २३८ जनालाई ‘संगठित किर्ते’ गरेर जग्गा हिनामिना गरेको कसुरमा प्रतिवादी कायम गरिएको जनाइएको छ । बालुवाटारस्थित ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना  भएको ब्यूरोको अनुसन्धान निष्कर्ष छ । राष्ट्रियकरण भइसकेको र मुआब्जा पाइसकेको आफ्नो पूरानो जग्गामा लोभ लागेपछि कांग्रेसका नेता सुवर्णशम्शेर राणाका सन्तानहरुले भूमाफियालाई चलखेल सुरु गर्न भूमिका निर्वाह गरेपछि यो प्रकरण हुन पुगेको हो । 

Advertisement

Advertisement