टोखा–छहरे सुरुङमार्ग चीनले बनाइदिनसक्ने, सकारात्मक संकेत आउँदैछः महत

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताएका छन् । 

नुवाकोटस्थित लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले शनिबार आयोजना गरेको तीज शुभकामना कार्यक्रममा शनिबार उनले भने, ‘यो परियोजनालाई अगाडि बढाउन मैले एक अर्ब रुपियाँ बजेट विनियोजन गरेको छु । यद्यपि यसका लागि धेरै पैसा लाग्छ । हाम्रो श्रोतले नपुग्न सक्छ । यो परियोजना निर्माणका लागि हामीले चिनियाँ सरकारसमक्ष प्रस्ताव पठाएका छौं । उहाँहरुबाट सकरात्मक जवाफ आएको छ ।’

Advertisement

चीनसँग पत्रको आदान–प्रदान भइसकेको बताउँदै मन्त्री महत यसको अर्थ आयोजना अगाडि बढ्छ भन्ने हो भने । प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा जान लागेकोले आफूहरु टोखा–छहरे सुरुङमार्गको तयारीमा आफूहरु रहेको बताए । 

महतले प्रधानमन्त्रीको भ्रमणको सिलसिलामा यो आयोजना पहिलो प्राथमिकतामा राख्ने आसयको पत्र चीन सरकारले दिएको बताए । यस आयोजनाको प्रारम्भिक अध्ययन भइसकेको उनले जानकारी दिए । महतले भने,  ‘अब थप डीपीआरसहितको अध्ययन भएपछि निर्माण प्रक्रिया अगाडि बढ्छ । सुरुङमार्गको अध्ययन महत्वपूर्ण पक्ष हो । धेरै पक्षमा ध्यान पुर्याउनुपर्ने भएकाले अध्ययन सबैभन्दा जटिल र महत्वपूर्ण छ । अध्ययन सकिने वित्तिकै सुरुङमार्गको काम अगाडि बढ्छ ।’ 

उनले निर्माणको काम भौतिक मन्त्रालयले, श्रोत जुटाउने काम अर्थमन्त्रालय र वातावरणसम्बन्धी के असर पर्छ ? भनेर अनुमति लिने काम वन मन्त्रालयबाट भएको बताउँदै तिनवटै मन्त्रालयले आएर यो आयोजना हेरेको बताए । निकुन्जमा पनि समस्या छैन् भन्ने कुरा आएको हुनाले यो आयोजनाको निर्माण कार्य अगाडि बढ्ने महतले बताए ।

सडक सञ्जाल सदरमुकाम विदुरसम्म मात्र होइन, रसुवा नाकासम्म स्तरोन्नति हुने र पृथ्वी राजमार्गको ट्राफिक र अन्तर्राष्ट्रिय व्यापारका लागि यही बाटो सबैभन्दा छोटो हुने भन्दै उनले भने, ‘यसले नुवाकोट जिल्लाभरि नै आर्थिक गतिविधि बढ्छ, रोजगारी सिर्जना हुन्छ, व्यापार बढ्छ । पर्यटक बढ्छन्, कृषिजन्य उत्पादन बढ्छ । यसले नागरिकको आम्दानी बढाउने छ । हामीले खोजेको त्यही हो ।’ 

यी आयोजना निर्माण हुँदा सबैभन्दा बढी प्रभाव लिखु गाउँपालिकामा पर्ने उहाँले बताउनुभयो । त्यसपछि शिवपुरी र पञ्चकन्या गाउँपालिकामा पनि पर्छ । उहाँले भन्नुभयो, ‘ढिकुरे र सिम्ला सिँचाइ आयोजना अर्को महत्वपूर्ण पक्ष हो । यो आयोजना बनेको धेरै भयो । पटक पटक मर्मत भयो । पुनः मर्मतका लागि यसपटक पुग्ने गरी बजेट विनियोजन भएको छ । गंगटेदेखि समुद्रटार हुँदै गोल्फु भन्जाङसम्मको बाटोलाई पूरा गर्ने लक्ष्यका साथ हामीले ठेक्का प्रकृया अगाडि बढाइसकेका छौं । यो कार्यान्वयन भएपछि यातायातमा सुधार हुन्छ ।’ 

Advertisement

Advertisement