बीमा अभिकर्ताको संख्या धेरै भयोः कार्यकारी निर्देशक पौडेल

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले अब अभिकताको संख्या बढाउने सोचमा आफूहरु नरहेको बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले अभिकर्ताको संख्यात्मक वृद्धिभन्दा गुणात्मक वृद्धि जरुरी देखिएको स्वीकार गर्दै विगतमा बीमा अभिकर्ताहरुको संख्या नपुगेको गुनासो धेरै आउने गरेकाले धेरैलाई लाइसेन्स दिइए पनि अहिले त्यो स्थिति नरहेको बताए । अहिले धेरैले अभिकर्ताको क्षमता बढाउनुपर्ने रायसुझाव आएको पौडेलले बताए । 

Advertisement

उनले भने, ‘विगतमा जहिले अभिकर्ताको संख्या पुगेन भन्ने कुरा आउँथ्यो । जहिले पनि अभिकर्ताले लाइसेन्स पाएनन, संख्या पर्याप्त भएन भनिन्थ्यो । तर अहिले त्यस्तो छैन् । हामीले पनि अभिकर्ताको लाइसेन्सको पाटोमा गुनासो सुन्न छाडेको लामो समय भयो । बरु संख्याभन्दा पनि भएकाहरुको क्षमता वृद्धिको कुरा आउने गर्छ । त्यहीअनुसार हामीले उनीहरुको क्षमता अभिवृद्धिको लागि काम गर्ने भएका छौं ।’

कार्यकारी निर्देशक पौडेलले यही आउदो कातिक महिनाबाटै अभिकर्ताहरुको लाइसेन्सका लागि अनलाइन प्रणालीमार्फत नै परीक्षा लिने तयारी गरिरहेको बताउँदै अभिकर्ताहरुलाई सहजता होस् भनेर आफूहरुले यस्तो विधि अपनाउन लागेको सुनाए । त्यस्तै, पहिलो चरणमा  अभिकर्ताहरुले अनलाइनबाट परीक्षा दिने प्रणाली परीक्षणको चरणमा रहने र त्यसपछि यसलाई कुन रुपमा अघि बढाउने भन्ने निर्णय गर्ने उनले जानकारी दिए । 

अधिकांश बीमा कम्पनीहरुले पुँजी वृद्धिका लागि मर्जरको विकल्प रोजेको बेलामा जीवन बीमाका अभिकर्ताहरुको संख्याभन्दा दक्षता बढाउनुपर्ने बेला आएको पौडेलले बताए । उनले भने, ‘हामीले हरेक तालिममा अभिकर्ताहरुलाई ‘अण्डरराइटिङ’ (जोखिमांकन) गतिलो बनाउनुपर्छ भनेर सचेत गराएकै थियौं । अहिले बीमा कम्पनीहरु मर्जरमा गएका छन् । अहिले भइरहेका अभिकर्ताहरु नै पर्याप्त देखिएका छन् ।’

पौडेलले ‘एक अभिकर्ता एक बीमा कम्पनी’को नीतिले एजेन्टहरुलाई नै सजिलो भएको भन्दै यसलाई प्रभावकारीरुपमा लागू गराउन प्राधिकरणले ध्यान दिने बताए । 

Advertisement